कार्यकर्ता तान्न ओली-नेपाल होडबाजी

काठमाडौँ । पार्टी विभाजनपछि एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेता–कार्यकर्ता आफूतिर तान्न होडबाजी गरिरहेका छन् ।

एमाले अध्यक्ष ओलीले १० बुँदे सहमति कार्यान्वयनमा लैजाने र पार्टी संगठनका खाली पदमा विगतमा नेपाल समूहमा लागेका तर हाल एमालेमै रहेका नेता–कार्यकर्तालाई स्थान दिने बताइरहेका छन् भने नेपालले एमालेमा रहँदा अन्यायमात्रै हुने भएकाले नवगठित नेकपा एस मा आउन आग्रह गरिरहेका छन्।

ओलीले केन्द्रीय समितिमा रिक्त ५५ सदस्यमा तत्कालीन वरिष्ठ नेता नेपाल पक्षका नेताहरूमध्येबाटै राख्ने भएका छन्। २०७५ जेठ २ अघिको २०३ सदस्यीय केन्द्रीय कमिटीका ५५ जना नेकपा एस मा लागेपछि ती पद रिक्त भएका हुन् ।

खाली स्थानमा विगतमा नेपाल खेमामा रहेका नेताहरूलाई मनोनयन गरिने भएपछि धेरै नेता नेकपा एस मा नजाने आकलन गरिएको छ। रिक्त ५५ केन्द्रीय सदस्यको सिफारिस नेपाललाई छाडेर एमालेमा रहेका १० स्थायी कमिटी सदस्यले गर्नेछन्।

‘पार्टीमा आएको समस्या हल गर्ने सम्बन्धमा सबै नेता लागेका छन्, समस्या हुँदैन। अहिलेको अवस्थामा रिक्त पदमा कसरी मनोनयन गर्ने भन्ने सम्बन्धमा छलफल जारी छ’, एमाले स्रोतले भन्यो। यो खबर आजको नागरिक दैनिकमा छापिएको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment