
इलाम १७ असोजः विश्वमा दुर्लभ सूचिमा सुचिकृत रेडपाण्डाको आहारा संकटमा पर्न थालेको छ । रेडपाण्डाको मुख्य आहारा मालिङ्गो र भालुचिण्डे कलिलो टुसामा मानिसले भाँचेर खान तथा बिक्री गर्न थालेपछि रेडपाण्डाको आहारा संकटमा परेको हो । मालिङ्गो र भालुचिण्डेको मुख्य टुसा पलाउने समय असारदेखि असोज महिना भर हो । यतिबेला स्थानियले पलाएको टुसा भाँच्न थालेका छन् । मानिसले तरकारीका रुपमा खाने मालिङ्गोको टुसा हिउँदको समयमा रेडपाण्डाको राम्रो आहारा हुने गरेको छ ।
टुसाउने मुख्य सिजनमा नै दिनानुदिन यसरी टुसा भाँच्नाले मालिङ्गो नै मासिने अवस्था सिर्जना भएको छ । मालिङ्गो मासिए रेडपाण्डा समेत लोप हुने अवस्था आउनेछ । सन्दकपुर गाउँपालिका र माइजोगमाइ गाउँपालिकामा रेडपाण्डा पाइन्छन् । यहाँका जौबारी, नयाँबजार, हाँगेथाम, माइमझुवा लगायतका स्थानमा पलाएको मालिंङ्गो नै रेडपाण्डाको आहारा हो । स्थानियले यहाँका बजार तथा सिमापारी लगेर यसको ब्यापार गर्न थालेपछि रेडपाण्डाको आहारामा दिनानुदिन संकटमा पर्न थालेको हो ।
इलामको पूर्वी सन्दकपुरको गाउँपालिकाको माबु दोभाने, जमुनाको चोयाटार, माईजोगमाई गाउँपालिकाको प्याङ पातल सामुदायिक वन, जोगमाईको माथिल्लो सामुदायिक वन लगायतमा स्थानियले पलाएको टुसा भाँच्ने गरेका छन् ।
रेडपाण्डाको मुख्य आहारा नै यहि मालिङ्गो र भालुचिण्डे हो । रेडपाण्डाको संरक्षणको लागि ती क्षेत्रमा मालिङगो काट्न र भालुचिण्डे खोज्न निषेध गरिएको छ । केही वर्ष अगाडि ती ठाउँमा रेडपाण्डाको संख्यामा बृद्धि गर्न ‘मालिङ्ङ्गो रोपौं, रेडपाण्डा जोगाउँ’ भन्ने अभियान समेत चलाइएको थियो । हाल रेडपाण्डा नेटवर्कले यसको संरक्षणको अलवा अवस्थाको बारे महिनै पिछे जानकारी गराउन केही वर्षदेखि ४ जना कर्मचारी समेत खटाएको छ ।
हाल यी ठाउँको सामुदायिक विद्यालयमा रेडपाण्डाको बारेमा जनचेतनाको कार्यक्रम गर्दै आएपनि सामुदयिक वनभित्र छिरेर मालिङ्गोको टुसा र भालुचिन्डे भाँच्ने कार्य नरोकिएको कारण रेडपाण्डाको आहारामा संकट पर्दै जान थालेको स्थानिय संचारकर्मी लोकेन थेवेले बताए । साउनको अन्तिम सातादेखि भदौसम्म टुसा आउने मालिङ्गो मानिसका लागि पनि स्वादिष्ट तरकारी हो ।
मालिङ्गोको टुसाको बजारमा राम्रै मुल्य भएपछि यसको ब्यापार नेपालमा मात्र हैन भारतका विभिन्न ठाउँहरुमा समेत हुने गरेको छ । प्याङ पातल सामुदायिक वनमा मालिङ्गोको टुसा र भालुचिण्डे खोज्न कडाइ गरेपनि छिटफुट छिरेर भाँच्ने काम भइरहेको सामुदायिक वनका अध्यक्ष कुमार बुढाथोकीले बताए । उनले सक्दो कडाइ गरिरहेको जानकारी गराउँदै पुर्ण रुपमा रोक्न नसकिएको बताए ।
सो क्षेत्रमा ४ जोडीदेखि ६ जोडीसम्म रेडपाण्डा रहेको अनुमान गरिएपनि यसको संख्यामा बृद्धि हुन सकिरहेको छैन । अति लजालु र सोझो स्वभावको भएकोले पनि यसलाई जंगली जन्तु र घरपालुवा कुकुरले सजिलै आफ्नो आहारा बनाउने गरेको छ । सोही कारणले पनि यसको संख्यामा बृद्धि हुन सकिरहेको छैन । यसको संरक्षणकै निमित्त केही वर्षदेखि रेडपाण्डा पाउने क्षेत्रमा यस सम्बन्धी सबै सामुदायिक विद्यालयमा पठनपाठन गर्ने रेडपाण्डा नेटवर्कको योजना रहेको छ । हाल सन्दकपुर गाउँपालिकाको जमुनास्थित इङ्लाको राष्ट्रिय आधारभूत विद्यालयमा पठनपाठन सुरु भएको छ । स्थानीय भाषामा हाब्रेको नामाले चिनिने गरेको यसको बनोट बिरालो जस्तै हुन्छ । तर रङ कालो, रातो र सेतो मिसिएको हुन्छ ।
यसको पुच्छर ठूलो र लामो हुन्छ । पोथी रेडपाण्डाको तौल ३ देखि साढे ४ किलोसम्म हुन्छ भने भाले रेडपाण्डाको तौल ६ किलोसम्मको हुन्छ । समुन्द्री सतहको १६ सय मिटरदेखि २४ सय मिटरसम्म यसको बासस्थान उपयुक्त मानिन्छ । इलाममा धेरै आन्तरिक तथ बाह्य पर्यटक रेडपाण्डाको अवलोकन गर्न र अनुसन्धानका लागि आउने गर्दछन् । रेडपाण्डा नै लोप भयो भने पर्यटकहरु आगमन नै घट्ने स्थानिय बताउँछन् । बेलैमा यसको आहाराका लागि चाहिने मालिङ्गो नजोगाउने हो भने रेडपाण्डा नै खतरामा नपर्ला भन्न सकिन्न् ।