बिर्तामोड–अर्जुनधारा सडक खण्ड स्थानीयद्वारा बन्द, सङ्घर्ष समिति गठन

२०८० माघ २३ गते , मंगलबार


बिर्तामोड । बिर्तामोड–अर्जुनधारा सडक खण्ड स्थानीयले बन्द गरेका छन् । निर्माण कार्य शुरु गरेको लामो समयसम्म पनि सडक निर्माण कार्य सम्पन्न नभएको र धुलाम्मे सडकका कारण मानव स्वास्थ्यमा प्रतिकूल असर परेको भन्दै स्थानीयले सवारी आवागमन ठप्प पारेका हुन् । शनिवारबाट स्थानीयले सो सडक खण्डमा कुनै पनि सवारी सञ्चालन गर्न दिएका छैनन् ।  

पुलचोकबाट कप्तानवारीसम्म ढाट लगाएर स्थानीयले सवारी आवागमन रोकेका हुन् । उनीहरूले सो सडक भएर आवतजावत गर्ने भित्री सडकमा समेत ढाट लगाएर सडक बन्द गरेका छन् । लामो समय बितिसक्दा पनि सडक निर्माणको काम अघि नबढेको र निर्माण व्यवसायीले सडक अलपत्र पारेको भन्दै सडक बन्द गर्न सरोकार समिति गठन गर्दै सडक अवरुद्ध पारिएको स्थानीय गणेश इङ्नामले जानकारी दिए । वडा र नगरपालिकासँग पटक–पटकको छलफलपछि स्थानीयले शिव आचार्यको संयोजकत्वमा १३ सदस्यीय समिति गठन गरेका थिए । सो समितिले सडक बन्ने र बजेट सुनिश्चितता नभएसम्म सडक अवरुद्ध गर्ने जनाएको छ ।


भ्याटसहित १५ करोड ८२ लाख ७७ हजारमा प्रवीण– मैनाचुली–शान्ति जेभीले २०७९ जेठ ९ गते दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी सम्झौता गरेको थियो । तर, निर्माण शुरु भएको २० महिना बितिसक्दा समेत निर्माण कम्पनीले १५ प्रतिशत मात्रै काम सम्पन्न गरेको सडक डिभिजन कार्यालय दमकले जनाएको छ । सडक निर्माणका लागि प्रवीण–मैनाचुली–शान्ति जेभीले काम गर्न सम्झौता गरेको थियो । तर, सो कम्पनीले समयमा भुक्तानी नपाएर सडक निर्माण कार्य अघि बढाउन नसकेको सडक डिभिजन कार्यालय दमकका इन्जिनियर उज्ज्वल खतिवडाले बताए । भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयबाट प्राप्त बजेटले उक्त सडक २०८१ जेठमा निर्माण गरिसक्नुपर्ने सम्झौतामा उल्लेख छ । त्यसो त सो सडक निर्माण शुरु गरेदेखि नै निर्माण व्यवसायीसँग स्थानीय सन्तुष्ट छैनन् । शुरुका दिनमा प्रवीण– मैनाचुली–शान्ति जेभीले आयोजनास्थलमा सूचना पाटी समेत नराखी सो सडक निर्माण कार्य अघि बढाएको थियो । स्थानीयले यसअघि नै सडक निर्माणको पारदर्शितामा प्रश्न उठाएका थिए ।

सूचना पाटी निर्माणका लागि छुट्टै बजेट व्यवस्थापन भए पनि निर्माण कम्पनीले सूचना पाटी नराखेकाले आयोजना परिसरमा सबैले देख्ने गरी सूचना पाटी राख्नुपर्ने इन्जिनियर खतिवडाले बताए । बिर्तामोडको टाटा शोरुमबाट शुरु हुने सो सडक कप्तानबारी हुँदै सालबारी झिलसम्म ६ दशमलव १ किलोमिटरको निर्माण हुने भए पनि सम्झौता भएको २० महिना बितिसक्दा २० मिटरको ड्रेन मात्र निर्माण भएको छ ।

सङ्घर्ष समितिमा आचार्य

सडक निर्माणमा ढिलाइ भएसँगै त्यस क्षेत्रका दुई सयभन्दा बढी सर्वसाधारणको उपस्थितिमा शिवकुमार आचार्यको संयोजकत्वमा सङ्घर्ष समिति गठन गर्दै निर्माण कार्यलाई अघि बढाउन दबाब दिने भएको छ । १३ सदस्यीय समितिको उपसंयोजकमा आश्विन काफ्ले, जितबहादुर मगर, सचिवमा दुर्गा विक रहेका छन् । त्यस्तै सदस्यहरूमा रितु श्रेष्ठ, अतुल चुँडाल, सनम राजवंशी, खगेन्द्र आचार्य, रत्नकुमारी तामाङ, सरोज मुखिया, कुमार सिलवाल र प्रभु राजवंशी रहेका छन् ।

यसैगरी किरण राईको संयोजकत्वमा वार्ता टोली समेत सोही भेलाले गठन गरेको छ । जसको सहसंयोजकमा शिवकुमार आचार्य, उपसंयोजकमा खेमकुमार पौडेल रहेका छन् भने सदस्यमा नरकुमार गुरुङ, वृखबहादुर श्रेष्ठ, कमल आचार्य, अश्वीन काफ्ले भगीया दनुवार, रवीन श्रेष्ठ र हरि कार्की रहेका छन् । सडक संघर्षका लागि भन्दै यूथ फोर्स समेत तयार गरिएको छ । युवा समूह नाम दिएर गठन गरिएको समितिको संयोजकमा रितु श्रेष्ठ रहेका छन् भने समितिको सदस्यहरूमा अतुल चुँडाल, लव श्रेष्ठ, सुजन मिश्र, अमित राई, सुजन चौधरी, गणेश घिमिरे, तीर्थराज मिश्र, सनम राजवंशी, दीपक चापागाईँ, सुमन सेढाई, मुकेश सुवेदी, जीवन पनेरु रहेका छन् ।

त्यस्तै सदस्यमै बिशाह सेढाई, तिलक रिजाल, रवि श्रेष्ठ, विनोद मगर, गोविन्द भट्टराई, धनकुमार राई, विदुर कार्की, महावीर दनुवार, कृष्ण घतानी, कुमार कार्की, प्रवीण रिजाल, दिलीप साम्पाङ, युवराज श्रेष्ठ र आशिष् राई रहेका छन् ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment