पाँचथर हत्याकाण्डः भागेर बजुको घरमा ज्यान बचाएकी सीताले यसो भनिन्…

पाँचथर आरुबोटे घटनामा भागेर ज्यान बचाएकी १४ वर्षीया सीता खजुमले आक्रमणकारीले नराम्ररी कुटपिट गरे पनि विचलित नभइ आफूलाई सुरक्षित गरेकी छन् । अनुहार छोपेर आएका व्यक्तिले पहिला कुटपिट गर्दै आक्रमण गरेका थिए ।
उनले घटना हुन थालेपछि भागेर ज्यान बचाएको बताएकी छन् । झापाको दमकमा उपचाररत उनले भनिन्, भागेर नजिकैको बजुको घरमा गएर लुँके । वंश नै नाश हुने गरी भएको सो हत्यामा सीताले आफ्ना हजुरबा, हजुरआमा, दिदी र अन्य आफन्तलाई गुमाउन पुगिन् तर उनलाई भने भाग्यले बचायो ।
सीता मावलीका हजुरबा, हजुरआमासँग बस्दै आएकी थिइन् । उनको अहिले दमकको लाइफ लाइन अस्पतालमा उपचार भइरहेको छ ।
भाग्ने क्रममा लडेर हातमा चोट लागेकाले उनको हातमा चारवटा टाँका लगाइएको छ । सामान्य अवस्थामा रहेकी सीताले भनिन्, ‘हामी चार जना एकै ठाउँमा सुतिरहेका थियौँ । रातिको करिब १ बजेको थियो होला । एक जना मुखमा गलबन्दी बाँधेको मानिस कोठामा पस्यो । आएर त्यसले हामीलाई कुट्न थाल्यो । त्यसपछि म भागेँ ।’
आफू भागेपछि त्यहाँ के भएको हो आफूलाई थाहा नभएको उनले बताइन् । सीताले घरमा आएर कुटपिट गर्ने मानिसले ढोका बन्द गरेर कुटपिट गरेको बताइन् । उनले बाहिर हजुरबा सुतेको आफूलाई थाहा भएको बताउँदै भनिन्, ‘त्यो मान्छेसँग हातमा टर्च लाइट पनि थियो ।ढोका बन्द गरेर कुटपिट गरेपछि हल्ला पनि भयो ।’ त्यो बेलामा हातमा अरू केही नदेखेको र आफू भागेर गएपछि अरू के भयो थाहा नभएको उनको भनाइ छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता