दोश्रो सुर्योदय मेयरकप ११ जेठ बाट

फिक्कल । इलामको सुर्योदय नगरपालिकामा आगामी जेठ ११ गतेबाट दोश्रो संस्करणको सुर्योदय मेयरकप आमन्त्रण फुटबल प्रतियोगिता हुने भएको छ । जेठ १८ गतेसम्म संचालन हुने प्रतियोगितामा इलाम र झापाका ९ वटा नगरपालिकाको सहभागीता रहेको छ । खेलकुदको माध्यमबाट पर्यटनको प्रर्वद्धन गर्ने उद्धेश्यका साथ २०७४ सालबाट मेयरकप फुटबल आयोजना गरिदै आएको छ । स्वदेशी तथा विदेशी पर्यटकहरुलाई आर्कषित गरी खेल पर्यटन प्रर्वद्धन गर्ने अवधारणासंगै स्थानिय सरकारहरुबिच आपसी सदभाव तथा समन्वयात्मक सम्वन्ध कायम राख्ने उद्धेश्यका साथ प्रतियोगिता आयोजना गरिएको पत्रकार सम्मेलनको आयोजना गरी जानकारी गराइएको छ ।
प्रतियोगितामा इलामको सुर्योदय नगरपालिका, देउमाई नगरपालिका, इलाम नगरपालिका र माई नगरपालिका तथा झापाको शिवसतासी नगरपालिका, दमक नगरपालिका, कन्काई नगरपालिका, मेचीनगर नगरपालिका र अर्जुनधारा नगरपालिकाको सहभागीता रहेका छ । करफोक खेलमैदानमा संचालन हुने प्रतियोगिताको बिजेता टिमले २ लाख तथा उपविजेताले १ लाख रुपैया प्राप्त गर्ने जनाइएको छ । प्रतियोगिताको उत्कृष्ट खेलाडी, गोलरक्षक, सर्वाधिक गोलकर्ताले जनही नगद ८ हजार प्राप्त गर्नेछन् । प्रतियोगिता सम्पन्न गर्न २० लाख ८१ हजार ९सय ९८ रुपैया लाग्ने आयोजक समितीको अनुमान रहेको छ । प्रतियोगिताको उद्धघाटन खेलमा आयोजक सुर्योदय नगरपालिकाले अर्जुनधारा नगरपालिकाको सामना गर्नेछ ।
प्रतियोगिताको संयोजक एवम वडा नं १० का अध्यक्ष पेमा उगेन लामाले करफोक खेलमैदानमा दर्शकहरुको सहजताको लागी डाँडामा माटो काटेर ४ तहको पारापिट बनाइएको बताए । उनले खेलमैदान व्यवस्थापन अन्तिम चरणमा रहेको जानकारी दिए । नगर प्रमुख रणबहादुर राईले सुर्योदय नगरपालिकामा खेल पर्यटनको संभावना रहेको बताए । उनले खेलकुदलाई प्राथमिकतामा राखेर पर्यटकियसंगै सुर्योदयलाई खेलकुद नगरीको रुपमा समेत चिनाउने योजना रहेको बताए । कार्यक्रममा आयोजक टिमको जर्सी सार्वजनिक गर्नुका साथै नगरका विभिन्न क्षेत्रमा रहेको क्लबहरुलाई फुटबल, भलिबल र क्रिकेटका सामाग्रीहरु वितरण गरिएको छ । पत्रकार सम्मेलनमा नै प्रतियाेगिताकाे टाइसिट समेत सार्वजनिक गरिएकाे छ ।
पत्रकार सम्मेलनमा वडा नं ६ का अध्यक्ष शिवकुमार बस्नेत, वडा नं ११ का अध्यक्ष टेकबहादुर राई, जिल्ला फुटबल संघका उपाध्यक्ष मणी गुरुङ, पुर्व अन्तराष्ट्रिय खेलाडी रञ्जना सुन्दास (पप्पु) लगातयको उपस्थिती रहेको थियो । मेयरकपको गत संस्करणमा आयोजकलाई हराउदै मेचीनगर नगरपालिकाले उपाधी जितेको थियो ।
लोकल सन्देशबाट साभार गरिएको
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता