पहिरोमा एक किशोर बेपत्ता, एक दर्जन परिवार विस्थापित

फलेवास, पर्वत, २ साउन (रासस)  गएरातिदेखि परेको अविरल वर्षाका कारण पर्वतको जलजला गाउँपालिका–८, लस्ती बेरनेटामा एक किशोर बेपत्ता भएका छन् । 
राति अन्दाजी १ बजेको समयमा स्थानीय बमबहादुर परियारको ढुंगा माटोले बनेको टिनले छाएको एकतले कच्ची घरको माथिबाट आएको पहिरोले घर बगाउँदा परियारका १६ वर्षीय छोरा विकास परियार बेपत्ता भएका हुन् । उनी पहिरोमा पुरिएको हुनसक्ने प्रहरीको अनुमान रहेको छ । 
अविरल वर्षाकै कारण उक्त गाउँका १५ घरसमेत पूर्ण जोखिममा परेका छन् । पहिरोबाट जोखिममा परेका बस्तीका बासिन्दालाई सुरक्षित स्थानमा राखिएको प्रहरीले जनाएको छ । वर्षाकै कारण जलजला गाउँपालिका–७, धाइरिङ, बास्कोट बस्ने भिमलाल आचार्यको घर पहिरोको कारण भत्किएको छ । 
घर भत्किँदा राति सुतिरहेका छजना घाइते भएका छन् । घाइतेको ढाड भाँचिएको, टाउकोमा गम्भीर चोट लागेकाले उपचारका लागि अस्पतालतर्फ लगिएको प्रहरीले जनाएको छ । ठाउँठाउँमा बाटो अवरुद्ध भएकाले सुरक्षा निकाय घटनास्थलसम्म पुग्न सकेको छैन । 
स्थानीयवासीले उद्धार कार्य जारी राखेको प्रहरीले जनाएको छ । अहिले प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालसहित सुरक्षा निकाय, रेडक्रसलगायत बन्दोबस्तीका सामान लिएर घटनास्थलमा पुगेको छ । 
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता