इलाममा असार पन्ध्रबाट स्वास्थ्य बिमा शुरु हुने, परिवारका प्रत्येक सदस्यले पाँच सय बुझाए सेवा लिन पाउने


इलाम १ असार  ः इलाममा आगामी असार पन्ध्र गतेबाट स्वास्थ्य बिमा सुरु हुने भएको छ । सरकारले ‘सबैका लागि स्वास्थ’ अभियानअन्तर्गत सबै नागरिकको स्वास्थ्य सेवामा सहज पहुँच उपलब्ध गराउने उद्देश्यले इलाम सहित तीन जिल्लामा स्वास्थ्य सुरक्षा कार्यक्रम (स्वास्थ्य बिमा योजना) सुरु गरेको हो । इलाम सदरमुकाममा सामाजिक स्वास्थ्य सुरक्षा विकास समितिले बुधबार आयोजना गरेको कार्यक्रममा बोल्दै कार्यक्रम निर्देशक डा.गुणराज लोहनीले कैलालीमा यो कार्यक्रम सुरु भइसकेको र इलाम र बाग्लुङमा समेत तत्कालै सुरु गरिने बताएका छन् । यसका लागि दर्ता सहयोगी छनौट गरि सकेको जानकारी गराउँदै उनले सहयोगीहरुलाई तालिम समेत प्रदान गरी सकिएको बताए ।  
सरकारले आर्थिक वर्ष २०७०–७१ मै ५ वर्षभित्र यो कार्यक्रम देशव्यापी बनाउने नीति लिएको भए पनि तयारी पूरा नभएको भन्दै कार्यान्वयन गर्न सकेको थिएन । स्वास्थ्य सुरक्षा कार्यक्रम यस वर्षदेखि सुरु गरिए पनि यसले गरीब र असहाय परिवारलाई फाइदा पुग्ने छ ।
संसारका धेरै मुलुकमा सर्वव्यापी स्वास्थ्य बिमा (युनिभर्सल हेल्थ इन्सुरेन्स) भनिने कार्यक्रम यो कार्यक्रम नेपालमा पनि लागु भएपछि उपचारका लागि तत्काल खल्तीबाट पैसा खर्च गर्नु नपर्ने जनाइएको छ ।
नेपालमा अहिले सबै नागरिकलाई समेट्ने गरी थालिएको यो कार्यक्रममा परिवारका प्रत्येक सदस्यले जनही ५ सय रुपैयाँ बुझाएर सदस्यता लिनुपर्ने व्यवस्था छ । पाँचजनाको परिवारलाई आधार मानेर दुई हजार पाँच सय रुपैयाँ प्रतिपरिवार संकलन गर्ने र बाँकी ४७ हजार ५ सय सरकारका तर्फबाट राखी ५० हजार रुपैयाँ बराबरको उपचार सेवा उपलब्ध गराउने जनाइएको छ । एउटा परिवारमा पाँचभन्दा बढी सदस्य रहे थप सदस्यले चार सय पच्चीस रुपैयाँ वार्षिक प्रिमियम बुझाउनु पर्ने र जनही दश हजार रुपैयाँको उपचार सेवा थप हुनेछ । यो रकम पचास हजारदेखी एक लाख सम्मको भएको बताउँदै डा.लोहनीले १० भन्दा बढि परिवार भए पनि एक लाख रुपैंयाँ बराबरको मात्र सेवा पाउने बताए । पाँच भन्दा कम सङ्ख्याको परिवार भए पनि पच्चीस सय बुझाउनै पर्ने प्रावधान रहेको छ ।
यो योजना परीक्षणका रुपमा सञ्चालन गरिन लागिएको हो । बिमा गरिसकेपछि सेवा सरकारी अस्पताल, स्वास्थ्य केन्द्रबाट तथा पच्चीस शैया भएको स्वास्थ्य चौकीबाट मात्र लिन सकिने बताइएको छ । जिल्लामा इलाम अस्पताल सहित मंगलबारे, प्याङ, फिक्कल र पशुपतिनगरमा रहेको स्वास्थ्य केन्द्रबाट मात्र यो सेवा प्राप्त गर्न सकिने छ । कहाँबाट यस्तो सेवा लिइने हो यसबारे सुरुमा फर्म भर्दा नै उल्लेख गरिनु पर्ने जनाइएको छ । इलाममा असार १५ गतेबाट नै घरघरमा गएर दर्ता सहयोगीले परिवार सङ्ख्या सहित फर्म भराउने र भदौ एक गतेबाट पाउने रकम भित्रको निःशुल्क उपचार सेवा लिन सक्ने जनाइएको छ । सोही अनुसार सदरमुकाममा बुधबार सामाजिक स्वास्थ्य सुरक्षा सम्बन्धि अभिमुखीकरण सम्पन्न भएको छ । कार्यक्रममा बिमा कम्पनी र सुरक्षा बिमा बिचको अन्तर, सामाजिक सुरक्षा कार्यक्रमको उद्देश्य लगायतका बारेमा जानकारी गराइएको थियो । कार्यक्रममा जिल्लाका स्वास्थ्य अधिकारी, राजनैतिक दलका प्रतिनिधि, सञ्चारकर्मी लगायतको उपस्थिति रहेको थियो ।
सहभागीहरुले कार्यक्रमका विषयमा जिज्ञासा समेत राखेका थिए । गरीब भएर उपचार गराउन नपाएका परिवारलाई यस कार्यक्रमले मद्दत पुग्ने जनाइएको छ । गरीब परिवारले पैसा नभएकै कारण उपचारबाट वञ्चित हुन नपरोस् भनेर सरकारले स्वास्थ्य बिमा अभियान शुरु गरेको हो । सबै उमेर र वर्गलाई समेटेर स्वास्थ्य सुरक्षा कार्यक्रम सुरु हुनु नेपालको स्वास्थ्य सेवाको क्षेत्रमा नौलो कदमको सुरुवात भएको बताइँदै आइए पनि यसको कार्यान्वयन पक्षलाई चुनौतीको रुपमा लिइएको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment