अझै रोकिएन् चिठ्ठा धन्धा,झापा प्रहरी–प्रशासनलाई खुलेआम चुनौति


बिर्तामोड । झापाको बिर्तामोडमा नेटवर्किङ व्यवसाय तथा चिठ्ठा–उपहारका नाममा सर्वसाधारणबाट रकम संकलन गर्ने गतिविधि बढ्दै गएको भए पनि यस्ता कार्यक्रम नियन्त्रण तथा अनुसन्धानमा सुरक्षा निकायको सक्रियता कमजोर देखिएको छ ।
अवैध वा कानुनविपरीत गतिविधि भएको आशंका गरिएका संस्थाले बिर्तामोडका विभिन्न स्थानमा दैनिकजसो चिठ्ठा तथा उपहार कार्यक्रम सञ्चालन गर्दै आएका छन् । मासिक रूपमा निश्चित रकम जम्मा गरेपछि आकर्षक उपहार तथा चिठ्ठा पर्ने भन्दै सर्वसाधारणलाई सदस्य बनाउने, उनीहरूबाट नियमित रकम उठाउने र नयाँ सदस्य थप्न प्रोत्साहित गर्ने शैलीमा विभिन्न कम्पनी तथा समूहले गतिविधि सञ्चालन गरिरहेको बताइएको छ । यस्ता कार्यक्रम सञ्चालन गर्ने पक्षले भने आफूहरूले सञ्चालन गरिरहेको व्यवसाय तथा योजना कानुनी रहेको दाबी गर्दै आएका छन् ।
तर, चिठ्ठा, उपहार तथा नेटवर्किङका नाममा रकम उठाउने गतिविधिको कानुनी आधार, कम्पनीको दर्ता, कारोबारको प्रकृति, रकम संकलन गर्ने प्रक्रिया तथा सर्वसाधारणलाई वितरण गरिने भनिएका उपहारको वास्तविक अवस्थाबारे पर्याप्त अनुसन्धान हुन सकेको छैन । बिर्तामोडमा दैनिक जसो कार्यक्रम भइरहेपनि प्रहरीले उनीहरुलाई पक्राउ गरेको छैन् । झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले नेटवर्किङ तथा चिठ्ठाका नाममा हुने गतिविधि कानुनविपरीत देखिए अनुसन्धान गरी आवश्यक कारबाही गर्नुपर्ने बताउँदै आएका छन् ।
उनले यस विषयमा प्रहरीलाई अनुसन्धान गर्न निर्देशन दिएको जनाएका छन् । तर, प्रशासनले कानुनविपरीत भएको हुनसक्ने गतिविधिबारे चासो देखाएको बताए पनि बिर्तामोडमा यस्ता कार्यक्रम भने रोकिएका छैनन् । चिठ्ठा तथा उपहारका कार्यक्रम नियमित रूपमा सञ्चालन भइरहँदा सुरक्षा निकायको भूमिकामाथि नै प्रश्न उठ्न थालेको छ ।
प्रहरीले भने हाल दुई जनालाई पक्राउ गरेर अनुसन्धान तिब्र बनाएको र यस्ता गतिविधका अरुलाई समेत निगरानी गरिरहेको जनाएको छ । अहिलेसम्म पीडितका तर्फबाट औपचारिक जाहेरी नपरेको भन्दै अनुसन्धान तथा कारबाहीको विषयमा पन्छिने गरेको जनाइएको छ । सार्वजनिक रूपमा भइरहेको गतिविधिका विषयमा प्रहरी आफैंले प्रारम्भिक अनुसन्धान गर्न सक्ने भए पनि जाहेरीको अभावलाई प्रमुख आधार बनाउने गरिएको बताइन्छ ।
बिर्तामोडमा विभिन्न नाममा सञ्चालन भइरहेका कार्यक्रमसँग जोडिएका व्यक्तिहरूले ठूलो संख्यामा सर्वसाधारणबाट रकम संकलन गरिरहेको दाबी गरिँदै आएको छ । तर, उनीहरूले कति रकम संकलन गरेका छन्, कति व्यक्तिलाई सदस्य बनाइएको छ, रकम कहाँ र कसरी परिचालन गरिएको छ तथा उपहार योजनाको वास्तविक आर्थिक संरचना के हो भन्ने विषयमा आधिकारिक विवरण सार्वजनिक भएको छैन । उनीको आर्थिक परदार्शितामा समेत अनुसन्धान गर्न जरुरी देखिएको छ ।
बिर्तामोड क्षेत्रमा एनके, ब्राभो, साँची, अजम्बरी, एसकेडी, युएलसी, हेल्दी लिभिङ, प्राइम वेलबिइङलगायतका विभिन्न कम्पनी वा समूहसँग सम्बन्धित नेटवर्किङ तथा चिठ्ठा–उपहारका कार्यक्रम सञ्चालन हुने गरेको बताइएको छ । यी कम्पनीले राजश्व छली गरेको आशंका गरिएको छ ।
आन्तरिक राजश्व कार्यालयले यो विषयमा सुष्म तरिकाले छनबीन गरेमा ठूलो आर्थिक घोटलाको विषय उजागर हुने सरोकारवालाको भनाई छ । ग्रहाकलाई आकर्षक उपहारको लोभ देखाएर गरिएका यस्ता नेटवर्किङ शैलीको ठगी विरुद्ध सरकारी संयन्त्रले चासो दिएका सर्वसाधारण ठगीबाट जोगिने बताइएको छ । थोरै रकम नियमित रूपमा जम्मा गरेपछि निश्चित अवधिमा आकर्षक उपहार प्राप्त हुने आश्वासन दिएर सर्वसाधारणलाई भ्रममा राखिएको छ ।
कतिपय योजनामा सदस्यले आफू मात्रै रकम बुझाउने नभई अन्य व्यक्तिलाई समेत जोड्नुपर्ने व्यवस्था रहेको बताइएको छ । नयाँ सदस्य थपिँदै गएपछि रकमको कारोबार विस्तार हुने यस्तो संरचना नेटवर्किङ व्यवसायसँग मिल्दोजुल्दो देखिने भएकाले यसको कानुनी प्रकृति स्पष्ट गर्नुपर्ने आवश्यकता देखिएको छ । मासिक रूपमा निश्चित रकम बुझाउनुपर्ने र २४ किस्तासम्म रकम संकलन गर्ने योजनासमेत रहेको बताइएको छ ।
दुई वर्षसम्म नियमित रकम बुझाएपछि चिठ्ठा वा उपहार प्राप्त हुने भन्दै ग्राहक तथा सदस्य बनाउने गरिएको दाबी छ । ‘केही न केही उपहार अवश्य पर्ने’ भन्दै सर्वसाधारणलाई आकर्षित गर्ने र त्यसपछि नियमित रकम संकलन गर्ने गरिएको छ । विशेषगरी सामान्य आय भएका व्यक्तिलाई सानो रकमको लगानीबाट ठूलो लाभ हुने आश्वासनले आकर्षित गर्ने गरेको बताइएको छ । तर, चिठ्ठा तथा उपहारको वास्तविक वितरण, विजेताको छनोट प्रक्रिया, कम्पनीले उठाएको रकम र त्यसबाट प्रदान गरिने उपहारको अनुपातबारे पारदर्शी विवरण सार्वजनिक नहुँदा योजनाको विश्वसनीयतामाथि प्रश्न उठेको छ ।
यो विषयमा सुरक्षा निकायले अनुसन्धान गर्न जरुरी रहेको बताइन्छ । नेटवर्किङ तथा चिठ्ठा–उपहारका विभिन्न योजनाबाट ठूलो संख्यामा सर्वसाधारण प्रभावित भएको अनुमान गरिएको छ । बिर्तामोडसहित झापा र आसपासका जिल्लामा यस्ता योजनामा जोडिएका व्यक्तिको संख्या एक लाखभन्दा बढी हुनसक्ने दाबीसमेत गरिएको छ । विशेषगरी झापासहित इलाम, मोरङ र सुनसरीलगायतका जिल्लामा समेत सदस्य बनाइएको पाइएको छ ।
बिर्तामोडमा यस्ता गतिविधि लामो समयदेखि सञ्चालन भइरहेको बताइए पनि सार्वजनिक स्थलमा कार्यक्रम नै आयोजना गरेर चिठ्ठा तथा उपहार वितरण गर्ने क्रम जारी छ । कुनै गतिविधि कानुनविपरीत भएको आशंका भए त्यसको अनुसन्धान तथा आवश्यक कारबाही गर्ने जिम्मेवारी राज्यका सम्बन्धित निकायको हो । तर, प्रशासनले प्रहरीलाई अनुसन्धान गर्न निर्देशन दिएको बताउने र प्रहरीले औपचारिक जाहेरीको अभाव देखाउने अवस्थाले प्रभावकारी अनुसन्धान अघि बढ्न नसकेको देखिन्छ ।
यता इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायब उपरीक्षक सन्तोष पाठकले निलकण्ठ नेपाल ट्रेड एण्ड सप्लायर्सले एनके प्युरिफायरको नाममा बम्पर उपहार घोषणा कार्यक्रममा नियम विपरित गर्न खोजेको भन्दै विवाद उत्पन्न भएपछि दुई जनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको बताए ।
उता जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता समेत रहेका प्रहरी नायब उपरीक्षक रञ्जन अवाले बिर्तामोडमा भइरहेको चिठ्ठा–उपहारका नाममा भइरहेका कार्यक्रम बारे जानकारी नै नभएको बताए । आफुहरुलाई चिठ्ठा–उपहार कार्यक्रमबारे थाहा नभएको भन्दै पत्रकारलाई नै सुचना दिन आग्रह गरे । प्रमुख जिल्ला अधिकारी पोख्रेलले जिल्ला प्रहरीलाई अनुन्धान गर्न निर्देशन दिएको बताए पनि प्रहरी प्रवक्ता अवाले भने दैनिक जसो भइरहेको कार्यक्रमबारे थाहा नै नभएको भन्दै पन्छिए ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment