इलाममा अविरल वर्षाले दुई घरमा क्षति, जनधनको ठूलो क्षति भने भएन

इलाम, ४ साउन ।


इलाम जिल्लामा गत साउन ३ गतेदेखि परेको अविरल वर्षाका कारण दुई स्थानमा पहिरो जाँदा घर क्षति भएको छ। जिल्ला प्रहरी कार्यालय इलामका अनुसार मानविय र चौपायजन्य क्षति भने नभएको पुष्टि भएको छ।
साउन ३ गते साँझ करिब ७:३० बजे इलाम नगरपालिका–५ मान्द्रणीस्थित पूर्ण शंकरको घरमाथिबाट पहिरो खस्दा टिनको छानो, ढुङ्गामाटो र काठले बनेको एकतले घरको पूर्वपट्टिको कोठा पूरै क्षति भएको छ। घटनास्थलमा तत्कालै अस्थायी प्रहरी पोष्ट बिब्ल्याटेबाट टोली खटिएको थियो।
यसैगरी, साउन ४ गते बिहान ४:०० बजे फाकफोकथुम गाउँपालिका–५ माल्टेनीस्थित झगर सिंह मुखियाको घरमाथिबाट खसेको पहिरोले एकतले घरको भित्तो भत्किएको छ। घर आंशिक रूपमा क्षति भएको र बसोबास गर्न नसकिने अवस्थामा पुगेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
उक्त घरमा बसोबास गर्दै आएका चार सदस्य अहिले आफन्त डम्बर सिंह मुखियाको घरमा सुरक्षित रूपमा बसिरहेका छन्। घटनास्थलमा प्रहरी चौकी गजुरमुखीबाट प्रहरी टोली खटिएको छ।
जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक मान बहादुर राईका अनुसार अन्य घरमा थप क्षतिको सम्भावना नरहेको र सुरक्षात्मक उपाय अपनाइएको छ। 

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment