पाँचथर हत्याकाण्डः पोष्टमार्टम सकियो– लिम्बु संस्कार अनुसार विहीबार अन्त्येष्टि गरिने

सुनसरी, ८ जेठ । पाँचथरको मिक्लाजुङ गाउपालिका वडा नं. ३ आरुबोटेमा दुई परिवारको एकैसाथ नौ जनाको हत्या भएपछि आक्रोसित आफन्तहरुले सत्यतथ्य छानविन गरी कारबाहीको माग गरेका छन् । प्रहरीको लापरवाहीका कारण सामूहिक हत्या भएको भन्दै उनीहरुको घटनामा एक व्यक्ति मात्र नभई गिरोहकै संलग्नता भएको आशंका गर्दै गहन रुपमा अनुसन्धानको माग गरेका हुन् ।
सोमबार राति हत्या गरिएका नौ जना र झुण्डिएको अवस्थामा भेटिएका एकजनाको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको शव गृहमा पोष्टमार्टम भइरहँदा ठूलो संख्यामा जम्मा भएका आफन्तहरुले घटनामा संलग्न सबैका खोजी गरी कारबाहीको माग समेत गरेका छन् ।
झुण्डिएको अवस्थामा भेटिएका फियाक परिवारका ज्वाँई भनिएका मनबहादुर माखिमले हत्या गरी आत्महत्या गरेको आशंका गरिरहेको समयमा स्थानीयहरुले भने माखिम एक्लैले त्यत्रो नौ–नौ जनाको हत्या गर्न नसक्ने बताउँदै घट्नामा अरुको समेत संलग्नता रहेको बताएका छन् ।
केही आफन्तले भने एक साता अगाडि घटाइएको सीसा काण्डसम्म पनि जोडेका छन् । आफन्त पर्ने मिसक फियाकले ज्वाँई मनबहादुर सहित अन्य दुई जनाले सोही परिवारलाई खानामा नुनसँग सीसा मिसाएको घट्नालाई प्रहरीले सुक्ष्म तरिकाले अनुसन्धान नगरेको कारण उक्त घटना घटेको आरोप लगाए ।
गत सोमबार भएको यस घटनामा दुई परिवारका ७४ बर्षीय बमकुमार फियाक, उनकी श्रीमती ७१ बर्षीया फर्सिमिया फियाक, ३१ बर्षीया छोरी मनकुमारी फियाक माखिम, जेठी सासूकी १३ बर्षीया छोरी श्रेया फियाकको मृत्यु भएको थियो । त्यस्तै अर्का परिवारका ४१ बर्षीय धनराज शेर्मा, उनकी ३६ बर्षीया श्रीमती जस्मिता शेर्मा, १३ बर्षीया नातिनी युवाना शर्मा, ६ बर्षीया मुना शेर्मा र ८ बर्षीया इच्छा शेर्माको खुकुरी प्रहारबाट मृत्यु भएको थियो ।
१२ बर्षीया सीता खजुम भने भागेर बाँच्न सफल भएकी छन् । हत्यामा संलग्न भनि आशंका गरिएका मिक्लाजुङ ७ का ज्वाई मनबहादुर माखिम भने झुण्डिएको अवस्थामा मृत फेला परेका थिए । उनीहरुको शब मंगलबार राति बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ल्याइए पनि बुधबारमात्र मोस्टमार्टम भएको छ । मोस्टमार्टमपछि आफन्त र स्थानीयहरुले शव बुझेका छन् । उनीहरुको लिम्बु संस्कार अनुसार बिहीबार अन्त्येष्टी गरिने आफन्तहरुले जनाएका छन् ।


प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता