पूर्वी श्रीअन्तुका तारा घिमिरे रोजगारीका लागि कतार हानिए । घरवरिपरिको चिया बगानसहित परिवारवाट अलग भएका घिमिरे लामो समयसम्म कतारमा अडिएनन् । आफ्नै बगानमा कामदारमात्र हैन मालिकसमेत भएर बसेका उनी छ महिना नबित्दै गाउँ फिरे । चिसो हावापानीमा चियासहित मनचाहे खेती गरेर परिवारसँग रमाउँदै काम गरेका घिमिरेले कतारको प्रचण्ड गर्मीको मात्र पीडा भोगेनन् घरबारीमा कामदार नपाएर बारी बाँझिन थालेको चिन्ताले पनि पिरोलिए । छिमेकी कृष्ण तामाङले रहर लाग्दो चिया बगान छाडेर केही वर्ष विदेशमा बिताए । उनले पनि विदेशमा जति पसिना घरगाउँमा नै बगाउँदा राम्रो हुने ठानेर फिर्केपछि विदेश जाने योजना बनाएनन् । त्यही गाउँका केशव घिमिरे गएको वर्ष रोजगारीको लागि मलेसिया पुगे । सोचेजस्तो कमाइ नभएकाले र खेतीबाली बिग्रने त्रासले उनी पनि उता बस्ने कि नबस्ने दोधारमा छन् । दुई दशक अघितिर सीमावर्ती अन्तु, समालवुङलगायत क्षेत्रबाट पारिका मिरिक, ओकाइटी, थर्पुलगायत क्षेत्रमा चिया टिप्न घरलौरी जाने चलन थियो । समयसँगै सीमावारि नै चियाको व्यावसायिक खेती फस्टाएपछि पारिकाहरू रोजगारीका लागि आउने गरेका छन् । ‘पहिला यता उदाङ्गो डाँडा थियो । खासै कमाइ नहुने भएपछि पारि जानुको विकल्प थिएन,’ समाल्वुङकी गुडिया आलेले भनिन्, अहिले घरपिच्छे बगानए भएकाले पारिहरूका पहिलोको पर्म तिर्नयता आएका होलान् भन्ने सम्झिन्छु ।’
चिटिक्क परेका घर वरिपरि फूलबारी र बाँकी क्षेत्रमा चियाको हरियालीले ढाकेको यी क्षेत्रमा आम्दानीको कमी छैन । विभिन्न नगदेबाली उत्पादनका कारण वार्षिक २२ अर्ब रुपैयाँभन्दा धेरै यो जिल्लाका कृषकले भित्र्याउँछन् । तर मोटो रकम कमाउने आसमा बिदेसिनेको लर्को भने घटेको छैन । धेरैले एकपटक फर्केपछि घरगाउँमा नै कमाइको मेला गर्ने योजना बनाए पनि नयाँ पुस्तामा विदेश जाने लहर छँदैछ । देशभर अलिअलि इलाम छर्न मन लाग्यो’ शीर्षक कविता लेखेर कवि भूपि शेरचनले इलामको उद्यम प्रशंसा गरेका छन् । डेढ सय वर्षअघि सुरु भएको चियाखेतीसँगै मौलाएका अन्य नगदेबालीसँगै व्यावसायिक दूध उत्पादनले जिल्लाका ग्रामीण भेगसम्मका बासिन्दाको आर्थिक भार थेगेको प्रसंगले कवि शेरचन प्रभावित देखिएका हुन् । यहाँको कृषिउपज उत्पादनको अनुमान लगाउन मेचीराजर्माको कुनै स्थानमा बसेर तराई झर्ने ट्रक मात्र नियालियो भने काफी हुन्छ । खाद्यान्न निर्माण र अन्य उपभोग्य सामग्री लिएर पहाड चड्ने अधिकांश ट्रक तराई झर्दा कृषि उपजले भरिएका हुन्छन् । भौगोलिक विविधता, उपयुक्त हावापानी र माटोलगायत कारणले नगदेबाली उत्पादनमा इलाम अग्रणी छ । आर्थिकस्तर उकास्न इलामको पर्याय बनेका ‘अ’ को योगदान उच्च छ । ‘अ’ बाट उच्चारण भएका ‘अलैंची, अदुवा, अकबरे, अम्लिसो अर्थोडक्स, ओलन, आलु’ नै यहाँको कृषि क्रान्तिका लागि भरोसा बनेका छन् । यसबाहेक पछिल्लो समयमा फलफूल, जडिबुटी, सागसब्जी र किवी खेतीले पनि कृषकको आर्थिक अवस्था धान्दै आएको छ ।
जिल्ला कृषि विकास कार्यालयको पछिल्लो तथ्यांकअनुसार आलु, अलैंची अकबरे, तरकारी, अदुवा, किवी, मह र सुन्तलाबाट वार्षिक सात अरबको आम्दानी हुने गरेको छ । त्यस्तै दूधबाट वार्षिक चार अर्बको आम्दानी छ भने चियावाट करिव डेढ अर्ब भित्रन्छ । जडिबुटी र अन्य उत्पादनको आम्दानी हिसाव गर्दा पनि पाँच अर्ब घटि छैन । यहाँ उत्पादन हुने हरेक कृषि उपजले नाम र दाम कमाएका कृषकको संख्या गनिसाध्य छैन । ‘जिल्लाका हरेक क्षेत्रमा कुनै न कुनै नगदेबाली फस्टाएकोले जिल्लाका अधिकांश बासिन्दाको आयस्तर समान छ,’ प्राध्यापक युद्ध वैद्य भन्छन्, ‘जुन गाउँ गए पनि कृषिमा लगानी गरेर आम्दानी गर्ने कृषक उल्लेख्य भेटिन्छन् ।’ जिल्लाका हरेक गाउँका कृषकलाई रोजगारीको अबसर नगदेवाली उत्पादनले प्रदान गरेको छ । सिंगो जिल्लालाई मेची राजमार्गले चिरेको अवस्थासँगै ग्रामीण भेगमा फिजिएको सडक सञ्जालले पनि कृषकको जाँगरलाई बजारीकरण गर्न सघाएको छ । यति धेरै आम्दानीको स्रोत भएपनि विदेश मोह नघट्नुको कारण भने यही हो भन्ने छैन । व्यावसायिक चियाखेती गरेका कृषकलाई मजदुरको अभाव छ । तन्नेरी जति बिदेसिएपछि अन्यत्र जिल्लावाट समेत परिवारसहित चियाबारीमा काम गर्न ल्याउने चलन छ । ‘एकजनाले मासिक १० हजारसम्म कमाइ गर्ने व्यवस्था गर्दा पनि जोकोही काम गर्नै चाहँदैन,’ कन्यामका नेत्र पोख्रेलले भने । जिल्ला प्रशासन कार्यालयमा राहदानी बनाउनेको संख्या पनि बर्सेनि बढ्दै गएको छ । अहिले वाषिर्क १२ हजारले राहदानी लिने र पाँच हजारजनाले राजधानीबाटै राहदानी निकाल्न सिफारिस लाने गरेको प्रशासनको तथ्यांकमा छ । ‘शान्ति कायम भएपछि जिल्लामा कृषि र उद्योगमा वृद्धि हुँदै गएकाले राहदानी बनाउनेको संख्या घट्ने ठानेका थियौं, ‘राहदानी फाँटका विनोदबाबु बीसीले भने, ‘तर ठीक विपरीत बर्सेनि राहदानी बनाउने थपिँदै छन् ।’
दूधबाट वार्षिक चार अर्ब
स्थानीय भाषामा ओलन भनिने दूधको उत्पादन बढेसँगै कृषक आफैं मालिक बन्ने होडमा छन् । वि.सं. १९८० तिरै पूर्वी पशुपतिनगर बाघवीरेका कृषकले सीमापारि दार्जिलिङ क्षेत्रबाट गाई ल्याएर व्यावसायिकता दिएको यो व्यवसाय फैलँदो छ । दुग्ध विकास संस्थानले दिने मूल्य कम भएकाले कृषकले आफ्नै पहलमा साना ठूला उद्योग खोलेर प्रशोधन थालेका हुन् । जिल्लामा वार्षिक चार अर्ब रुपैयाँको दूध उत्पादन हुने जिल्ला पशु सेवा कार्यालयको तथ्यांक छ । जिल्लामा एक सय १२ वटा डेरी उद्योग छन् । हरेकले दैनिक ५० देखि पाँच सय लिटरसम्म दूध प्रशोधन गर्छन् । संस्थानअन्तर्गतका तीनबाहेक २४ वटा चिज कारखाना सञ्चालनमा आएका छन् । ती कारखनाले दैनिक एक हजारदेखि दुई हजार लिटर दूध जम्मा गर्छन् । दैनिक दुई सयदेखि सात सय लिटरसम्म दूध संकलन गरेर प्रशोधन गर्ने नौवटा ललिपप उद्योग खोलिएका छन् । जिल्ला पशुसेवा कार्यालयले दैनिक तीन लाख ३६ हजार लिटर दूध उत्पादन हुने जानकारी दियो । त्यसमध्यै घरायसी प्रयोजनमा खर्च हुने दैनिक डेढ लाख लिटर दूधबाहेक सबै बिक्री हुन्छ ।
अर्थोडक्सको आयाम
वि.सं. १९२० सालमा नै सुरु भएको चिया खेती धेरैपछि मात्र कृषकस्तरमा पुगे पनि अहिले आठ हजार धेरै कृषक आश्रति छन् । यसमा मुख्य योगदान अर्थोडक्स चियाको छ । जिल्लामा उत्पादित अधिकांश चिया अर्थोडक्स हो । विदेशी मुद्रा आर्जनका लागि पनि अर्थोडक्स चिया गतिलो माध्यम बन्दै गएको छ । दानादार चियालाई सीटीसी र पत्ति चियालाई अर्थोडक्स भनिन्छ । यहाँ उत्पादन हुने अर्थोडक्स चियाबाट वार्षिक डेढ अर्ब आम्दानी हुन्छ । जिल्लामा २५ वटा ठूला र तीन दर्जन साना अर्थोडक्स चिया कारखाना छन् । यहाँ ३० लाख किलोभन्दा धेरै तयारी अर्थोडक्स चिया उत्पादन हुन्छ । चियाका कारण स्वरोजगार बन्न पनि धेरैलाई मद्दत पुगेको छ । आफ्नै बगानमा आफैं काम गरेर पत्ती बिक्री गर्ने कृषकको चलन छ । ‘चिया खेती स्थायी जागिरजस्तै हो,’ श्रीअन्तुका कृषक पासाङ लेप्चा भन्छने, घरमा जतिजना सदस्य भए पनि चिया बगानमा नै काम गर्न ठिक्क ।’ यसका अलावा अन्यलाई रोजगारीको अवसर पनि उत्तिकै सिर्जना भएको छ । यहाँ उत्पादित चिया भारतमा ८० प्रतिशत, १० प्रतिशत पश्चिमा मुलुक र बाँकी स्थानीयस्तरमा खपत हुने गरेको व्यवसायीहरू बताउँछन् ।
अदुवामा अगुवा
अदुवाको बिक्रीबाट जिल्लामा वाषिर्क साडे तीन अर्ब रुपैयाँ आम्दानी हुने गरेको छ । इलाममा तीन हजार एक सय ६६ हेक्टरमा खेती गरिंदै आएको अदुवाबाट गत वर्ष ४५ हजार आठ सय ९४ मेट्रिक टन उत्पादन भएको थियो । कृषि विकास कार्यालयका अनुसार अदुवा उत्पदन र क्षेत्रफल दुवैमा इलाम नेपालकै पहिलो हो । इलाममा उत्पादन भएको अदुवामा रेसा बढी हुने भएकाले गुणस्तरीय समेत मानिन्छ । नेपाल विश्वको धेरै अदुवा उत्पादन गर्ने देशको तेस्रो स्थानमा पर्छ । सरकारले अदुवा प्रशोधन गरेर मात्र बिक्री गर्ने नीति बनाए चित्त बुझ्दो मूल्य पाउन सकिनेमा कृषक आशावादी छन् । प्रतिमन तीन हजार पाँच सयसम्ममा अदुवाको किनबेच हुने गरेको छ ।
अकबरेको आकर्षण
औषधीय गुण, भिन्न स्वाद र वासनाका कारण धेरैको रोजाइमा पर्ने अकबरे खोर्सानीको पनि यहाँका कृषकले व्यावसायिक उत्पादन गर्ने गरेका छन् । जिल्लाका अधिकांश गाविसमा यसको खेती हुने गरे पनि लक्ष्मीपुर, पञ्चकन्या, कोल्वुङ, कन्याम, सुम्बेक, फिक्कललगायत गाउँमा यसको उत्पादन धेरै छ । एकजना कृषकले वार्षिक छ लाख रुपैयाँसम्मको आम्दानी अकबरेबाट गर्न सकेका छन् । ‘मूल्य धेरै लिन अकबरेलाई प्याकिङसमेत गरेर बजारमा पु¥याउँदा राम्रो आम्दानी हुने गरेको छ,’ सुम्बेककी उर्मिला निरौलाले भनिन्, ‘यसको खेतीले अन्य परम्परागत बालीलाई पछि पार्दै लगेकाले गाउँमा खेतीमोह बढ्दै गएको छ । इलाम घुम्न आउनेका लागि पनि अकबरे राम्रो कोसेली बेनेको छ । दशकअघि ७० हेक्टर क्षेत्रफलमा खेती भएको अकबरेको क्षेत्रफल र उत्पादन दोब्बर धेरैले बढेको छ । अघिल्लो आर्थिक वर्षमा जिल्लामा एक सय ६० हेक्टरमा गरिएको अकबरे खेतीबाट पाँच सय ९७ मेट्रिक टन उत्पादन भएको थियो । अकबरेको वाषिर्क आम्दानी १६ करोड रुपैयाँ छ ।
आलुको दिगो आम्दानी
जिल्लाका सबै ४८ गाविसमा खेती हुन आलुले कृषकलाई ठूलै भरथेक गरेको छ । हिउँदे र बर्खे गरी दुवै सिजन उत्पादन हुने आलु खेतीलाई थप व्यावसायिक बनाएर आम्दानी लिने ध्याउन्न कृषकको छ । न्यानो हावापानी भएको क्षेत्रमा हिउँदे र चिसोमा बर्खे आलुको उत्पादन हुन्छ । कृषि विकास कार्यालयको तथ्यांकअनुसार जिल्लामा हिउँदे आलु वार्षिक रूपमा ६७ हजार सात सय मेट्रिक टन र बर्खे आलु २३ हजार दुई सय मेट्रिक टन उत्पादन हुन्छ । चिसो क्षेत्रमा हुने झ्याले बिटेलगायत आलुको स्वाद मिठो हुने भएकाले यसको माग सीमापारि भारत मूलुकका ठूला सहरमा पनि हुने गरेको छ । सिंचाइ, बिउ, मल र औषधिको अभाव रहेको कृषकहरू बताउँछन् । आलुको अधिक उत्पादन हुने क्षेत्रमा कृषि विकास कार्यालयले प्रवद्धधनात्मक कार्यक्रम सञ्चालन गर्दै आएको कार्यलयका प्राविधिक सहायक केशर मंग्रान्ती बताउँछन् । आलुवाट वार्षिक डेढ अर्ब आम्दानी हुने गरेको छ ।
आस जगाउँदै अलैची
खोल्साखोल्सी र ओसिलो माटोमा थोरै मात्र मेहनेतले लाखौं रुपैयाँ आर्जन गर्न सकिने भएकाले ‘खोल्सीको सुन’ उपनाम पाएको अलैंची खेती रोगले सखाप बन्दै गए पनि कृषकले आस मारेका छैनन् । दानाबाट उत्पादन भएको निरोगी बिरुवा र नयाँ जातको अलैंची लगाएर आम्दानी बढाउने कृषक थपिंदै गएका गएका छन् । अलैंचीको मूल्य प्रतिमन १ लाख नाघेको छ । परम्परागत निर्भाहमुखी खेती प्रणालीमा आधारित यहाँको जनजीवनमा २० को दशकमा नै फस्टाएको अलैंची आय आर्जनको गतिलो माध्यम बन्यो । जिल्लाका अधिकांश गाविसमा फस्टाएको अलैंची खेतीकै कारण घरजग्गा जोड्ने, बालबच्चा पढाउने र आधुनिक जीवन शैली जिउनका लागि भरथोग गर्यो । रोगको प्रकोपले नराम्ररी गाँजेपछि कृषक समस्यामा परे । छिर्के, फुर्के, डढुवा र गानो कुहिनेजस्ता रोगले ठूलाठूला बगानहरू उजाड भए । तर पुनः अलैंचीले आशा जगाउन थालेको छ । दक्षिणी जिर्मलेको सलकपुरका कृषकले सुन्तला र सुपारी बगानमा नै अलैंची फलाएर लाखौं कमाए । जिल्लाको समग्र उत्पादन घट्दै गएको र मूल्य उच्च भएको बेला यहाँ कृषकले प्रतिघर २० मनसम्म अलैंची फलाएर आम्दानी गरे । अम्लिसोमा आश्रतिठाँट, पात र फूल सबैको प्रयोग हुने भएपछि सुख्खा भीरपाखाबाट सुम्बेकका ओमिन्द्र याखाले वार्षिक लाखौं आम्दानी गर्ने गरेका छन् । सुलुवुङका चित्रबहादुर सुब्बाले ढुङ्ग्यान पाखोबारीलाई आम्दानीको दिगो स्रोत बनाए । जिल्लाका हरेक गाविसमा अम्लिसो रोपेर आम्दानी बढाउने क्रम बढ्दो छ । अम्लिसोको डाँठ दाउरा, पात घाँस र फूल राम्रो मूल्यमा बिक्री हुने भएकाले कृषकको आकर्षण बढेको हो । व्यावसायिक रूपमा कूचो उत्पादन गर्ने यहाँका कृषक बर्से्नि कुचोका मूल्य बढ्दै गएकाले पनि उत्साहित भएका हुन् । भारतका ठूला सहरमा निर्यात हुने मूलुकभरको कुचो झापाको धुलाबारीमा जम्मा हुने गरेको छ । धुलाबारीमा दैनिक एक सय गाडीसम्म कुचो जम्मा हुने गरेको व्यापारी राजेश शाहले बताए । त्यहाँ जम्मा हुने कुचोमध्ये ठूलो हिस्सा इलामको छ । जिल्लाका इरौटार, जिर्मले, नाम्सालिङ, इभाङ, साकफारा, सुम्बेक, सुलुवुङ, सोयाङलगायत गाविसमा कृुचोको अधिक उत्पादन हुन्छ । वार्षिक जिल्लामा ६७ हजार ३ सय ६० मेट्रिक टन उत्पादन हुने गरेको छ ।


0 comments:
Post a Comment