
बिर्तामोड, ६ असोजः सरस्वती मावि बिर्तामोडका पूर्वविद्यार्थीको आर्थिक सहयोगमा निर्माण गरिएको सरस्वती मन्दिर उदघाट्न तथा हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ ।
विद्यालयमा प्रत्येक फोटोमा सरस्वती पुजा गर्दै आएका विद्यार्थीले अब मन्दिरमा नै पूजा गर्न पाउने भएको भन्दै प्रधानाध्यापक मुक्तिप्रसाद प्याकुरेलले पूर्वविद्यार्थीको सहयोगको प्रंशसा गरे । विद्यालयले गर्न नसक्ने कतिपय काम समाजबाटै गरिनु पर्नेमा पूर्वविद्यार्थीले गरेको भन्दै समाजसेवी लोकबन्धु कन्दङ्गवाले प्रसन्नता व्यक्त गरे ।
पूर्वविद्यार्थीबाट संकलित चार लाख, ३५ हजार, १०४ रुपैयाँ मध्ये भवन तथा मूर्ति व्यवस्थापनमा चार लाख , २८ हजार, ४३१ रुपैयाँ खर्च भएको र ६ हजार ६७३ रुपैयाँ बचत रहेको संयोजक गणेश खनालले बताए ।
कार्यक्रममा पूर्वप्रअ, शिक्षक, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी तथा समाजसेवी गङ्गा फेदावे, टन्कमणि गौतम, कविता राई, प्रेम थापा, पदमसुन्दर कन्दङ्वालाई सम्मान गरिएको विद्यालयका सहायक प्रधानाध्यापक नारायणप्रसाद चम्लागाईँले बताए । साथै विपन्न विद्यार्थीलाई सुइटर समेत वितरण गरिएको थियो ।
निर्माण समितिका संयोजक वसन्त राईको अध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि बिर्तामोड– ६का वडाध्यक्ष सूर्यप्रसाद कन्दङ्वा रहेका थिए । उनले मन्दिर उद्घाटन पछि विद्यालयलाई चाबी हस्तान्तरण गरेका थिए । कार्यक्रममा नगर सदस्य सुरेन्द्र राजवंशी, पर्शुराम खनाल, पवित्रा ढुङ्गना, शोभा विक, विव्यस अध्यक्ष राजुजङ कन्दङ्वा, तेजप्रसाद कन्दङ्वा,,शिव प्रसाद कन्दङ्वा, दाताराम खनाल, जगत राई, दिपक बाँस्कोटा लगायतले बोलेका थिए । कार्यक्रममा स्वागत सदस्य धनसरी राई र सञ्चालन सचिव जीवन बाँस्कोटाले गरेको रञ्जित परियारले बताए ।