इलाममा मासिदै छ धानखेती, धान रोपाईं शुरु, अठार प्रतिशत रोपाईं सकियो

गेविन्द पौडेल
जिर्मले, १४ असारः कामदारको अभाव, सिचाईंको असुविधा र कम आम्दानी हुने भएपछि पछिल्लो समय इलामे किसानहरुको मोह धानखेती प्रति घट्न थालेको छ । गाउँघरमा रहेका युवा शक्तिहरु वैदेसिक रोजगारको लागि विदेसिएको कारण गाउँघरमा कामदारको अभाव भएको हो भने पानीको मुहान सुक्दै जानु र सरकारी सहयोगमा सिचाईंको व्यवस्था गरिन नसक्दा वर्षे पानीको भरमा मात्र निर्भर रहने गरेका किसानहरुले पछिल्लो समयमा धान खेत मासेर नगदेबाली अलैंची, अम्लिसो र तरकारी बालीहरु लगाउन थालेकाले धानखेती घट्दै गएको हो । 

कृषि प्रधान मुलुक नेपालका अधिकांस मानिसहरुको प्रमुख खाद्यन्न चामल नै रहेको तर धानखेती भने मासिदै गएको कारण अधिकांस नागरिकहरु चामलमा परनिर्भर रहदै आउनु परेको छ भने भविष्यमा खाद्य संकट आउने बुझेका भएपनि इलामे किसानहरुका लागि धानखेती असहयोगको कारण बोझिलो बनेको किसानहरुको गुनासो रहेको छ । हरेक वर्ष पैंत्तीस पाथीको बिउ राखेर प्रशस्त धान फलाउने गरेका इरौटार ३ प्यूरेका किसान खेमराज कार्कीले विगत दुई वर्ष यता खेतमा धान रोपेका छैनन् । यसको मुख्य कारण वि.सं. २०७० असोज १४ गते आएको बाढीले ठोट्ने खोलाबाट ल्याइएको पैनी बगाउनु हो । हाल सम्म उक्त क्षतिग्रस्त पैनी बनेको छैन । सिचाईंको अभावमा रोपाईंको त सम्भावना रहेन, विकल्पमा अन्य कृषि व्यवसाय गर्ने मन भए पनि पानी नभएपछि सबै खेतमा अघिल्लो वर्ष चिया लगाए । कार्की अगाडि भन्छन् तर चियाको समेत भविष्य राम्रो नदेखेपछि गतवर्ष करिब एकलाख बीस हजार रुपैंयाँको सामुहिक लगानीमा पाइप खरिद गरेर अलैची खेती हुरु गरेको कार्की बताउछन् । त्यस्तै हरेक वर्ष बीस पाथी बढिको बिउ राखेर धान रोप्ने गरेका जिर्मले ५ का गणेश राईले समेत धानखेती छाडेको दुईवर्ष नै भयो । उनी मात्र हैन जिर्मले ५मा रहेको ठूलो खेतमा यसवर्ष एक गाँज पनि धान रोपिएको छैन र रोप्ने तयारी समेत देखिदैन् ।
कृषिमा नयाँ नयाँ प्रविधि आएपनि गाउँघरमा त्यसको पहुँच नपुगेको, किसानहरुले उन्नत प्रविधि, सरकारी तवरबाट कृषिमा सहुलियत नपाएको, किसानको खेतबारीमा प्राविधिकहरुको यथेष्ट पहुँच नहुनु जस्ता कारण इलामका अधिकांस स्थानहरुमा धानखेती मासिदै गएको पाइन्छ । यहाँ सम्मकी मेची राजमार्ग अन्र्तगत गोदक गाविस पर्ने माइबेसीमा समेत धानखेती गर्न छाडिएको छ । जिल्लामा अहिलेसम्म १७ दशमलब ४५ प्रतिशत धान रोपाईं भएको जिल्ला कृषि विकास कार्यालय इलामले जनाएको छ । जिल्लाको धानखेती हुने जमिनमध्ये तीन हजार तीनसय चौत्तीस हेक्टर क्षेत्रफलमा धान रोपाइँ सकिएको जिल्ला कृषि विकास कार्यालयका बाली विकास अधिकृत उग्रनारायण चौधरीले बताए । सरकारले असार १५ गते विभिन्न कार्यक्रमका साथ धान दिवस मनाउने र धानको बारेमा वर्षमा एकदिन बेलीबिस्तार लगाउने सरकारी योजना रहेको छ । इलाममा धानखेती प्रवद्र्धन गर्ने के कस्ता कार्यक्रमहरु रहेका छन् भन्ने बारेमा जिल्ला कृषि कार्यालय इलाममा जानकारी लिदा धानको नयाँ जातको बिस्तार, बिउ वितरण, कुलो मर्मतको कार्यक्रम र पचास प्रतिशत अनुदानमा किसानहरुलाई हाते ट्याक्टर वितरणको कार्यक्रमहरु रहेको कार्यालय योजना अधिकृत प्रकाशमणि काफ्लेले जानकारी दिए ।हाल इलाममा १५ हजार नौ सय पन्ध्र हेक्टर क्षेफलमा धानखेती गरिने गरेको र प्रति हेक्टर तीन दशमलव दुई मेट्रिक टन उत्पादकत्व रहेको जिल्ला कृषि विकास कार्यालय इलामले जनाएको छ । मानो रोपेर मुरी फलाउने दिनका रुपमा आज रोपाई गरी धान दिवस मनाउने गरिन्छ । कृषि मन्त्रालयसहित विभिन्न कृषि क्षेत्रमा काम गर्ने संघसंस्थाले धान रोपाई गरी यो दिवस मनाउने गर्दछन् । खेतमा रोपाई गरि दही चिउरा खाने भएकाले आजका दिनलाई दही चिउरा खाने दिनका रुपमा समेत लिने गरिन्छ । वर्षामा हिलाम्य भएको शरीरमा उर्जा दिने भएकाले दही च्युरा खाने चलन रहेको विज्ञहरु बताउँछन् । कृषि प्रधान हाम्रो मुलुकमा खाद्य सुरक्षाको प्रमुख आधारको रुपमा रहेको धानको उत्पादनलाई महत्व दिदै सरकारले असार १५ लाई राष्ट्रिय धान दिवसका रुपमा मनाउने गरेको हो । सरकारी तथ्याङ्क अनुसार मुलुकको झण्डै १४ लाख हेक्टर जमिनमा धानखेती हुदै आएको छ भने करिब ९० अर्ब रुपैयाँ बराबरको धान उत्पादन हुने गरेको छ । सरकारले आजका दिनलाई दिवसका रुपमा मनाउदै आएपनि आधुनिक प्रविधिको आम किसानमाझ पुग्न नसकेका कारण खेतीयोग्य जमिन भएर पनि धान उत्पादनमा बृद्वि हुन नसकेको कृषि विज्ञहरुको भनाई छ । कुल धानखेती हुने करिब २१ प्रतिशत क्षेत्रफलमा मात्र सिँचाई सुविधा उपलब्ध भएकाले बाँकी क्षेत्रमा आकाशे पानीको भर पर्नुपर्ने स्थिति छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment