सडकको दुरावस्था र सवारीसाधनको चापः दुर्घटनाको कारक


बिर्तामोड।  ३ चैत्र : सडकको दुरावस्था तथा सवारीसाधनको चाप दिनप्रतिदिन बढेसँगै पछिल्लो समय दुर्घटनाको संख्या बढ्दै गएको छ ।
ट्राफिक प्रहरीले दुर्घटना न्यूनीकरणका लागि विभिन्न कार्यक्रम सञ्चालन गरे पनि सडकको दुरावस्था, सवारीसाधनको चाप बर्षेनि बढ्नु, चालकको लापरवाही लगायतका विभिन्न कारणले दुर्घटनाको संख्या बढ्दै गएको प्रहरीको तथ्यांकमा उल्लेख गरेको छ ।

दिनप्रतिदिन बढ्दै गएको सवारी दुर्घटनाका कारण नेपालका कतिपय सडक ‘डेथ–जोन’ बन्दै गएका छन् । झापामा पनि कति पय स्थानमा दुर्घटना ग्रस्त क्षेत्रका रुपमा विभाजन गरेर ट्राफिक प्रहरीले सचेतना मुलक बोर्डहरु राखेको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले दुर्घटना न्यूनीकरणका लागि ट्राफिक सचेतनामूलक कार्यक्रम सञ्चालन गरे पनि चालकको लापरवाही तथा सडकको दुरावस्थाका कारण दुर्घटना न्यूनीकरण प्रभावकारी बन्न नसकेको ट्राफिक प्रहरी निरीक्षक निशेष चापागाईले बताए । उनले भने– ‘वर्षौं अगाडि निर्माण भएको सडकको अवस्था जिर्ण बन्दै गएको छ, वर्षेनि सवारीको चाप थपिँदै जान्छ, यसले वर्षेनि मानिसको मृत्युदर बढिरहेको छ ।’
सवारी दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीले समुदाय स्तर तथा विद्यालय स्तरसम्म पुगेर ट्राफिक सचेतना सम्बन्धी कार्यक्रम सञ्चालन गरिरहेको ट्राफिक प्रहरी निरीक्षक चापागाईंको भनाइ छ । सवारी दुर्घटनामा दुई पाङ््ग्रे सवारीको दुर्घटना धेरै हुने गरेको जनाइएको छ । सवारी दुर्घटना कै कारण पछिल्लो तीन वर्षमा झापामा दुई सय चालिस जनाले ज्यान गुमाएका छन् ।
आर्थिक वर्ष २०७५/०७६ मा तीन बालबालिका नौ जना महिलासहित ७३ जना पुरुष गरी ८५ जनाले ज्यान गुमाए भने आर्थिक वर्ष २०७७६/०७७ मा चार बालबालिका १० जना महिलासहित ४८ जना पुरुषले ज्यान गुमाएका छन् । त्यस्तै गत आर्थिक वर्ष २०७७/०७८ मा मात्रै ९३ जनाले सवारी दुर्घटनाकै कारण ज्यान गुमाउनुपरेको छ । गत आर्थिक वर्षमा छ जना बालबालिकासहित १२ जना महिला र ७५ जना पुरुषले दुर्घटनामा ज्यान गुमाएको ट्राफिक प्रहरीको तथ्याकमा उल्लेख गरिएको छ ।
झापामा चालू आर्थिक वर्षको आठ महिनामा मात्रै ८२ जनाले सवारी दुर्घटनाकै कारण ज्यान गुमाइसकेका छन् । चार बालबालिकासहित १२ जना महिला र ६६ जना पुरुषले सवारी दुर्घटनाकै कारण ज्यान गुमाउनुपरेको हो । चालू आर्थिक वर्ष २०७८/०७९ मा भएका दुर्घटनामा एक सय ६९ जना गम्भीर घाइते भएका छन् । आठ महिनामा चार सय १२ वटा सवारी दुर्घटनामा परेका हुन् । जसमध्ये सबैभन्दा धेरै मोटरसाइकल दुर्घटना रहेको ट्राफिक प्रहरी निरीक्षक चापागाईले बताए । सवारी दुर्घटना बढ्नु्मा मुख्य कारण सडकको दुरावस्था र चालकको लापरवाही रहेको प्रहरीले जनाएको छ ।
वर्षेनि थपिन्छन् सवारी चालक
झापासहित पूर्वमा वर्षेनि धेरैले सवारी चालक अनुमितपत्र लिने गरेको यातायात व्यवस्था कार्यालय झापाले जनाएको छ । आर्थिक वर्ष २०७६/०७७ मा १४ हजार सात सय ८० जनाले सवारी चालक अनुमति पत्र प्राप्त गरेका छन् ।
त्यस्तै आर्थिक वर्ष ०७७/०७८ मा छ हजार छ सय ६८ जनाले सवारी चालक अनुमति पत्र प्राप्त गरे भने चालू आर्थिक वर्ष २०७८/०७९ को माघ मसान्तसम्म नौ हजार छ सय ५५ जनाले सवारी चालक अनुमति पत्र प्राप्त गरिसकेको यातायात व्यवस्था कार्यालय झापाका प्रमुख हरि लामिछानेले जानकारी दिए ।
उनले सवारी चालक अनुमति पत्रका सबै मापदण्ड पूरा गरेपछि अनुमति प्राप्त गर्ने बताएका छन् । ट्राफिक प्रहरीले सवारी चालक अनुमति पत्र (लाइसेन्स)मा कडाइ गरेसँगै सवारी चालक अनुमति पत्र बनाउनेको संख्या बढेको हो ।
सुरक्षा निकायसँग छलफल
सवारी दुर्घटना न्यूनीकरणका लागि जिल्ला प्रशासन कार्यालय झापाले बुधबार सुरक्षा निकायका प्रमुखसँग छलफल गरेको छ । दुर्घटना न्यूनीकरणका लागि कसले के गर्न सकिन्छ र कसरी सवारी दुर्घटना न्यूनीकरण गर्न सकिन्छ भन्ने विषयमा छलफल भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख विश्वमणि पोखरेलले जानकारी दिए ।
प्रमुख जिल्ला अधिकारी छविलाल रिजालको अध्यक्षतामा भएको बैठकमा सुरक्षा निकायका प्रमुखहरुले सवारी दुर्घटनाका लागि अपनाउन सकिने सावधानी तथा सम्भावित सम्भावनाका विषयमा प्रस्तावहरु पेश गरेको प्रहरी उपरीक्षक पोखरेलले बताए । उनले भने सवारी दुर्घटना न्यूनीकरण गर्नु हामी सबैको साझा दायित्व भएकाले सबैको सामुहिक प्रयास आवश्यक छ ।
ट्राफिक भवन उद्घाटनको तयारीमा
झापाको बिर्तामोड–५ मा निर्माणाधीन अवस्थामा रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाको भवन निर्माण सम्पन्न भइसकेको छ । छ कठ्ठा क्षेत्रफलमा फैलिएको ट्राफिक भवन सुविधासम्पन्न भवनको रुपमा रहेको प्रहरी उपरीक्षक पोखरेलले बताए ।
प्रहरी निरीक्षकको क्वाटर, ट्राफिक प्रहरीका ब्यारेक, मेस भवन, शौचालयसहितको सुविधासम्पन्न भवन निर्माणको अन्तिम चरणमा पुगेको हो । लामो समय जिर्ण भवनमा ट्राफिक प्रहरी बस्न बाँध्य थिए । स्थानीय तह, प्रदेश सरकार, संघीय सरकार, विभिन्न राजनीतिक दल, व्यवसायी, सामाजिक संघ–संस्था, सबैको सहयोगमा भवन निर्माण अन्तिम चरणमा पुगेको ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।
ट्राफिक नियम मान्दैनन् धेरैले
र्दुघटना न्यूनिकरणका लागि ट्राफिक प्रहरीले सचेतना मुलक कार्यक्रम सञ्चालन गरे पनि शिक्षितले नै नियम उल्लघन गर्ने गरेको पाइएको छ । ट्राफिक प्रहरीको आँखा छलेर सवारी हुँइक्याउदा सवारी दुर्घटना हुने गरेको छ । तिब्र गतिका कारण कति पयभएका सवारी दुर्घटनामा घटना स्थलमै मृत्यु हुने अवस्था पनि भयावह बन्दै गएको छ ।
ट्राफिक प्रहरीले सवारी नियम उल्लघन गर्नेलाई कारबाही तिब्र बनाएसंगै गत आर्थिक वर्ष २०७७/२०७८ मा ५३ हजार एक सवारीलाई कारबार्ही गर्दा तीन करोड ६९ लाख ५३ हजार पाँच सय रुपैंया राजश्व संकलन गर्न सफल भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयको तथ्याङ्कमा उल्लेख गरिएको छ ।
त्यस्तै चालू आर्थिक वर्षको आठ महिनामा ३० हजार एक सय सवारीलाई कारबार्हीको दायरामा ल्याइएको प्रहरी निरीक्षक चापागाँईले जानकारी दिए । ट्राफिक प्रहरी सवारी नियम उल्लघन गर्नेहरुबाट हालसम्म दुई करोड ११ लाख ५० हजार राजश्व संकलन गरिसकेको छ । मादक पदार्थ सेवान गर्नेहरुको संख्या बढ्दै जाँदा सवारी दुर्घटना पनि बढेको बताइएको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment