को हुन इलाम सूर्योदय नगरपालिका मंगलदास गुरुजी ?


सूर्योदय नगरपालिका धर्मगुरु मंगलदास जन्मिएको स्थानका रुपमा पनि परिचत छ । गुरु फाल्गुणानन्द, गुरु गोरखनाथ, गुरु भवन्तनाथ, सन्त ज्ञानदिलदास, वालागुरु षडानन्द जस्तै मंगलदासको पनि नेपाल–भारत लगायत प्रणामी धर्ममा विश्वास राख्नेहरुका एक महागुरु थिए । 
विसौं सताव्दीको उत्तरार्धमा पूर्वी नेपालको इलाम जिल्ला सूर्योदय नगरपालिका मेहेलबोटेमा जन्मेका एक सन्त ‘गुरुजी मंगलदास’ (वि.सं.१९५३—२०४२) नेपाली समाजमा वन्दनीय गुरुका रुपमा स्थापित व्यक्तित्व हुन ।
भारतका विभिन्न स्थानमा अध्ययन, साधना र हरिद्वारमा कठोर तपस्याको फलस्वरुप दिव्यज्ञान प्राप्ति पछि मंगलदासले आजिवन व्रह्मचर्यमा रहेर नेपाली समाजमा व्यप्त कुरिति, जातीय तथा लैंगिक, भेदभाव ग्रस्त समाजलाई अन्धकारबाट उज्यालो तर्फ लैजाने कार्यमा जीवन समर्पण गरेका थिए ।
 गुरुकै सम्झनामा मेहेलबोटेमा भब्य मन्दिर निर्माण गरिएको छ । जुन धार्मिक पर्यटनका दृष्टिले अत्यन्तै महत्वपूर्ण मानिएको छ ।वि सं.१९९२ मा नेपालमा आई उनले काठमाण्डौ लगायत विभिन्न ठाउंमा समाज सुधारका कार्य सुरु गर्ने प्रयत्न गरेका थिए । 
तर उक्त समयमा रुढिवाद र भेदभावकारी सामाजिक व्यवस्थालाई धर्मका रुपमा मानी शासन गर्ने राणा शासक तथा स्थानीय धार्मिक नेतृत्वको विरोधले गर्दा उनले पूर्वोत्तर भारतको कालिम्पोङ्गमा आफ्नो मूकाम कायम गरी नेपाल, भारत तथा भूटानका सयौं स्थानमा, अनाथालय, मन्दिर, गौसाला, विद्यालय, महाविद्यालय, संस्कृत पाठशाला, औषधालय आदि स्थापना गर्दै सामाजिक—सांस्कृतिक परिवर्तनका अभियान सञ्चालन गरेका थिए ।
उच्च ज्ञान , निस्कलंक चरित्र, साधना र तपोवलबाट खारिएको व्यक्तित्व हुंदाहुंदै पनि आफूलाई एउटा साधारण सेवकको रुपमा उभ्याउदै समाज सेवामा समर्पित हुने गुणले नै उनलाई सबैको गुरुजीका रुपमा स्थापित गरेको छ । 
समृद्ध समाजको निर्माणमा महिला शिक्षाको महत्वलाई हृदयंगम गर्दै मंगलदासकै अगुवाइमा नेपाली समाजका विपन्न परिवारहरुर्लाइ लक्षित गरी वि.सं.२०१७ मा कालिम्पोङ्गमा आवासीय वालिका आश्रम र विद्यालयको स्थापना गरिएको हो ।
सन्त मंगलदासले मानव समाजमा हिंसा, विभेद, हेपाई बढाउने संस्कार र प्रचलन हटाउदै शान्ति, समानता र सम्मानको संस्कार प्रवद्र्धन गर्न वाल्यावस्थादेखिनै सैद्धान्तिक र व्यवहारिक ज्ञान दिने हेतुले पूर्वी नेपालका गाउं गाउंमा सामुदायिक संस्था स्थापना गरी साप्ताहिक, मासिक भेलाहरु आयोजना गर्ने कार्य सुरु गरिए । 
यस्ता भेलाको माध्यमबाट अध्यात्मिक ज्ञानका साथै व्यक्तित्व विकासमा लागि चाहिने नैतिक शिक्षा, बक्तृत्वकलाको विकास, समाजसेवाको भावनाको विकास गर्ने चलनको सुरुवात गरियो । यसरी सुरु गरिएको चलन पूर्वी नेपालको झापा, मोरङ, इलामका साथै भारतका सयौ स्थानमा अहिले पनि निरन्तर चलिरहेको छन् ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment