इलामकाे पञ्चकन्या माईले मंगलबारबाट साधारण सेयर निष्कासन गर्ने

काठमाडौं, ३२ असारः  पञ्चकन्या माई हाइड्रो पावर कम्पनीले मंगलबार (भाेली) बाट साधारण सेयर बिक्री खुलाउने भएको छ । कम्पनीले इलाममा सञ्चालित ६.१ मेगावाटको माथिल्लो माई ‘सी’ र १२ मेगावाटको माथिल्लो माई जलविद्युत केन्द्रको सर्वसाधारणका लागि छुट्याइएको सेयर बिक्री खुलाउन लागेको हो । प्रतिकित्ता एक सय रुपैयाँ अंकित ११ करोड मूल्य बराबरको ११ लाख कित्ता सेयर निष्कासन गरेर बाँडफाँड गर्न लागिएको कम्पनीका कार्यकारी निर्देशक सन्तोषकुमार प्रधानले बताए । 
उनका अनुसार निष्कासन गरेर बाँडफाँड गर्न लागिएको साधारण सेयर स्वपुँजी लगानीको १० प्रतिशत हो । लगानीकर्ताले मंगलबारबाट चाँडोमा साउन ४ देखि ढिलोमा १५ गतेसम्म आवेदन दिनुपर्नेछ । सेयर लगानी गर्ने सर्वसाधारणले घटीमा ५० कित्तादेखि बढीमा साढे ५ हजार कित्तासम्मका लागि आवेदन दिन पाउने कम्पनीले जनाएको छ । 
आवेदन दिने अवधि सकिएपछि सेयर बाँडफाँड गरिने पनि प्रधानले बताए । सेयर निष्कासन तथा बाँडफाँड गर्न सनराइज क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरिएको छ । कम्पनीले यसअघि स्थानीयका लागि छुट्याइएको ११ लाख कित्ता सेयर निष्कासन गरेर बाँडफाँड गरिसकेको छ । कम्पनीले निर्माण गरेको माथिल्लो माई र माथिल्लो माई ‘सी’ ले विद्युत उत्पादन गर्दै आएका छन् । यी दुई जलविद्युतगृहबाट विद्युत उत्पादन सुरु भएको एक वर्षबाट नै कम्पनीले नाफा आर्जन गर्न सुरु गरेको थियो । 
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता