इलाम : किसानलाई पनि ‘गुरु’को सम्मान, रोङ गाउँपालिकाको नौलो अभ्यास



इलाम — अधिकांश नेपालीले अझै पनि कृषि पेशालाई कम महत्त्व दिने प्रवृत्ति कायम रहँदा इलामको रोङ गाउँपालिकाले भने किसानलाई ‘गुरु’को सम्मान दिँदै देशमै उदाहरणीय अभ्यास सुरु गरेको छ।

कृषि तथा पर्यटनलाई गाउँपालिकाको समृद्धिको आधार मानेर रोङ गाउँपालिकाले ‘गुरु किसान कार्यविधि–२०८०’ स्वीकृत गरी कृषि क्षेत्रमा उत्कृष्ट योगदान दिएका किसानलाई ‘गुरु किसान’का रूपमा सम्मान गर्ने कार्यक्रम सञ्चालन गरेको हो।

गाउँपालिकाले २०८१ वैशाख १८ गते स्वेच्छिक रूपमा आवेदन आह्वान गरेको थियो। प्राप्त १५८ आवेदनमध्ये १२१ जना किसान ‘गुरु किसान’का रूपमा छनोट भएका छन्। छनोट भएका किसानहरू फूल नर्सरी, माछापालन, मौरीपालन, चिया, तरकारी खेती, कुखुरापालन, बाख्रापालन, गाईपालन, बंगुरपालन, फलफूल, सुपारी तथा कफी खेतीलगायत विभिन्न कृषि विधामा सक्रिय छन्।

आर्थिक वर्ष २०८१/८२ मा संघीय सरकारबाट प्राप्त १५ लाख रुपैयाँ अनुदानमार्फत गुरु किसानहरूको क्षमता अभिवृद्धि तथा पेशागत सुधारका कार्यक्रम सञ्चालन गरिएको थियो। त्यसपछि आर्थिक वर्ष २०८२/८३ मा संघीय सशर्त अनुदानअन्तर्गत ८० लाख रुपैयाँ विनियोजन गरिएको थियो।

सो बजेटबाट गुरु किसानहरूको ५० प्रतिशत लागत सहभागितामा गुणस्तरीय गोठे मल उत्पादनका लागि भकारी सुधार, सिँचाइ तथा पानी व्यवस्थापनका लागि प्लास्टिक पोखरी, थोपा सिँचाइ प्रणाली जडान तथा सम्बन्धित कृषि विधाअनुसार आवश्यक पूर्वाधार निर्माण गरिएको गाउँपालिकाले जनाएको छ। यस कार्यक्रमअन्तर्गत ६१ जना गुरु किसानसँग करिब १ करोड १० लाख रुपैयाँ बराबरका योजनाको सम्झौता गरी कार्य सम्पन्न गरिएको छ।

रोङ गाउँपालिकाका अध्यक्ष मणिकुमार स्याङ्वो (सुवास) का अनुसार किसानको उत्पादनलाई बजारसम्म पुर्‍याउन गाउँपालिकाले स्थानीय उत्पादनको प्रशोधन, ब्रान्डिङ र बजारीकरणमा जोड दिएको छ। अहिले रोङका किसानले उत्पादन गरेका सिस्नो, गुन्द्रुक, बेसार, करेला, अचार, महलगायतका उत्पादन बजारमा बिक्री हुन थालेका छन्।

उत्पादन प्रशोधनका लागि गाउँपालिकाले साना उद्योग स्थापना गरिसकेको छ। वडा नं. ५ मा उद्योग सञ्चालनमा रहेको छ भने वडा नं. १ र ६ मा सञ्चालनको अन्तिम तयारी भइरहेको अध्यक्ष स्याङ्वोले जानकारी दिए।

रोङ गाउँपालिकाका कृषि शाखा प्रमुख सन्तोष लाप्चाका अनुसार आगामी आर्थिक वर्षदेखि गोठे मलको गुणस्तर परीक्षण गरी प्याकेजिङ गरेर बजारमा ल्याउने कार्यक्रमसमेत अघि बढाइनेछ।

कृषिलाई सम्मानजनक पेशाका रूपमा स्थापित गर्दै किसानलाई ‘गुरु’को दर्जा दिने रोङ गाउँपालिकाको यो अभ्यासले कृषि पेशाप्रति समाजको दृष्टिकोण परिवर्तन गर्न सकारात्मक सन्देश दिने अपेक्षा गरिएको छ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment