झापाको चारआलीदेखि भारतको सिलगुडीसम्म पेट्रोलियम पाइपलाइन विछ्याउने तयारी

झापा, १९ मंसिर । चालू आर्थिक वर्षको अन्त्यबाट झापाको चारआलीदेखि भारत पश्चिम बंगालको सिलिगुडीसम्म पेट्रोलियम पाइपलाइन विछ्याउने तयारी भएको छ ।

विशेषतः प्रदेश नम्बर १ मा पेट्रोलियम पदार्थको आयात सहज बनाउनका लागि झापाको चारआलीदेखि पश्चिम बंगालको सिलगुडीसम्म अन्तरदेशीय पेट्रोलियम पाइप लाइन निर्माण गर्न लागिएको हो ।

भारतीय टोलीले प्रारम्भिक रेखाङ्कनको काम सम्पन्न गरेसँगै नेपाल–भारत दोस्रो अन्तरदेशीय पेट्रोलियम पाइपलाइन विस्तारको काम सुरु गर्न तयारी थालिएको हो ।

भारत पश्चिम बंगालको सिलिगुडीदेखी झापाको चारआलीसम्म निर्माण हुन लागेको करिब ५० किलोमिटर लामो पाइपलाइन निर्माणस्थलको अवस्थाबारे नेपालको संसद्को उद्योग, श्रम तथा उपभोक्ता हित संरक्षण समितिको टोलीले समेत स्थलगत अवलोकन गरेको छ ।

टोलीले पाइपलाइन बिछ्याउने विकल्पबारे पनि जानकारी लिएको छ । पाइपलाइन विस्तारका लागि सर्भेको काम सकिएको र भण्डार गृह निर्माण गर्ने समेत परामर्शदाता चयन भइसकेको नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले बताए ।

‘पाइपलाइन र भण्डारणका परियोजनाका यही आर्थिक वर्षको अन्त्यतिरबाट कन्स्ट्रक्सनको काम सुरु हुन्छ’ पौडेलले भने, ‘कन्सेप्ट पास भइसक्यो, अहिले कन्स्ट्रक्सन मोडालिटी तयार हुँदै छ ।’

यो पाइपलाइन निर्माण भएको खण्डमा भारतसँग अन्तरदेशीय इन्धन आयात गर्ने दोस्रो पाइपलाइन हुनेछ । अमलेखगन्ज मोडालिटीबाटै निर्माण हुने पाइपलाइन करिब १६ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य आयल निगमको छ ।

करिब ५० किलोमिटर लामो पाइप लाइनको करिब ३५ किलोमिटर भाग भारतीय र १५ किलोमिटर नेपाली भू–भागमा पर्ने निगमका मेकालिकल इन्जिनियर तथा निर्देशक वीरेन्द्रकुमार गोइतले बताए ।

निगमले अहिले पाइपलाइनलाई पूर्व–पश्चिम राजमार्गको दायाँ या बायाँ भाग प्रयोग गर्ने या मेची पुल दक्षिणको जमिनबाट सोझै चारआली जोड्ने विकल्पबारे छलफल गरिरहेको छ । निगमले चारआलीमा र पाइपलाइन आयोजना र एलपीजी ग्यास भण्डार गृह निर्माण गर्न ६२ करोड ६३ लाख रुपैयाँ खर्चेर २३ बिघा तीन कट्ठा १३ धुर जग्गा खरिद गरिसकेको छ ।

आयल निगमका अनुसार चारआलीमा करिब चार हजार मेट्रिक टन क्षमताको एलपीजी ग्यासको भण्डारसमेत निर्माण गरिनेछ । यो प्लान्टको एलपीजी ग्यासले प्रदेश १ लाई ५० दिनसम्म पुग्न सक्छ । त्यस्तै यो पाइपलाइन विस्तार भएको खण्डमा प्रदेश १ र प्रदेश २ का सम्पूर्ण जिल्लालाई इन्धनको आपूर्ति सहज हुने निगमको विश्वास छ ।

न्युज२४ नेपालबाट साभार गरिएकाे 

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment