माङ्सेबुङमा बोलेरो दुर्घटना, १२ वर्षीया बालिकासहित पाँच जना घाइते


इलाम ।
माङ्सेबुङ गाउँपालिका–२ दहगाउँमा बोलेरो दुर्घटना हुँदा पाँच जना घाइते भएका छन्।

सोमबार बिहान करिब १०ः३० बजे आरुबोटेबाट दमकतर्फ जाँदै गरेको मे १ ज ३३४७ नम्बरको बोलेरो आरुबोटे–दमक भित्री कच्ची सडकखण्डमा अनियन्त्रित भई सडकबाट करिब ५० मिटर तल खसेर दुर्घटना भएको हो।

दुर्घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी इभाङ र प्रहरी चौकी साकफाराबाट प्रहरी टोली घटनास्थलमा पुगेको थियो। घाइते सबैलाई उपचारका लागि दमकस्थित लाइफलाइन अस्पताल पठाइएको प्रहरीले जनाएको छ।

दुर्घटनामा पाँचथर मिक्लाजुङ गाउँपालिका–३ का करिब ३६ वर्षीय चालक खेमराज मगरको दाहिने आँखामुनि र दाहिने काँधमा सामान्य चोट लागेको छ। उनी घटनास्थलमै रहेका र प्रहरी नियन्त्रणमा रहेको जनाइएको छ।

मिक्लाजुङ–५ की करिब ४३ वर्षीया मनकुमारी लावतीको बायाँ पाखुरा तथा शरीरका विभिन्न भागमा चोट लागेको छ। उनको अवस्था सामान्य रहेको छ।

मनकुमारीकी १२ वर्षीया छोरी लामसिमी लावतीको दाहिने आँखामा गहिरो चोट लागेको छ। बोल्न नसक्ने अवस्थामा रहेकी उनलाई गम्भीर अवस्थाका कारण सोमबार दिउँसो २ः४० बजे थप उपचारका लागि न्युरो अस्पताल विराटनगर रेफर गरिएको प्रहरीले जनाएको छ।

त्यस्तै, मनकुमारीका २३ महिनाका छोरा लाम्सेमा लावतीको टाउकोमा चोट लागेको छ। उनको अवस्था मध्यम रहेको छ।

तुम्बेवा गाउँपालिका–१ का करिब २१ वर्षीय जनक तामाङको दाहिने पाखुरामा चोट लागेको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment