चैतभित्रै प्रतिबन्ध नहटाए सरकारका सबै कार्यक्रममाथि प्रतिबन्ध लगाउने विप्लवकाे चेतावनी

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वकाे नेकपाले सरकारविरुद्ध आन्दोलनको घोषणा गरेको छ । उसले आफ्नो पार्टीमाथि लागाइएको प्रतिबन्ध हटाउन माग गर्दै अन्दोनल गर्ने घोषणा गरेको हो ।
साथै पार्टीका मध्य क्षेत्र कमाण्डर हेमन्त प्रकाश ओलीसहितका आफ्ना नेता-कार्यकर्ता पक्राउ गरेको भन्दै विप्लव समूह सरकारविरुद्ध आक्रामक बन्न खाेजेकाे छ । उनीहरुलाई रिहाइ र पार्टीमाथिकाे प्रतिबन्ध यही चैत्रभित्रै नहटाए चरणबद्ध अन्दोलन गर्ने घोषणा गरेको हो ।
पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले सोमबार एक विज्ञप्ति जारी गर्दै चरणबद्ध आन्दोलनको घोेषणा गरेकाे जनाएका छन् । सरकारले चैत महिनाभित्र आफूमाथि लगाएको प्रतिबन्ध हटाउन माग गरेका उनले नहटाएमा सरकारका सबै कार्यक्रममाथि प्रतिबन्ध लगाउने चेतावनी दिएका छन् ।
विज्ञप्तिमा भनिएअनुसार बुधबार मुलुकभरका चोक-चोकमा जुलुस निकाल्ने, बिहीबार कोणसभा गर्ने, शुक्रबार मसाल जुलस निकाल्ने र शनिबार पूरै नेपाल बन्द गर्ने कार्यक्रम तय भएका छन् ।
त्यसैगरी यही चैत १९ गते देशभर अन्तरक्रिया कार्यक्रम गर्ने, २१ गते जनवर्गीय संगठनको विरोध प्रदर्शन गर्ने र २३ गते कालो झण्डा प्रदर्शन गर्ने तथा २४ गते मुलुकभरि जनप्रदर्शन गर्ने विज्ञप्तिमा जनाईएको छ । एसइई दिने विद्यार्थीलाई मध्यनजर गर्दै विप्लवले शनिबार नेपाल बन्दको घोषणा गरेको हो ।
सरकारले विप्लवमाथि प्रतिबन्ध गरेर त्यस समूहका नेता-कार्यकर्ता जहाँ भेट्याे त्यही पक्राउ गर्न र गाेली समेत हान्न आदेश दिएको छ । केही दिनअघि विप्लवका मध्य कमाण्ड हेमन्तप्रकाश ओलीसहित नौँ जनालाई काभ्रेबाट पक्राउ गरिएकाे थियाे । अन्य विभिन्न ठाउँबाट उक्त नेकपाका कार्यकर्ता पक्राउ पर्ने क्रम जारी छ । पक्राउ परेकाहरुलाई थुनामा राखी मुद्दा चलाउने तयारी भइरहेकाे बताइएकाे छ ।

वार्तामा आउन आग्रह

यसैबीच, प्रधानमन्त्री केपी शर्मा ओलीले भने मुलुुकमा आतङ्क मच्चाएर हिँड्ने विप्लवलाई जेल हालेर भए पनि मूलधारमा ल्याएरै छाड्ने बताएका छन् । उनले चैत्रभित्रै विप्लव नेतृत्वकाे नेकपालाई वार्तामा आउन आग्रह समेत गरेका छन् । नआएमा पूरै नियन्त्रण गर्ने र सरकार झन कठाेर रुपमा प्रस्तुत हुने प्रधानमन्त्रीकाे भनाइ छ ।
सोमबार बसेको सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को संसदीय दलको बैठकलाई सम्बोधन गर्दै प्रम आेलीले विप्लव नेतृत्वकाे नेकपालाई हतियार बिसाएर वार्तामा आउन आग्रह गरेका हुन् ।
हिंसाको बाटोलाई छोडेर सहमतिमा आए ढोका खुलै रहेको प्रम ओलीको भनाइ थियो । अन्यथा राज्यमा आतंक मच्चाउनेगरी हत्या र विष्फाेटका योजना बनाउनेहरुले छुट नपाउने उनले बताए । मुलुकमा आतङ्क, द्वन्द्व, चन्दा असुली तथा लुटपाट गरेर नागरिकलाई त्रसित गर्ने गिरोहलाई नियन्त्रणमा लिएरै सुधार्ने उनकाे भनाइ थियाे ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता