
इलाम, १७ असोजः जिल्ला भरको सहकारी संस्थाहरुलाई समन्वयकारी भूमिका निर्वाह गर्ने जिम्मेवारी पाएको जिल्ला सहकारी संघ इलामको सुस्तताले जिल्लाभरका सहकारी संस्थाहरुले सास्ती पाउनका साथै संघ प्रतिको विश्वास घट्दै गईरहेको संघमा आवद्ध प्रारम्भिक सहकारी संस्थाहरुको गुनासो रहेको छ ।
पछिल्लो समयमा स्थानिय तहहरु मार्फत सहकारी संस्था संचालन गर्नु पर्ने भएपछि सहकारी संस्थाहरुमा अन्यौलता बढेको अवस्थामा पनि इलामको जिल्ला सहकारी संघ चिर निन्द्रामा सुतेको बिहानी कृषि सहकारी संस्थाका संचालक समितिका सदस्यले आरोप लगाएका छन् । सहकारी ऐन अनुसार लेखा परिक्षण सम्पन्न गरी साधारण सभा बस्ने अन्तिम समय गुज्रन लाग्दा पनि इलामका कतिपय स्थानिय तहहरुमा सहकारी संस्थाहरुलाई सहजीकरण गर्ने फाँट स्थापना हुन सकेको छैन । यस्तो बेला जिल्ला सहकारी संघले समन्वयकारी भूमिका खेल्नु पर्नेमा बत्ती बालेर संघका पदाधिकारीहरु नैं खोज्नु पर्ने अवस्था आएको बिहानीका संचालकले बताए ।
जिल्ला सहकारी संघले विगत २ वर्षदेखि लेखा परिक्षण र साधारण सभा समेत गर्न नसकेको सदस्य सहकारी संस्थाहरुको गुनासो रहेको छ । प्रारम्भिक सहकारी संस्थाहरुलाई सहकारी ऐन नियम सिकाउनु पर्ने अभिभावकको रुपमा रहेको संघनै दुई–दुई वर्ष सम्म लेखा परिक्षण र साधारण सभा नगर्दा यसबाट नकरात्मक सन्देश प्रवाह हुन सक्ने सहकारी संस्थाहरुको बुझाई रहेको छ ।
यस्तै संघले डेनमार्क सरकारको सहयोगमा संचालित उन्नति परियोजना अन्र्तगतको आईएलओ परियोजना सम्पन्न पश्चात सो परियोजनाको हिसाब–किताब समेत पारदर्शी गर्न नसकेको आरोप समेत सदस्य सहकारी संस्थाहरुको रहेको छ । यसै विषयमा जानकारी लिनको लागि संघका सचिव वेदनिधि पोखरेलसँग सम्पर्क गर्दा उनले साधारण सभा नभएको तर लेखा परिक्षण नियमित रुपमा गरेको बताए । उनले चियाबारी दैनिकसँग भने– ‘दुई दुई वर्ष सम्म लेखा परिक्षण नभएको भन्ने कुरा सत्यता होईन तर साधारण सभा नबसेको चाही निक्कै भयो ।’ उनले थपे– ‘हाम्रो कार्यकाल गत वर्षको पुषमा नै समाप्त भएको हो त्यही भएर म आफ्नो कार्यकाल पुरा भएकोले संघमा त्यति गईरहेको छुईन् । उन्नति परियोजनाको कुरा हाम्रा अध्यक्षलाई अलिक बढी थाहा होला कि ।’
यता जिल्लाका सहकारीकर्मीहरु जिल्ला संघको अघिल्लो अधिवेशनबाटै संघमा राजनीतिकरण भएको कारणले गर्दा प्रायः सहकारी संस्थाहरुले संघको चासो नगरेको बताउछन् । इलाम सदरमुकामस्थित एक प्रतिष्ठित सहकारी संस्थाका सहकारीकर्मी आफ्नो नाम उल्लेख नगरिदिन आग्रह गर्दै भन्छन्– ‘संघका वर्तमान अध्यक्ष नरेन्द्र भट्टराई जस्ता राजनैतिक पृष्ठभूमि भएका व्यक्तिले सहकारी संघको अध्यक्षता ग्रहण गरेर एकलौटी रुपमा संघ चलाएको हुँदा जिल्लाका कुनै पनि सहकारीहरुले संघलाई महत्वै दिएका छैनन्, त्यस माथि प्रारम्भिक सहकारी संस्थाहरुलाई सिकाउनु पर्ने संघले लामो समय सम्म साधारण सभा जस्तो संवेदनशिल विषयमा ध्यान नपु¥याउनु दुःखदायी मात्र होईन आपत्तिजनक समेत छ भनेर आजको चियाबारी दैनिकले समाचार प्रकाशन गरेको छ ।’