इलाममा पहिरो: सिंगो गाउँ जोखिममा, आठ घर प्रभावित

इलाम, साउन ५ ।
सांकेतिक तस्वीर AI काे सहयाेगमा 


लगातारको अविरल वर्षापछि इलामको फाकफोकथुम गाउँपालिका–१ स्थित घुरबिसे पञ्चमी ठिङ्गेपुर मझुवा बस्ती पहिरोको उच्च जोखिममा परेको छ। स्थानीय आठ घरमा पहिरोको प्रत्यक्ष असर देखिएपछि बस्ती नै संकटमा परेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ।
स्थानीय पोमानाथ पोखरेल, टीका सम्बाहाम्फे र सरलादेवी लिङदेन लिम्बूका पक्की घरहरू मुनिबाट पहिरो खसेको छ। त्यस्तै, जित निरौलाको करिब दुई रोपनी अलैँची बगान पहिरोले पुरिएको छ भने, बीरेन्द्रबहादुर तामाङको घरनजिकै समेत पहिरो खसेको छ।
हरिप्रसाद कटेलको एकतले टिनको गाईगोठमा रहेको घाँस काट्ने मेसिन पुरिएको र डम्बरबहादुर धमलाको आरन घर पूर्ण रूपमा पुरिएको छ। गणेशबहादुर लिम्बू र छविलाल लिम्बूका घरमा समेत आंशिक क्षति पुगेको छ।
घटनापछि प्रहरी चौकी आमचोकबाट खटिएको प्रहरी टोलीले अनुगमन गर्दा हालसम्म ६ घरमा बस्न मिल्ने भए पनि पुनः वर्षा भएमा थप जोखिम बढ्न सक्ने निष्कर्ष निकालेको छ।
यसैबीच, इलाम नगरपालिका–५ मान्द्रणीका पूर्ण शंकरको एकतले घरको पूर्वपट्टिको कोठा पनि पहिरोले पुरिएको छ। टिनको छानो, ढुङ्गा, माटो र काठले बनेको सो घर आंशिक रूपमा क्षति भएको हो।
प्रहरीले नागरिकहरूलाई सतर्क रहन अनुरोध गर्दै संभावित जोखिम क्षेत्रका परिवारलाई सुरक्षित स्थानमा सार्न आग्रह गरेको छ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment