इच्छाराज तामाङका वकिलले भने- ‘इच्छाराजलाई थुन्ने हो भने निक्षेपकर्तालाई पनि थुन्नुपर्यो’


काठमाडौं । थुनामा रहेका सिभिल सहकारीका तत्कालीन अध्यक्ष इच्छाराज तामाङका तर्फबाट बहस गर्ने अधिवक्ता रुद्रप्रसाद पोखरेलले इच्छाराज तामाङलाई मात्र कारागारमा थुन्न नहुने बताएका छन् ।

सोमबार थुन छेक बहसमा अधिवक्ता पोखरेलले इच्छाराजलाई मात्र थुन्न नमिल्ने यदि थुन्ने नै हो भने इच्छाराजसँगै निक्षेपकर्तालाई पनि थुन्नुपर्ने बताए ।

अधिवक्ता पोखरेलले कतिपय निक्षेपकर्ताले ८० प्रतिशतसम्म बिना धितो ऋण लिएको र उनीहरुलाई पनि पुर्पक्ष थुनामा राखेर अनुसन्धान गर्न माग गरेका छन् । उनले बहसमा भनेका छन्, ‘यदि ऋण लिएकै आधारमा मेरा क्लाइन्ट (इच्छाराज तामाङ)लाई थुनामा पठाउने हो भने त कतिपय निक्षेपकर्ताले पनि सहकारीबाट ऋण लिएका छन् । उनीहरुलाई पनि त थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्नुपर्यो नि । उनीहरुले पनि आफ्नो निक्षेपको ८० प्रतिशतसम्म बिना धितो ऋण लिएका छन् ।’

सुरु भएको थुनछेक बहसको पहिलो दिन अधिवक्ता पोखरेल एक्लैले ४ घण्टा बहस गरेका थिए ।

बिहान ११ बजेदेखि सुरु भएको बहस १ बजेसम्म चलेको थियो । त्यसपछि एक घन्टा खाजा खाने समय छुट्याइएको थियो । र, २ बजेदेखि ४ बजेसम्म पुनः पोखरेलले बहस गरेका थिए ।

त्यसपछिको बहसमा अधिवक्ता पोखरेलले इच्छाराजले निक्षेपकर्ताको रकम ठगी नगरेर समयमै ऋण चुक्ता गर्नमात्रै नसकेको बताएका छन् । उनका अनुसार यसकारण थुना बाहिरबाटै मुद्दाको पुर्पक्ष गर्न पाउनुपर्छ ।

नेपाल बार एसोसिएसनका कोषाध्यक्ष समेत रहेका पोखरेलले इच्छाराज तामाङविरुद्ध ल्याइएको मुद्दा संगठित अपराध वा ठगीको कसुर नभएको पनि बहसमा भने । उनका अनुसार सहकारी ऐन अन्तर्गत काम नभएकाले बैंकिङ कसुरजस्तै सहकारी कसुर मात्रै भएको हो ।

बहसमा पोखरेलले सिभिल सहकारीका तत्कालीन अध्यक्ष तामाङले बिना धितो ८ अर्बको ऋण लिएको कुरालाई लिएर मुद्दा दायर गर्ने हो भने निक्षेप राखेर सोही निक्षेपको आधारमा बिना धितो ऋण लिने निक्षेपकर्ताविरुद्ध पनि मुद्दा दायर हुनुपर्ने माग गरेका छन् । यसकारण निक्षेपकर्ताहरुलाई पनि थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्नुपर्ने पोखरेलले बहसमा भनेका छन् ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment