पूर्वी नेपालमा मोटरसाइकल चोर्ने गिरोह पक्राऊ


इलाम, पूर्वी नेपालका मुख्य शहरहरुबाट मोटरसाइकल चोरीमा संलग्न एक गिरोहलाई प्रहरीले मोरङको उर्लावारीबाट पक्राउ गरेको छ । उर्लावारी २ का २६ वर्षीय राजकुमार राई, सोही ठाउँका २३ वर्षीय शम्भु राई र उर्लावारी २ का सुजित राईलाई गएराति प्रहरीले पक्राउ गरेको हो ।
उनीहरुलाई मोटरसाइकल चोरी गरी बिक्री गरीरहेका अवस्थामा ६ थान मोटरसाइकलसहित पक्राउ गरिएको प्रहरी निरिक्षक राजकुमार राईले जानकारी दिए । प्रहरी निरीक्षक राईका अनुसार उनीहरुले सुनसरी, मोरङ र झापाका मुख्य बजार क्षेत्रमा पार्किङ गरी राखिएका मोटरसाइकल चोरेर बिक्री गर्ने गरेको अनुसन्धानबाट खुलेको छ ।
‘मोटरसाइकलको नक्कली चाबी वनाएर उनीहरुले मोटरसाइकल चोरी गर्ने गरेको पाइएको छ । बढी मात्रामा उनीहरुले बजाज कम्पनीको पल्सर बाइक चोरी गर्ने गरेको देखिएको छ,’ प्रहरी निरीक्षक राईले भने । विशेष सुराकीको आधारमा पक्राउ गरिएकाहरुबाट बिक्री गरिसकिएको अवस्थामा चार थान पल्सर र अन्य कम्पनीका दुई थान मोटरसाइकल समेत बरामद गरिएको छ ।
इलाका प्रहरी कार्यालय उर्लावारीले दिएको जानकारी अनुसार को ९ प ६८५९, बा २३ प ७४८१, मे ३ प ७०८५, मे ५ प ७८०२, मे ३ प ३६०९ र बा ६४ प १६९६ मोटरसाइकल बरामद भएको छ । मोटरसाइकल चोरीमा संलग्न उनीहरुले पूर्वी पहाडी जिल्लामा लगेर ३० हजार मूल्यभन्दा पनि कममा बाइक बिक्री गर्ने गरेको पनि अनुसन्धानले देखाएको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment