आज मुस्लिम समुदायको महान् पर्व ‘बकर इद’, काेराेनाका कारण घरमै बसेर मनाइँदै

काठमाडाैं । आज मुस्लिम समुदायले आफ्नो दोस्रो ठूलो पर्व बकर इद (इदुल जोहा) पर्व हर्षोल्लासका साथ मनाउँदैछन् । इस्लाम धर्मावलम्बीले नयाँ वर्षको रूपमा मनाउने यो पर्व नेपाल लगायत विश्वभरका मुस्लिम समुदायहरूले धूमधामका साथ मनाउने गर्छन् ।

यस दिन मुस्लिम धर्मावलम्बीहरु बिहानै स्नान गरी नजीकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्छन् । नमाज पढिसकेपछि एकापसमा अङ्कमाल गर्दै शुभकामना साटासाट गरी घरमा गएपछि कुर्वान (बलि) दिने विधान रहेकाे छ ।

यस अवसरमा दरबारमार्गस्थित नेपाली जामे मस्जिद, काश्मिरी मस्जिदलगायत देशभरका मस्जिद र इदगाहमा मुस्लिम धर्मावलम्बीको भीड लाग्छ । तर, यस वर्ष कोरोना भाइरसको सङ्क्रमण फैलन सक्ने भएकाले मुस्लिम आयोगलगायत निकायले विज्ञप्ति जारी गरी घरमै बसेर सुरक्षितरुपमा बकर इद मनाउन आह्वान गरेका छन् ।

बकर इद मुसलमान समुदायले तीन दिन मनाउने गरिन्छ । कुर्वानी गर्नुपर्ने प्रमुख विशेषता रहेको बकर इदमा मुस्लिम समुदायका लागि हज र कुर्वानी अनिवार्य मानिन्छ । इस्लामको पाँच आधारस्तम्भ आस्था, नवाज, हज, रोजा र जकातममध्ये हजलाई मुख्य मानिन्छ ।

हिजरी संवत् अनुसार १४३५ वर्षपहिले अल्लाहको आदेशमा इब्राहिमले आफ्ना छोरा इस्माएल अलेह सलामलाई बलिदान गर्न तयार भएको सम्झनामा यो पर्व मनाउन थालिएको राष्ट्रिय मुस्लिम आयोगका पूर्वअध्यक्ष निर्दोष अलीले जानकारी दिनुभयो ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment