इलाममा बोलेरो दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु




इलाम । इलामको देउमाई नगरपालिका–१ साधुगाउँस्थित भित्री सडकमा बोलेरो दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ।


२०८३ असोज १ गते बिहान साधुगाउँबाट देउरालीतर्फ आउँदै गरेको प्र१–०१–००१ ज ३७०६ नम्बरको बोलेरो सडकमा पल्टिँदा गाडीले थिचेर चालकको मृत्यु भएको हो।

मृत्यु हुनेमा देउमाई नगरपालिका–१ चमैताका अन्दाजी ३५ वर्षीय तीर्थराज बस्नेत रहेका छन्।

प्रहरीका अनुसार दुर्घटनाको जानकारी बिहान ६ बजे प्रहरी चौकी रक्सेमा प्राप्त भएको थियो। जानकारी प्राप्त हुनासाथ प्रहरी सहायक निरीक्षक गेहनाथ तिम्सिनाको कमाण्डमा ट्राफिकसहितको टोली घटनास्थलतर्फ खटिएको थियो। उक्त टोली बिहान ७ः५० बजे घटनास्थल पुगेको थियो।

प्रारम्भिक जानकारीअनुसार दुर्घटनाका बेला बोलेरोमा चालक बस्नेत एक्लै सवार थिए।

घटनाबारे थप अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाउन इलाका प्रहरी कार्यालय मंगलबारेबाट प्रहरी निरीक्षक सन्तोषकुमार राईको कमाण्डमा घटनास्थल अनुसन्धान टोली (एसओसीओ) सहितको टोली खटिएको प्रहरीले जनाएको छ।

दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको छ।


प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment