एमबीबीएस पढ्ने छात्रले किन गरे जुनियर छात्राको बुबाको सिरिन्ज घोपेर हत्या ?

२०८२ माघ २३ गते , शुक्रबार


धरानमा एमबीबीएस अध्ययनरत सिनियर छात्रले एउटै कलेजमा पढ्ने जुनियर छात्राका बुबालाई सिरिन्ज प्रहार गरी हत्या गरेको खुलेको छ ।
बि.पी.कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान घोपामा एमबीबीएस चौथो वर्षमा अध्ययनरत सिराहा विष्णुपुर गाउँपालिका-१ स्थायी घर भएका २६ वर्षीय दिपेशकुमार सिंहले घोपामै एमबीबीएस तेस्रो वर्षमा अध्ययनरत जुनियर छात्राका बुवा भद्रपुर नगरपालिका-१० त्रिवेणी टोल बस्ने ६६ वर्षीय खेमराज ढकाललाई हिजो साँझ सिरिन्ज प्रहार गरी हत्या गरेका हुन् ।
हिजो साँझ ६;२० बजे खेमराज ढकाल परिवारसंग आफ्नै घरमा बसिरहेको अवस्थामा दिपेशकुमार सिंहले आफूसँगै ल्याएको केमिकल लोड गरिएको सिरिन्जले एक्कासि ढकालको घाँटीमा प्रहार गरेका थिए । गम्भीर घाइते ढकाललाई उपचारको लागि भद्रपुरस्थित ओमसाई पाथीभरा अस्पतालमा पुर्‍याई चेकजाँचपश्चात् चिकित्सकले मृत घोषणा गरेका थिए । घटना लगत्तै प्रहरीले सिंहलाई पक्राउ गरेको छ । तरल पदार्थ भरिएको सिरिन्जले पीडितको घाँटीमा प्रहार गरिएको थियो । तरल पदार्थमा के कुन तत्त्वहरू मिसिएको हो ल्याब परीक्षणपछि मात्र थाहा हुने जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी खगेन्द्रबहादुर खड्काले बताए ।
सिंह हिजो बिहान पनि मृतक ढकालको घर पत्ता लगाई अवकाश प्राप्त शिक्षक चाहिएको छ खोजिदिनुपर्‍यो भनी बहाना बनाई घरमा आएका थिए । मृतकका छोरी घोपामा एमबीबीएस तेस्रो वर्षमा अध्ययनरत रहेकीले उनीहरुबीच सामान्य चिनाजान रहेको बुझिएको छ । ८/९ महिना अगाडि पनि ढकालकी छोरीको बदनाम गर्ने नियतले सिंहले फोटोहरू इडिट गरी पठाएका थिए । उनीबिरुद्ध इलाका प्रहरी कार्यालय धरानमा उजुरी गरेको पीडितले बताएकी छन् । हत्यामा संलग्न सिंहलाई मुलुकी अपराध संहिता २०७४ को ज्यान सम्बन्धी कसूरअन्तर्गत कारबाही तथा अनुसन्धान हुने डीएसपी खड्काले जानकारी दिएका छन् ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment