सरकारी नीतिको उलङ्घन गर्दै इलाम नगरपालिका, ‘हावा बेचेर समेत महसुल संकलन गर्छ’

इलाम १ जेठः नगरवासीलाई सुकुम्बासी बनाउने गरि इलाम नगरपालिकाले २०औँ नगर परिषदबाट बढाएको करको दर घटाउनु पर्ने नगर सरोकार समिति इलामले आग्रह गरेको छ । करको दर घटाउन पटक–पटक माग गर्दै आएको समितिले शनिबार इलाम सदरमुकाममा पत्रकार सम्मेलन गर्दै करको दर पुनरावलोकन नगरे वा भू–उपयोग नीति समेत परिमार्जन नभए चरणवद्ध आन्दोलनका कार्यक्रम अघि बढाउने चेतावनी समेत दिएको छ । 
परिषदबाट नगरको स्तरोन्नतीको बहानामा फोहोरमैला व्यवस्थापन शुल्क, विभिन्न सिफारिस शुल्क, सेवा शुल्क, पेशा व्यवसाय शुल्क लगायत करको दायरामा अवैज्ञानिक रुपले बृद्धि गरिएको शुल्क र निर्माण मापदण्ड साथै भू–उपयोग नीतिले आम नगरबासी सुकुम्बासी हुने भन्दै बढाइएको कर तत्काल घटाउन माग गर्दै समितिले नगरपालिकासँग माग गर्दै आएको छ । 
नगरबासीसँग लादिएको कर तथा सम्पुर्ण शिर्षकलाई वैज्ञानिक, व्यवहारिक बनाउनु पर्ने, नगरबासीसँग छलफल तथा परामर्श गरेर मात्र कर बढाउनु पर्ने समितिको माग छ । इलाम नगरपालिकामा खानेपानी वितरणको जिम्मा लिएको नगरपालिका कार्यालयले जडान गरेको धारामा पानी नआउने तर पानीको महसुल बृद्धि गरिनुले नगरबासी मारमा परेको उनीहरुको गुनासो छ । कार्यालयद्धारा जडित धारामा पानी नआएपछि हावाको पैसा लिने गरेको नगरबासीको गुनासो छ । पानी आउने समयमा पानीको साटो हावा मात्र आउने भन्दै हावाको पैसा असुल्न नमिल्ने उनीहरुको भनाई छ । विकल्पका रुपमा उनीहरुले नगरपालिकासँग दुईवटा धारा जडान गर्न माग समेत गर्दै आएका छन् । हाल जडान भइसकेका धारामा साविक बमोजिम नै महसुल असुल्नु पर्ने र अर्को धारा जडान गरेर व्यापारिक वा व्यवसायिक शुल्क लिन सक्ने उनीहरुको धारणा छ । व्यापारिक वा व्यवसायिक धाराबाट नगरबासीले नगरपालिकाले चाहेकै पैसा तिर्न तयार भएपनि हाल जडान गरिएका धाराबाट महङ्गो शुल्क तिर्न नसक्ने बताउँदै आएका छन् ।
२० औँ नगरपरिषदबाट स्थानीय शासन नियामवली विपरित कर बढाएको उनीहरुको भनाई छ । बढाएको कर गत माग महिनाबाट लागु हुने नगरपालिकाले जनाएको छ । परिषदबाट २८ देखी पाँचसय तेत्तीस प्रतिशतसम्म कर बृद्धि गरेको समितिले जानकारी दिएको छ । एकैचोटी यतिधेरै कर बढाउँदा नगरबासी आक्रोशित समेत भएका छन् । नेपाल सरकारले नेपाली नागरिकता बनाउन कुनै शुल्क नलाग्ने भने पनि इलाम नगरपालिकाले सिफारिसको मात्र चार सय १० रुपयाँ असुल्दै आएको नगरबासीको गुनासो छ । एक नगरबासीले नाम उल्लेख नगर्ने सर्तमा चियाबारी दैनिकसँग भने ‘सरकारले ल्याएको नियम उलंघन गर्दै आएको नगरपालिकालाई कारवाही हुनुपर्छ ।’ नगरपालिकाले नागरिक सँग पैसा असुल्ने तर गुणस्तरिय सेवा प्रदान नगरेको उनीहरुको भनाई छ । नगरपालिकाले नगरबासीको हित विपरित काम गर्ने गरेको स्थानीय सोम सुसेली बताउँछन् । सरोकार समितिका सल्लाहाकार समेत रहेका उनले नगरपालिकाले नगरमैत्री भन्दा पनि निरंकुशता अपनाउन थालेको चर्चा गरे । समितिले गत फागुनदेखी नै नगरपालिकासँग कर घटाउन आग्रह गर्दै आएको छ । ज्ञापन पत्र, छलफल र अन्तरक्रिया मार्फत विरोध गर्दै आएको समितिले गत चैत्रमा सातदिने समयसिमा तोकेर कर घटाउन दवाब दिएको थियो । त्यसको प्रतिउत्तर नगरपालिकाले राजनैतिक संयन्त्रको बैठक र परिषदले पारित गरेका कार्यक्रमहरु विशेष परिषदबाट मात्रै परिमार्जित हुन सक्ने पत्र पठाएको थियो । नगरपालिकाले नगरको आर्थिक श्रोत कम भएका कारण कर बृद्धि गरेको प्रतिक्रिया दिने गरेको छ । समितिका अध्यक्ष केदार श्रेष्ठको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा नेपाली कांग्रेसका होम दुलाल, सल्लाहकार शंकरमणी प्रधान, विजेन्द्र रिमाल, नगरपालिका टोल विकास संस्था वडा नम्बर एककी संयोजक पुष्पा खाकी, दिपेश अधिकारी लगायतले आ–आफ्नो धारणा राख्दै तत्काल नगरपालिका नगरबासी मैत्री बन्नु पर्ने धारणा राखेका थिए । यता, इलाम नगरपालिकाका प्रशासकिय अधिकृत राम शाहले आगामी साउनमा विशेष नगर परिषद बोलाएर करका केहि शिर्षकहरु पुनरावलोकन गर्न सकिने बताए ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment