विमान दुर्घटना : भद्रपुर विमानस्थल बन्द, सुचारु गर्ने तयारीमा प्राधिकरण

२०८२ पौष १९ गते , शनिबार


बुद्ध एयरको विमान दुर्घटना पश्चात् बन्द भएको भद्रपुर विमानस्थल अझै सुचारु भएको छैन । विमानस्थललाई सुचारु गर्न नागरिक उडडयन प्राधिकरण लागि परेको जनाइएको छ ।  विमानस्थलको पूर्वपट्टि बुद्ध एयरको विमान गएराति दुर्घटना परेपछि विमान उडान र अवतरणमा समस्या देखिएपनि सुरक्षित तरिका अपनाएर हवाई सेवा सुचारु राखिने विमानस्थलका प्रमुख किशोरकुमार खत्रीले बताए ।
‘हामीले विज्ञ बोलाएका छौँ , सेफ्‌टी तरिकाले कसरी हुन्छ हवाई सेवा अवरुद्ध हुँदैन’ उनले भने । तर,अहिलेसम्म काठमाडौँबाट कुनै पनि विमान भद्रपुरका लागि उडेको छैन । मौसमका कारण विमान नउडेको खत्रीले बताए । दुर्घटनामा परेको विमान लैजानका लागि बुद्ध एयरको टोली आउन लागेको उनले जानकारी दिए ।
गएराति ९ बजे चन्द्रगढी विमानस्थलमा काठमाडौँबाट भद्रपुरको लागि ५१ जना यात्रु र ४ जना चालक दलसहित उडेको एटीआर ७२ बुद्ध ९०१ विमान अवतरण गर्ने क्रममा विमानस्थल रनवे पिचबाट ३ सय मिटर पूर्वपट्टि घाँसे मैदानबाट खोल्सामा गएर ठोक्किएको थियो । दुर्घटनामा ७ जना घाइते भएका थिए । उनीहरूलाई उपचारका लागि ओम पाथीभरा अस्पतालमा भर्ना गरिएको थियो । घाइते हुनेमा विमानका को–पाइलट पनि रहेका छन् । विमान  दुर्घटनाले उडन लागेको यति एयरलाइन्सको विमान पनि विमानस्थलमै रोकिएको छ । 
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment