झापा मेचीनगरमा मदिरा सेवन गरी कार्यालयमै वडा अध्यक्षको रमीता


झापाको मेचीनगर नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष तिलक न्यौपाने कार्यालय समयमै मादकपदार्थ सेवन गरी कार्यालय पुग्ने गरेका छन् । दैनिकजसो मादकपदार्थ सेवन गरेर कार्यालय जाने र कार्यालयमा होहल्ला गर्न थालेपछि स्थानीय सेवाग्राही आजित बनेका छन् ।
सोमबार हाम्रो टिम वडा कार्यालयमा पुग्दा वडाअध्यक्ष न्यौपाने मदिरामा लठ्ठ भएर कार्यकक्ष बाहिर बेञ्चमा बसीरहेका थिए । आएका सेवाग्राही, कर्मचारी र हामीसँग वडाअध्यक्ष न्यौपानेले अस्वाभाविक कुरा गरिहेका थिए ।
कार्यालय समयमा मदिराले लठ्ठिएर वडाअध्यक्ष यताउता गरिरहे । घरी बाहिर, घरी आफै कार्यकक्षमा घरी कार्यालयका अन्य फाँटमा पुगेर अस्वाभाविक कुरा गरिरहे । कार्यालयका कर्मचारी, सेवाग्राही र लेखापढी व्यवसायीले वडाअध्यक्ष न्यौपाने दैनिक जसो मदिरा पिएर कार्यालय आउने र बढी पिएको बेला होहल्ला गर्ने, अपशब्द बोल्ने गरेको बताए ।
मदिराले लठ्ठ वडाअध्यक्ष न्यौपाने आफ्नै कार्यकक्षमा हामीसँग कुरा गर्दा समेत यो अवस्थामा थिए । हामी पुगेको केहीबेर कार्यालयमा बसेका वडाअध्यक्ष न्यौपाने बाहिरीए र भृकुटी चौक नजिक बाटो स्तरोन्त्तीको कार्य गरिरहेको रोलर मेसिनमा चढेर आफु विकासप्रेमी जनप्रतिनिधी भएको दाबी गरिरहेका थिए ।
यसअघि गत चैतमा मदिरा पिएर कार्यालय पुगेका वडाध्यक्ष न्यौपानेले आएका सेवाग्राहीलाई अपशब्द प्रयोग गरेपछि प्रहरीले पक्राउ समेत गरेको थियो ।
अब उप्रान्त यसो नगर्ने सहमतीमा छोडिएको भएपनि वडाअध्यक्ष न्यौपानेको गतिविधीमा कुनै सुधार आएको छैन । जनप्रतिनिधी नै यस्तो तमासा देखाएपछि आफ्नो वडाको कामकारवाही र विकास निर्माणमा लापरवाही हुनेमा स्थानीयले चिन्ता व्यक्त गरिरहेका छन् । 
न्युज ट्वान्टीफोरबाट जस्ताको तस्तै 
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता