जेनजी आन्दोलनमा तोडफोड–आगजनी : झापा, मोरङ र सुनसरीबाट ८९ जना नियन्त्रणमा

मंसिर १७, २०८२


झापा, जेनजी आन्दोलनका क्रममा भएका तोडफोड र आगजनीका घटनामा संलग्न मध्ये झापा, मोरङ र सुनसरीका ८९ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
प्रहरीका अनुसार पक्राउ पर्नेमा झापाबाट ४६, मोरङबाट ३९ र सुनसरीबाट ४ जना रहेका छन्।
झापामा पक्राउ परेकामध्ये १३ जनालाई जिल्ला अदालतको आदेशमा पुर्पक्षका लागि थुनामा राखिएको छ भने ३ जना धरौटीमा छुटेका छन् । त्यस्तै ७ जना हाजिरी जमानीमा रिहा भएका छन् । बाँकीको अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी खगेन्द्रबहादुर खड्काले जानकारी दिए ।
अनुसन्धानका क्रममा केही नाबालकसमेत पक्राउ परेकाले सम्झाइ–बुझाइ अभिभावकको जिम्मामा छाडिएको प्रहरीले जनाएको छ ।
उता मोरङमा जेनजी आन्दोलनका नाममा भदौ २४ गते विभिन्न स्थानमा भएको अराजक गतिविधिमा संलग्न ठानिएका ३९ जनालाई दुई चरणमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले बताएको छ ।
प्रहरी निरीक्षक लेखनाथ दाहालका अनुसार पहिलो चरणमा २१, दोस्रो चरणमा १० र इलाका प्रहरी कार्यालय रंगेली क्षेत्रमा तोडफोडमा संलग्न थप ८ जनालाई विशेष अपरेसनमार्फत नियन्त्रणमा लिइएको हो ।
सामाजिक सञ्जालमा भाइरल भएका भिडियो र फोटोका आधारमा पहिचान गरेर पक्राउ प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।
त्यसैगरी सुनसरीमा ४ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी केशव थेवेले जानकारी दिए ।
उनीहरूलाई इटहरी क्षेत्रमा तोडफोड र आगजनीमा संलग्न भएको आरोपमा पक्राउ गरिएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment