कोरोना बढ्न थालेपछि काठमाडौँमा निषेधाज्ञा थप कडा बनाउने तयारी


काठमाडौँ । कोरोना भाइरसका संक्रमितहरु पुनः बढ्दै जान थालेपछि काठमाडौँ उपत्यकाको निषेधाज्ञा कडा बनाउने तयारी थालिएको छ ।

उपत्यकाका तीनै जिल्ला (काठमाडौं, भक्तपुर र ललितपुर)का प्रशासन कार्यालयले जारी निषेधाज्ञालाई थप कडाइ गर्ने तयारी थालेको बताइएको छ ।

अहिले साउन २८ देखि भदौ ८ गतेसम्मका लागि जारी निषेधाज्ञामा राति ८ बजेपछि सार्वजनिक तथा निजी सवारी चलाउन नपाइने र ७ बजेभित्र पसल बन्द गरिसक्नुपर्ने भनिएको छ । तर यतिले मात्र नपुग्ने हुँदा कोरोना नियन्त्रणका लागि निषेधाज्ञामा थप कडाइ गर्न लागिएको बताइएको छ ।

उपत्यकामा भीडभाड बढेसँगै कोभिडका बिरामी पनि बढ्दै गएका छन् । अहिले मुलुकभर ३९ हजार भन्दा बढी सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । आइतबार मात्र १ हजार ७९३ नयाँ संक्रमित थपिएका छन् । तीमध्ये अधिकांश काठमाडौँ उपत्यकामा मात्रै रहेका छन् ।

काठमाडौंमा संक्रमणको दर बढ्दो गतितर्फ रहेको बताउँदै काठमाडौंका प्रमुख जिल्ला अधिकारी काली प्रसाद पराजुलीले संक्रमण दरको थप समीक्षा गर्दै निषेधाज्ञामा कडाइ गरिने बताएका छन् ।

यसैबीच, गृह मन्त्रालयले कोरोना भाइरसको तेस्रो लहरको सम्भावनालाई स्विकार्दे देशैभरी पहिलो र दोस्रो लहरको बेला सञ्चालित कोरोना अस्पताललाई पुनः सूचीकरण गर्न सम्बद्ध निकायलाई निर्देशन दिएको छ । कोरोना जोखिम आकलन गरेरै स्वास्थ्य मन्त्रालयले पठाएको सूचनाका आधारमा गृहले बन्द रहेका देशभरका कोभिड–१९ आइसोलेशन सेन्टर, अस्पताल र शिक्षण अस्पताल पुनः सूचीकरण एवं व्यवस्थापन गर्न सबै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको हो ।

न्युज24नेपालबाट 

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment