संगिता सुहाङ
पाँचथर, १५ असारः प्राङबुङ ८ का चन्द्रमान खपाङ्गीले करेसाबारीमा ६० बोट किवी लगाएका छन् । चार वर्ष पहिले रोपेको किवीले यसपालीदेखि लटरम्म फल दिएको छ । यसपालीदेखि मात्र किवी फलेकाले उनले आम्दानी हात पारेका छैनन् । खाली उनले लगानी मात्र गरेका छन् । महंगो मूल्यमा बिरुवा खरिद र महत्वपूर्ण समय किवी खेतीका लागि उनले खर्चिका हुन् । अब उत्पादन भएको किवी कहाँ बिक्री गर्ने भन्ने पनि उनलाई टुंगो छैन् । “राम्रो आम्दानी हुन्छ रे भन्ने सुनेर खेती सुरु गरेका छौँ,” खपाङ्गीले भने “समाजका अग्रजहरुले राम्रो हुन्छ भनेपछि गाउँका सबैले किवी खेती शुरु गरेका छौँ ।” समाजका अग्रजहरुकै भनाईमा बजारको अध्ययन नगरी कृषकहरु अन्धाधुन्धकिवी खेतीमा लागेका हुन् ।
परम्परागत खेतीलाई छाडेर खपाङ्गीजस्तै किवी खेतीतर्फ जिल्लाका अधिकांस कृषकहरु आकर्षित छन् । महंगो मूल्य तिरेर किवीको विरुवा खरिद गरी यहाँका कृषकहरुले खेती शुरु गरेका हुन् । “अहिलेसम्म त किवी रोप्ने मात्रा काम भएको छ,” प्राङबुङका भरत खपाङ्गीले भने “यसपालीदेखि राम्ररी उत्पादन सुरु भएको छ, बिक्री गर्ने बजारको टुंगो छैन् ।”
फलफुलको राजा भनेर चिनिएको किवीको खेती छिमेकी जिल्ला इलामको सुलुबुङबाट शुरु गरिएको हो । सबै फलफुलको स्वाद एउटै किवीको फलमा पाईने भएकाले किवी स्वास्थवर्दक हुने भनाई छ । स्वास्थवर्दक हुने र राम्रो मूल्य पाउने आशामा कृषकहरुले बजारको अध्ययन नगरीकिवी खेती गरेका हुन् ।
प्रतिगोटा तीन सय देखि पाँच सय रुपैँयाँ सम्ममा किवीको विरुवा खरिद गरेर कृषकहरुले खेती शुरु गरेका हुन् । गाउँकै अग्रज कृषहरुको सक्रियतामा यसको खेती शुरु गरिएको हो । तर, ठूलो मात्रामा उत्पादन भएको फल बिक्रीगर्नमा समस्या देखिएको छ । बोटबाट फल टिपेपछि धेरै दिन नटिक्ने र भण्डारणको व्यवस्था पनि नगरिएकाले कृषकहरुले उत्पादन गरेको किवी कुहिएर खेर जाने सम्भावना बढि छ । “सिमित मात्रामा उत्पादन हँुँदा त स्वाद चाख्नैको लागि भए पनि जिल्लामै खपत हुने थियो,” कृषि विकास कार्यालयका बागवानी अधिकृत हरिप्रसाद पाण्डेले भने “धेरै उत्पादन भएपछि खपत हुने सम्भावना छैन् ।” कृषकहरुकै सक्रियतामा प्राविधिकहरु गाउँमै झिकाएर किसानले यसको खेती गरेका हुन् । जिल्लामा कति क्षेत्रफलमाकिवी खेती गरियो भन्ने एकिन विवरण छैन् । प्रत्येक गाविसका कृषकले यसको खेती शुरु गरेकाले यसपालीदेखि ठूलो परिमाणमा किवी उत्पादन हुने कृषि कार्यालयको अनुमान छ ।
प्राविधिकहरुका अनुसार १५ सय देखि २५ सय मिटरको उचाईमा किवी खेती गर्न उपयुक्त मानिन्छ । विगत सात वर्ष यता पाँचथरमा किवीको खेती गर्न सुरु गरिएको भएता पनि दुई वर्ष यता कृृषकहरुले उल्लेख्य मात्रामा यसको खेती सुरु गरेका छन् । ओसिलो र भिरालो जमिनमा किवी खेती गर्न उपयुक्त हुने भएकाले पनि कृषकहरु यसको खेतीतर्फ आकर्षित भएका हुन् ।
बजारको अध्ययन नगरि अन्धाधुन्धकिवीको खेतीशुरु गरिएकाले उल्लेख्य मात्रामा यसको उत्पादन हुन थालेपछि मूल्य खस्कन सक्ने अनुमान गरिएको छ । किवीको फललाई प्रशोधन गर्ने कुनै उद्योग अहिलेसम्म नेपालमा बनेको छैन् । जसले गर्दा उत्पादन बृद्धि भएसँगै यसको मुल्यमा पनि गिरावट आउँन थालेको छ । शुरुवातीवर्षहरुमा प्रतिकिलो हजार रुपैँयाँसम्मा बिक्री भएको किवीको मूल्य अहिले एक सय ५० रुपैँयाँ सम्म झरेको छ । बजार अभावको कारण उत्पादनमा बृद्धि भएपछि किवीले मूल्य नपाउने देखिएको ।
0 comments:
Post a Comment