इलाममा विद्यालयभित्रै यौन दुर्व्यवहारको आरोप : प्रहरी नियन्त्रणमा एक शिक्षक, समुदाय आक्रोशित

इलाम, असार १६


इलामको माई नगरपालिका–२ स्थित एक विद्यालयका शिक्षकमाथि छात्रामाथि यौन दुर्व्यवहारको गम्भीर आरोप लागेपछि प्रहरी नियन्त्रणमा लिइएको छ।
५२ वर्षीय खेमराज ढकाल, हरियाली रेशम शैक्षिक सार्वजनिक गुठीका संस्थापक शिक्षक रहेको र उनीमाथि  बालिकाहरूलाई डर, धम्की र प्रलोभन देखाई यौनजन्य दुर्व्यवहार गरेको आरोप लागेको प्रहरीले जनाएको छ।
प्रहरीको तत्काल प्रतिक्रिया
घटनाको जानकारी पाउनेबित्तिकै प्रहरी चौकी लोदिया दानावारीबाट प्रहरी नायब निरीक्षक सूर्य मोक्तानको नेतृत्वमा खटिएको टोलीले ढकाललाई पक्राउ गरेको हो।
घटनापछि चौकीमा पीडित पक्षसहित करिब सयभन्दा बढी स्थानीय अभिभावक र नागरिक उपस्थित भएका थिए। उनीहरूले आरोपित शिक्षकमाथि कालोमोसो दल्नुपर्ने मागसहित विरोध प्रदर्शन गरेका थिए।
स्थिति नियन्त्रणका लागि ठूलो संख्या प्रहरी परिचालन
स्थिति तनावपूर्ण बन्दै गएपछि इलाम प्रहरीले अतिरिक्त प्रहरी बल खटाएको थियो।
लोदिया दानावारी चौकीबाट १२ जना, महमाई चौकीबाट ३ जना, सशस्त्र प्रहरी बलबाट ७ जना र जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक सञ्जीव बोगटीको नेतृत्वमा थप १० जना परिचालन गरिएको थियो।
प्रहरीले ढकाललाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ। उनलाई हाल इलाम प्रहरी कार्यालयको हिरासतमा राखिएको र बाल यौन दुव्र्यवहारसम्बन्धी कानूनी प्रक्रिया अन्तर्गत अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक एकनारायण कोइरालाले जानकारी दिए।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment