इलाम नगरपालिका र रत्नकुमार वान्तवा बहुप्राविधिक शिक्षालय साँखेजुङबीच प्राविधिक बिषय अध्ययन गर्न सम्झौता

२२ श्रावण २०७९, आईतवार


इलाम । प्राविधिक विषय अध्ययनका लागि इलाम नगरपालिका र रत्नकुमार वान्तवा बहुप्राविधिक शिक्षालयबीच तीनवर्षे डिप्लोमा तहमा सञ्चालित कार्यक्रम अध्ययनका लागि सम्झौता भएको छ । यसमा पशु विज्ञान, बाली विज्ञान, वन विज्ञान, सिभिल इन्जिनियरिङ र फार्मेसी कार्यक्रमका कक्षाहरु सञ्चालन हुनेछन् ।
इलाम नगरवासी प्राविधिक विषय अध्ययन गरेर यहीँ रोजगारीको अवसर सिर्जना होस् भनेर प्राविधिक विषय अध्ययनका लागि कार्यक्रम अगाडि बढाइएको नगरपालिकाले जनाएको छ ।
चालु आव २०७९\८० मा २४ प्रशिक्षार्थी नगरपालिकाबाट अनुदान सहयोगबाट छात्रवृत्ति प्रदान गर्नका लागि सम्झौता भएको हो । नगरप्रमुख केदार थापा र शिक्षालयका कार्यालय प्रमुख दीपक खनालले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको छ ।
नगरपालिकाभित्र बसोबास गर्ने जेहेन्दार साथै आर्थिक अवस्था कमजोर, विपन्न, दलित तथा महिलाहरुलाई पशु विज्ञानमा पाँच, बाली विज्ञानमा पाँच, वन विज्ञानमा पाँच, सिभिल इन्जिनियरिङमा पाँच र फार्मेसीमा चारजना प्रशिक्षार्थीहरुलाई छात्रवृत्ति प्रदान गरिने नगरप्रमुख थापाले बताउनुभयो ।
उहाँले क्षमता भएर पनि आर्थिक रुपमा पछि परेका परिवारका सदस्यहरुले प्राविधिक विषय अध्ययन गर्न नपाएको जनाउँदै यस्तो कार्यक्रम अगाडि सारिएको बताउनुभयो ।
यो कार्यक्रमले विपन्न र पिछडिएका समुदायका छात्रछात्रालाई राहत मिल्ने बताइएको छ ।
इलामको रत्नकुमार वान्तवा पोलिटेक्निक इन्स्टिच्युटमा हाल देशभरिका विद्यार्थी प्राविधिक शिक्षा लिइरहेका छन् ।
रोजगारीको सुनिश्चितता हुने भएकाले पनि पछिल्लो समय प्राविधिक विषयमा धेरै विद्यार्थीहरुको रुचि बढ्न थालेको पाइएको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment