स्यालडाँगीलाई नमुना टोल बनाउने उद्देश्य

बिर्तामोड, ७ मंसिरः बिर्तामोड नगरपालिका – स्यालडाँगी घण्टिबारी टोल गस्ती समितिले बेलुका ८ बजेदेखि ११ बजेसम्म टोल गस्ती गर्दै आएको छ । टोलमा हुने गरेका विकृति रोक्ने उद्देश्यले समिति बनाएर टोल गस्ती गर्दै आएको हो । 
स्यालडाँगी लागुऔषध र विकृतियुक्त क्षेत्रका रुपमा चिनिन थालेपछि नमुना टोल बनाउने उद्देश्यले टोल गस्ती निर्माण गरिएको बताइएको छ । टोलमा जाँड रक्सी खाने, झगडा गर्ने, बाहिरका मान्छे विभिन्न उद्देश्यले टोलमा आउने गरेकाले टोल गस्ती सुधार समिति निर्माण गरिएको बिर्तामोड –६का वडाध्यक्ष सूर्यप्रसाद कङ्दवाले बताए । उनले भने, ‘पुल बनिनु, बाटो बनिनु मात्र समृद्धि होइन समृद्धि हुनका लागि विकृति र विसंगती रहित समाज निर्माण हुनु पनि आवश्यक छ ।’ वडामा सबै जनप्रतिनिधि विचार भन्दा माथि उठेर काम गरेकाले छोटो समयमा स्यालडाँगीमा सुधार ल्याउन सकेको उनले बताए । टोलको विकासमा वडाबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता कङ्दवाले जनाएका छन् । 
गस्ती समितिका अध्यक्ष नवराज मेचेको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै विगत सात दिनदेखि टोलमा गस्ती गर्दै आएको वडा सदस्य एन्बिन्द्र खत्रीले बताए ।  इलाका प्रहरी कार्यालय बिर्तामोडसँगको सहकार्यमा गस्ती गरिएको खत्रीले जनाए । ५० जनाको टोलीले गस्ती गरेको स्यालडाँगी टोल सुधार समितिका अध्यक्ष विरेन मेचेले बताए । गस्ती टोलीले पक्राउ गरेका केही यूवालाई कारबाही गरिएको छ । 
गस्ती गर्न सहज होस् भन्ने उद्देश्यले स्थानीयबासी राजु दिवालीले चार थान वाकीटकी समेत उपलब्ध गराएका छन् । यो क्षेत्र शिक्षा, रोजगार, स्वास्थ्य लगायतका दृष्टिकोणले पछि परेकाले यहाँका युवामा कुलतमा फँसेको स्थानीयबासी कृष्ण थापाले बताए ।
कार्यक्रममा अर्जुन खवास, हरिष चौधरी, बब्लु मुर्मू लगायतले मन्तव्य राखेका थिए । स्यालडाँगी–घण्टीबारीमा ७८३ घरपरिवारको बसोबास रहेको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता