राष्ट्र बैंकसहित १५ वटा बैंक ह्याकरको निशानामा, इमेल र फोनबाट धम्की

 

काठमाडौँ । यतिखेर बैंकिंग क्षेत्रमा ह्याकरको एउटा इमेलले आतंक नै मच्चाएको छ । नेपाल राष्ट्र बैंकसहित १५ वटा बैंकको सिस्टम ह्याक गरिसकेको र ठूलो मात्रामा पैसा चोरी गर्ने भन्दै इमेल र फोन आएपछि राष्ट्र बैंकले यसबारे अनुसन्धान थालेको छ । साथै नाम उल्लेख गरिएका बैंकहरुले रातभर कर्मचारी खटाएरै सिस्टम निगरानी बढाएका छन् ।

बुधबार एक अपरिचित इमेल आइडीबाट राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकाललाई इमेल पठाउँदै ह्याकिङको निशानामा रहेका १५ बैंकको सूची दिइएको थियाे । साथै बिहीबार (आज) बिहान ७ बजेतिर उनै ढकालको नम्बरमा एउटा अन्तर्राष्ट्रिय कल आएर अघिल्लो दिन चेतावनी दिइएका बैंकहरुको सिस्टम ह्याक गरिसकिएको भनेको छ ।

‘योर सिस्टम ह्याज बिन ह्याक्ड’ भनेर आफूलाई फोन आएको प्रवक्ता ढकालले बताएका छन् । उनले तुरून्तै आफ्नो आइटी विभागलाई जानकारी गराएको र यसबारे अनुसन्धान थालिएकाे समेत बताएका छन् ।

प्रवक्ता ढकाललाई आएको मेल र फोनमा नेपालका प्रमुख बैंकहरु नेपाल बैंक, नबिल बैंक, राष्ट्रिय वाणिज्य बैंक, एभेरेस्ट तथा हिमालयन बैंक लगायतको सिस्टम ह्याकरकाे पहुँचमा पुगिसकेकाे र अबको २४ घण्टाभित्र आनलाइन तथा अफलाइन दुवै प्रविधिबाट पैसा चोरी गर्ने धम्की दिइएको छ । साथै यो दक्षिण एसियाकै ठूलो बैंकिंग ह्याक हुने र यस पत्रलाई मजाक नठान्न पनि इमेलमा लेखिएको छ ।

इमेल आएदेखि नै सरोकारवाला सबैलाई जानकारी गराएर सतर्क पारिएको प्रवक्ता ढकालले बताएका छन् । इमेलको व्यहोरा सबैतिर पुगेलगत्तै राष्ट्र बैंकलगायत सबै बैंक तथा वित्तीय संस्था सतर्क बनेका छन् । यसबारे आतंकित नहुन तर सतर्कता भने अपनाउन राष्ट्र बैंकले सबै बैंक तथा वित्तीय संस्थालाई सूचित गरिसकेको छ ।

बैंकहरुले समेत उक्त धम्कीपूर्ण मेलपछि आफ्नो सबै प्रणाली परीक्षण गरिसकेका छन् भने उच्च सतर्कता अपनाइएको छ । अहिलेसम्म राष्ट्र बैंककाे प्रणालीमा भने कुनै समस्या नदेखिएकाे बताइएकाे छ, इद्यपि यसबारे निरीक्षण जारी राखिएकाे छ ।

हेर्नुस् इमेल-


प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment