कोरोना संक्रमणबाट वीरगञ्जमा दुई जनाको मृत्यु, मेयरलाई पनि कोरोना संक्रमण


काठमाडौं, १६ साउन ।  कोरोना भाइरस (कोभिड-१९) ‘हटस्पट’ बनिरहेको वीरगन्ज महानगरपालिकामा कोरोना भाइरसबाट थप दुई जनाको मृत्यु भएको छ ।
नारायणी अस्पतलामा मृत्यु भएका एक र घरमा नै मृत्यु भएका  अर्का एक व्यक्तिको मृत्युपछि कोरोना संक्रमित भएको रिपोर्ट आएको हो । यससँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ५४ पुगेको छ ।
मृत्यु हुनेमध्ये एक जना वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ नगवा स्थायी ठेगाना भएका ३५ वर्षीय पुरुष र वीरगञ्ज महानगरपालिकास्थित छपकैयाका ६५ वर्षीय पुरूष रहेका छन् । उनीहरू दुवै जनाको वीरगञ्जस्थित नारायणी अस्पतालमा पिसिआर परीक्षण गरिएको थियो ।
यसैबीच महानगरपालिकाका नगर प्रमुख विजय कुमार सरावगी पनि संक्रमित हुनुभएकाे छ । सरावगीले आफूलाई कोरोना संक्रमण भएको पुष्टि सामाजिक सञ्‍जाल फेसबुकमार्फत गराउनुभएकाे छ ।
उहाँले आम नगरवासीको स्वास्थ्यको लागि ख्याल गर्दा गर्दै आफैं संक्रमित भएको जानकारी गराउनुभएकाे हाे । अहिले आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको बताउँदै उहाँले चाँडै कोरोना जितेर पुनः काममा फर्कने पनि उल्लेख गर्नुभएकाे छ । उहाँले लेख्नुभएकाे छ- ‘कोरोना महामारीको समयमा जनताको सेवामा लाग्दा आफैं कोरोना सङ्क्रमणको चपेटमा परेँ, मेरो स्वास्थ्य अवस्था सामान्य रहेको छ। चाँडै निको भएर काममा फर्किनेछु ।’
वीरगञ्जमा कोरोना सङ्क्रमितको सङ्ख्या दिनहुँ बढ्दै गएपछि अहिले १०० भन्दाबढी सङ्क्रमित घरकै आइसोलेशनमा रहेका छन् । पचास श्ययाको कोरोना विशेष अस्थायी अस्पताल गण्डकमा ६० जनाभन्दा बढी सङ्क्रमितलाई राखिएको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता