झगडा छुटाउन गएका दुई प्रहरीमाथि ढुंगामुढा, घाइते प्रहरीलाई काठमाडौं रिफर


रुकुम पश्चिममा झगडा छुटाउन गएका दुई प्रहरीमाथि रक्सी सेवन गरेकाहरूले ढुंगामुढा गरेका छन्।  
बाँफिकोट गाउँपालिका–३ स्यार्पु गाउँमा स्थानीयको झगडा छुटाउन गएका इलाका प्रहरी कार्यालय बाँफिकोटमा कार्यरत प्रहरी जवान महेन्द्रबहादुर शाही र प्रहरी चौकी मग्मामा दरबन्दी भई बाँफिकोटमा कार्यरत हिमराज खड्का घाइते भएका छन्। 
उनीहरूको टाउको, अनुहारका साथै शरीरका विभिन्न भागमा चोटपटक लागेको छ। घाइतेमध्ये शाहीको ढाडमा र खड्काको टाउकोमा बढी चोट पटक लागेको छ। 
जाँड खाएर मातेका स्थानीय युवाहरूले प्रहरी जवान शाही र खड्कामाथि कुटपिटका साथै ढुंगामुढासमेत गरेको जिल्ला प्रहरी प्रवक्ता प्रहरी निरीक्षक धर्मेन्द्र खड्काले सेतोपाटीलाई बताए। 
घाइते प्रहरीलाई सल्लेस्थित रुकुम जिल्ला अस्पतालमा प्रारम्भिक उपाचार पछि थप उपचारको लागि लुम्बिनी प्रदाशिक अस्पताल नेपालगञ्जका लागि रिफर गरिएको थियो। त्यहाँ पनि उपचार सम्भव नभएपछि घाइते प्रहरीहरू शाही र खड्कालाई थप उपचारका लागि सोमबार बिहान काठमाडौंका रिफर गरिएको प्रहरी प्रवक्ता खड्काले जानकारी दिए। 
प्रहरी निरीक्षक खड्काका अनुसार एक जना युवकमाथि घेरा हालेर कुटपिट भइरहेको स्थानीयको खबरका आधारमा झगडा छुटाउन भनेर प्रहरी जवान शाही र खड्कालाई खटाइएको थियो। तर, त्यहाँ पुग्नासाथ मदिराले मातेका व्यक्तिहरूले एकाएक प्रहरी जवान शाही र खड्कामाथि ढुंगामुढा गर्दै कुटपिट थालेको प्रहरी निरीक्षक खड्काले बताए। 
स्थानीयको झगडा छुटाउन गएका प्रहरी जवान शाही र खड्कामाथि ढुंगामुढा गरेको आरोपमा जिल्लाकै बाँफिकोट ४ का २८ वर्षीय लक्ष्मण विक, सोही ठाउँका २२ वर्षीय जनक खनाल, २२ वर्षीय कैलाश पुरी, बाँफिकोट – ६ का अन्दाजी १५ वर्षीय एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरी निरीक्षक खड्काले बताए। 
प्रहरीका अनुसार घटनामा संलग्न अन्य युवाहरूको खोजी कार्य जारी छ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment