इलाम, रोङ । पर्यटनको नयाँ सिजन सुरु भएसँगै रोङ गाउँपालिकाले करसोङ पदमार्गको संरक्षण, सरसफाइ तथा पर्यटन प्रवर्द्धनका लागि बृहत् श्रमदान अभियान सञ्चालन गर्ने भएको छ।
रोङ गाउँपालिका अध्यक्ष मनिकुमार स्याङ्बोको आह्वानमा २०८३ साल मंसिर २ गते बिहान १० बजेदेखि हासपोखरीबाट झण्डी हुँदै निन्दासम्मको करिब १९ किलोमिटर पदमार्गमा सामूहिक सरसफाइ अभियान सञ्चालन गर्न लागिएको हो।
श्रमदानमार्फत विकास निर्माण तथा सार्वजनिक सम्पत्तिको संरक्षण गर्न सकिने उदाहरण प्रस्तुत गर्ने उद्देश्यसहित सञ्चालन हुन लागेको अभियानमा गाउँपालिकाभित्रका सबै टोल विकास संस्था, संघसंस्था, जनप्रतिनिधि, कर्मचारी, सुरक्षाकर्मी, सञ्चारकर्मी तथा पर्यटन व्यवसायीलाई सहभागी गराइने गाउँपालिकाले जनाएको छ।
अभियानलाई व्यवस्थित बनाउन पदमार्गलाई पाँच खण्डमा विभाजन गरी ५८ वटा टोल विकास संस्थासहित विभिन्न समूह परिचालन गर्ने तयारी गरिएको छ।
गाउँपालिकाका अनुसार कम खर्चमा सामुदायिक श्रमदानमार्फत पदमार्गको सरसफाइ गर्ने, पर्यटकीय गतिविधि बढाउने, स्थानीय नागरिकमा योजनाप्रति अपनत्व विकास गर्ने र क्रमशः यसको दिगो व्यवस्थापनको जिम्मेवारी समुदायलाई हस्तान्तरण गर्ने अभियानको मुख्य उद्देश्य रहेको छ।
त्यसैगरी पदयात्राको नयाँ सिजन सुरु भएको सन्देश प्रवाह गर्दै करसोङ पदमार्गलाई आकर्षक पर्यटकीय गन्तव्यका रूपमा थप प्रचारप्रसार गर्ने लक्ष्यसमेत राखिएको छ।
अभियानमा छिमेकी सूर्योदय नगरपालिका, तारगाउँ, हर्कटे तथा मेचीनगरपालिकाको निन्दा क्षेत्रका टोल विकास संस्थाहरूलाई समेत सहभागी गराइनेछ।
श्रमदानमा सहभागी हुनेहरूले अनिवार्य रूपमा हँसिया ल्याउनुपर्नेछ। नजिकका सहभागीमध्ये ७५ प्रतिशतले हँसिया र २५ प्रतिशतले काटा तथा कोदालो ल्याउनुपर्ने व्यवस्था गरिएको छ। सहभागीहरूका लागि पानी, सामान्य खाजा तथा पाँचवटै खण्डमा प्राथमिक उपचारको व्यवस्था मिलाइने गाउँपालिकाले जनाएको छ।
अध्यक्ष स्याङ्बोले करसोङ पदमार्ग कुनै एक व्यक्ति वा संस्थाको मात्र नभई समग्र समुदायको साझा सम्पत्ति भएकाले यसको संरक्षण र प्रवर्द्धनमा सबैको सक्रिय सहभागिता आवश्यक रहेको बताउनुभएको छ।
उहाँले स्थानीय बासिन्दा, युवा, सामाजिक संघसंस्था, पर्यटन व्यवसायी, सञ्चारकर्मी तथा इच्छुक श्रमदातालाई आफ्नो क्षेत्रको पर्यटकीय सम्पदा संरक्षणका लागि श्रमदानमा जुट्न आह्वान गर्नुभएको छ।
‘आउनुहोस्, श्रमदान गरौँ, करसोङ पदमार्ग चिनाऔँ र रोङको पर्यटन विकासमा सामूहिक योगदान गरौँ’ भन्ने सन्देशसहित गाउँपालिकाले सम्पूर्ण सरोकारवालालाई अभियानमा सहभागी हुन आग्रह गरेको छ।

0 comments:
Post a Comment