यस कारण भयो भद्रपुर विमानस्थलमा बुद्ध एयरको विमान दुर्घटना

२०८२ पौष १९ गते , शनिबार


झापाको भद्रपुर विमानस्थलमा शुक्रबार साँझ करिब ९ बजे बुद्ध एयरको जहाज रनवे कटेर करिब २०० मिटर पर खोल्सामा पुगेको छ। अवतरण गर्ने क्रममा जहाज चालकको नियन्त्रणबाहिर गएपछि यो घटना भएको हो।
अवतरणका बेला जहाज रनवेको सुरुको छेउमा ल्यान्ड हुनुपर्नेमा बीच भागमा टचडाउन हुँदा रनवे अपुग भएको थियो। त्यसकै कारण जहाज रोकिन नसकी रनवे कटेर अगाडि बढेको चालक दलले विमानस्थल कर्मचारीलाई जानकारी दिए। 
एन–एमएफ कलसाइन भएको एटीआर–७२ जहाजमा ४ जना क्रुमेम्बर र ५१ जना यात्रु  थिए। जहाज रनवेबाट करिब २ सय मिटर अगाडि घाँसे मैदान हुँदै खोल्सीमा पुगेको झापाका प्रहरी प्रमुख एसपी राजन लिम्बुले बताए। उनका अनुसार सबै यात्रुको सकुशल उद्धार भइसकेको छ।
भाग्यवश जहाजका दुवै पँखेटामा कुनै क्षति पुगेन। पँखेटामा इन्धन भण्डारण हुने भएकाले त्यहाँ क्षति नपुग्दा आगलागी हुनबाट जोगिएको र ठूलो दुर्घटना टरेको विमानस्थल स्रोतले जनाएको छ। दुर्घटनाग्रस्त जहाजका यात्रु अर्जुनधारा नगरपालिकाका मेयर बलदेवसिंह गोम्देन तामाङले अवतरणको क्षण निकै भयावह रहेको बताए। उनले भने, ‘ल्यान्ड गर्दा स्पिड रोकिएन। जहाज उबडखाबड हुँदै पल्टियो। सबै आत्तियौं। अगाडिको एक युवकले दौडिएर आएर ढोका लात्ताले फुटाएपछि हामी त्यहीँबाट हाम फाल्यौं।’ उनका अनुसार पाँचथरका उमेश मोक्तानको साहसिक कदमले ठूलो मानवीय क्षति हुनबाट जोगिएको हो।
घटनापछि भद्रपुर विमानस्थल अस्थायी रूपमा बन्द गरिएको छ। दुर्घटनाका कारण काठमाडौं उड्न लागेको यति एयरलाइन्सको जहाज पनि विमानस्थलमै रोकिएको छ, जसका यात्रु अलपत्र परेका छन्। 
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment