- आज काठमाडौंमा नारायणहिटी दरबार हत्याकाण्डको २३ वर्ष पूरा भयो।
- २०५८ जेठ १९ गते राजदरबारभित्र तत्कालीन राजा वीरेन्द्रको वंश विनास भएको थियो।
- हत्याकाण्डको छानबिन र अनुसन्धान अझै पूर्ण रूपमा भएको छैन।
१९ जेठ, काठमाडौं । नारायणहिटी दरबार हत्याकाण्ड भएको आज २३ वर्ष पूरा भएको छ । २०५८ जेठ १९ गते साँझ नारायणहिटी राजदरवारभित्र तत्कालीन राजा वीरेन्द्र विरविक्रम शाहको वंश विनास भएको थियो ।राजदरबार हत्याकाण्डमा तत्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दीपेन्द्र, राजकुमार निराजन, राजकुमारी श्रुती, राजकुमार धिरेन्द्र, राजकुमारी जयन्ती, राजकुमारी शान्ती, राजकुमारी शारदा, कुमार खड्ग लगायतको हत्या भएको थियो ।
दीपेन्द्रले परिवारका सदस्यहरुलाई गोलीले उडाएको र पछि आफैंलाई गोली हानेको भनेर छानविन प्रतिवेदन सार्वजनिक गरिए पनि नेपाली नागरिकहरुले त्यसको विश्वास गरेका छैनन् ।
उच्च सुरक्षा घेराभित्र रहेको राजदरबारमा भएको हत्याकाण्ड अहिले पनि रहस्यकै गर्भमा छ । पारिवारिक जमघटका बेला भएको जेठ १९ को त्यो कहालीलाग्दो घटनाले अहिले पनि हरेक नेपालीलाई झस्काउने गर्छ । राजतन्त्र हटेर मुलुकमा गणतन्त्र स्थापना भइसके पनि तत्कालीन राजपरिवारको वंश नाश भएको जेठ १९ को नमिठो छाप अहिले पनि नेपालीको मनबाट मेटिएको छैन ।
उदार राजाको छवि बनाएका वीरेन्द्रको वंश नाश भएपछि नेपालमा राजतन्त्र धेरै समय टिक्न सकेन । राजा वीरेन्द्रपछि उनका माइला भाइ ज्ञानेन्द्र शाह राजगद्दीमा आसीन भए । प्रत्यक्ष शासनसत्ता हातमा लिएर तानाशाही बन्न खोज्दा नेपालका राजनीतिक दलहरुले २०६२/६३ मा दोस्रो जनआन्दोलन चर्काएर र नेपाललाई गणतान्त्रिक मुलुक घोषणा गरेर राजसंस्था अन्त्य गरेका थिए ।
नारायणहिटी दरबार हत्याकाण्डको ७ वर्षपछि अर्थात् २०६५ जेठ १५ गते मुलुकबाट राजतन्त्र समाप्ति र गणतन्त्र स्थापनाको घोषणा भएको थियो । ज्ञानेन्द्र शाह नै नेपालको इतिहासमा अन्तिम राजा बने । अहिले उनै ज्ञानेन्द्र वा ज्ञानेन्द्रका सन्तानलाई राजगद्दीमा फर्काउनुपर्ने मागसहित राजावादीहरुले आन्दोलन गर्दै आएका छन् ।
भएन स्वतन्त्र अनुसन्धान
दरबार हत्याकाण्डपछि तत्कालीन प्रधानन्यायाधीश केशव प्रसाद उपाध्याय संयोजक र तत्कालीन सभामुख तारानाथ रानाभाट सदस्य रहेको संयोजकत्वमा गठित उच्चस्तरीय छानबिन समिति गठन गरिएको थियो । जेठ १९ को घटनाका लागि युवराज दीपेन्द्रलाई दोषी देखाइएको उक्त प्रतिवेदन रानाभाटले सार्वजनिक गरेका थिए ।
त्यसपछि यस घटनाको कुनै स्वतन्त्र अनुसन्धान भएको छैन ।
तत्कालीन माओवादी अध्यक्ष प्रचण्ड नेतृत्वको दोस्रो मन्त्रिपरिषदमा गृहमन्त्रालयको जिम्मेवारी सम्हालेका विमलेन्द्र निधिले दरबार हत्याकाण्डको छानबिन गर्नुपर्ने कुरा उठाएका थिए । राजगद्दीबाट फालिएपछि पनि ज्ञानेन्द्रले राजनीतिक वक्तव्यवाजी गर्न नछाडेको प्रतिशोधमा निधिले छानबिनको कुरा उठाए पनि त्यो कुरा अगाडि बढेको छैन ।
अनेक आशंका र अनुमान गरिए पनि नारायणहिटी दरबार हत्याकाण्ड अहिले पनि रहस्यमय नै छ ।
0 comments:
Post a Comment