प्रवासमा भोगेको आफ्नो अनुभूतिः

नामः– बालकृष्ण सन्जेल
ठेगानाः– इलाम नगरपालिका–५, गोलाखर्क ।
फोनः– ०१६७०६५७१७
अचेलः– ईपो, पेराक मलेसिया 
म सामान्य परिवारमा आज भन्दा तीसवर्ष अगाडी बाबु धनञ्जय सन्जेल र माता ईन्द्रमायाको परिवारमा पाँचथरको पौवा सारताप भन्ने स्थानमा जन्मिएको हुँ । तर हाल इलाममा बसोबास गर्दछौ । घरको आर्थिक अवस्थालाई मध्यनजर गर्दा मैले मेरो पढाईलाई निम्न माध्यमिक तहबाट नै बिट मारेर बाबु, आमासँग घरव्यवहार चलाउन सहकार्य गर्दै आए । हाल मलेसियामा कार्यरत छु । 
प्रवासको मेरो अनुभूतिः–
यो वैदेशिक रोजगार मेरो निम्ति दोस्रो पटक हो । पहिलो पटक बहराईन तीनबर्ष कार्यरत रहे । बहराईनबाट फर्किएपछि इलाममा नै केही गरौ भन्ने सोच बनाएको थिए तर नेपालको राजनैतिक अस्थिरताको कारण कुनै पेशा व्यवसायबाट हामी सानो पूँजी हुनेहरुले स्थायित्व नपाउने देखे । तसर्थ पुन केही वर्षको निम्ति वैदेशिक रोजगार तर्फ जाने पारिवारिक सल्लाह गरेर हाल मलेसिया आईपुगेको छु । 
वैदेशिक रोजगारमा दोस्रो पटक जानलाई कोशिश गर्ने क्रममा मलेसियाकै एयरपोर्ट ट्रलिब्याईको निम्ति काठमाडौं पुगेर मेनपावरमा अन्तरवार्ता पनि दिए तर मेरो भाग्य भनौ सो कामको अन्तरवार्तामा नाम निकाल्नु सकिन । तसर्थ पहिला बहराईन गएको मेनपावरमा पुगेर एप्लाई गर्ने सोचको साथ काठमाडौंबाट फर्किदा नै बिर्तामोडमा अवस्थित उक्त मेनपावर मा गए । 
त्यहाँ मैले सोचे जस्तो खासै डिमाण्ड पाईन । तर ऐजेन्डले होटलको भिषा राम्रो हुन्छ, खाना बस्न फ्रि भनेर विश्वस्त बनाएको कारण त्यही होटलको वर्कर भिषामा नै प्रोसेस गरिदिनुहोस भनेर पासपोर्ट जिम्मा लगाए । ऐजेन्टले पनि प्रोसेसिङग गरौला बिचमा सम्पर्क गर्नेछौ भन्दै फोन नम्बर माग्यो, मैले सबै कामको जिम्मा लाएर घर फर्किए । 
पासपोर्ट बुझाएको २५ दिनमा मेडिकल चेकको लागि ऐजेन्टले बोलायो । म पनि मेडिकल गर्नुलाई ऐजेन्सी कहाँ गए, मेडिकल गरेपछि पुन म इलाम फर्किए । मैले पनि विदेश जानको निम्ति पूर्व तयारी गर्नुथियो । 
यसरी मेडिकल गरेको हप्तादिनमा भिषा आईपुगेको छ, उडान गर्ने गरी चाडै आउनु भनेर ऐजेन्टले मलाई कल गरयो । म पनि अब मलेसिया जान पाउने कुराले थोरै हर्षित बने, तर आफ्नो घरपरिवार र सानो छोरा छोडेर हिड्नु पर्ने बाध्यताले केही न्यास्रो नै बनेको थिए । जेहोस घरमा सबैसँग सरसल्लाह गरेर पुगेपछि सम्पर्क गर्नेछु भन्दै म घरबाट बिदा लिए । हिड्ने बेला सबैको आँखा रसिएको थियो, त्यसमा पनि सानो छोराले घात गरेको देख्दा विदेश नै नजाउ जस्तो लागेको थियो । तर तिनै बच्चा र परिवारको निम्ति मैले सोचेर परेलीबाट झरेको आँशुको भेललाई वेवास्ता गर्दै सबैसँग बिदाको हात हल्लाउदै ऐजेन्सी तिर हिडे । 
घरबाट बिदा लिएर करिब तीनघण्टा पछि बिर्तामोडमा अवस्थित ऐजेन्टलाई भेट े। मेरो उडान सम्बन्धी सम्पूर्ण कागजात काठमाडौं बाटै बुझ्नु पर्ने कुरा ऐजेन्टले बतायो । तर पैसा भने यही बुझाउनु होस, काठमाडौंमा बुझाउदा पनि हुन्छ तर पछि तलमाथि केही भयो भने जिम्मेवारी हुदैनौ भनेको हुनाले विश्वासको आधारमा लागत रकम त्यही जम्मा गरिदिएर काठमाडौंको ऐजेन्सीको नाम र सम्पर्क नम्बर लिएर काठमाडौंमा अवस्थित वल्र्ड ईन्टरनेशनल ओभरसिज प्रा.लि.सामाखुशी पुगे । काठमाडौंको ऐजेन्टले एकहप्ता सम्म राख्यो । त्यो ऐजेन्टले कानुनी प्रकृया पुरा गर्नलाई दुईदिने अभिमुखीकरण तालिम साथै श्रम स्वीकृति लिने काम गरायो । म घरबाट हिडेको एकहप्तामा मेरो गन्तव्य स्थानको टिकट र पासपोर्ट दिलायो ।
उक्त ऐज्न्टले हामी २६ जनालाई एकैपटक मलेसियाको उडान गरायो त्यसमध्ये म र चरिकोटको दुई साथीहरु एउटै कम्पनीमा परेछौ । हामीलाई ऐजेन्टले दुई प्रकारको कागजात दिएको थियो, जस अनुसार एउटा नेपाल एयरपोर्ट र अर्को मलेसिया एयरपोर्टमा देखाउन लगाएको थियो । हामीले पनि सोही अनुसार ग¥यौ । हाम्रो उडान बंगलादेश ट्रान्जिट हुदै ६ घण्टाको यात्राबाट मलेसिया आईपुग्यौ । मलेसियाको एयरपोर्टमा संयोगवस हामी ज्यादा समय बस्नु परेन, तर त्यहाँ नेपाली श्रमिकहरु हप्तौ देखि भोकप्यास बसेको देख्दा मनै रसाउथ्यो । त्यहाँ खटिएको रेला प्रहरीको ज्यादति देख्दा एकप्रकारको कैदखाना हो भन्ने कि भन्ने जो कोहीले आभाष हुन्थ्यो । बिचराहरु आफ्नै लगानीमा कष्टकर दिन बिताउदाँको ह्रदयविदारक कथा सुनाउथ्यो । 
हामीलाई लिन ऐजेन्ट आईसकेको हुँदा मैले मेरो निम्ति बाटोमा खान भनेर बोकेको चाउचाउ र बिस्कुटहरु ति साथीहरुलाई दिएर ऐजेन्टको साथ लागे । विचराहरु हामीलाई भाग्यमानी हुनुहुदो रहेछ भनेर उनीहरुले भन्दा एक प्रकारले खुशी महसुस गर्दै ऐजेन्टले ल्याएको माईक्रोबसमा चढ्यौ । हामी एकै साथ आएको २६ जना मध्ये ऐजेन्टले साथीहरुलाई ठाउँ ठाउँमा झार्दै हामी तीन जनालाई पनि कम्पनीको होस्टल पु¥यायो । कम्पनीमा एकजना नेपाली साथी र बर्मेलीहरु रहेछन् । उनीहरु डिउटी जान तयारी भईन्जेलमा हामी पनि फ्रेस भएर उनीहरुको साथमा कम्पनी गयौ । कम्पनीको बोसको बोली सुन्दा एकदम कडा स्वभावको जस्तै ठाने । हामी हरुलाई आ–आफ्नो कामको बारे जानकारी गराईयो, भाग्यवश म वेटरमा परे ।  
हामीले कम्पनीमा पुगेको भोलिपल्टबाट काम गर्नुपर्ने भयो, तर भाषाको अभावमा केही अप्ठ्यारो महशुस गर्दै भएपनि आएसम्मको अंग्रेजी भाषा र ईशारामा काम गर्न थालियो । मेरो डिपार्टमा एकजना बर्मेली केटी पनि काम गर्ने परेको हुँदा तिनले काम गर्ने तौरतरिकामा ईशाराले भएपनि बुझाउने सहयोग गरिन् । कहिले कही त कस्टमरको नजिक जान नपरे पनि हुन्थ्यो भन्ने लाग्दथ्यो तर मेरो कामको कारण जान बाध्य हुन्थे । हामीलाई ऐजेन्टले भने मुताविक बेसिक दिएता पनि ओटी भने पाईएन । नयाँ भईन्जेल बेसिक तलबमा नै काम गर्न बाध्य भए । अन्य आम्दानीको स्रोत भनेको कुनै कुनै कस्टमरले बक्सिस (टिप्स) दिन्थ्यो त्यसमा नै चित्त बुझाउनु पर्दथ्यो । समयहरु बित्दै गए मैले पनि भाषा र कामहरु सिक्दै गए अनि बोसले मासिक रुपमा केही रकम थप दिन थाल्यो । मैले यो कम्पनीमा काम गरेर एकपटक घर बिदा समेत गएर आईसकेको छु । तर अब यो परमिट सकेपछि भने फिनिष्टमा घर जाने निर्णय गरेको छु । हाल मलेसियामा पैसाको भाउ घटेको छ । अन्य हरेक उपभोग्य सामानको मूल्य आकासिदो महंगी छ । होटल लाईनको काम भएर हो, कुनै समय मरिन्जेल काम गर्नुपर्ने कुनै समय एकदुई घण्टा बस्नु पाईन्थ्यो । 
जेहोस समष्टीमा भन्नुपर्दा मेरो काम ठिकै छ तर यहाँ कम्पनी राम्रो भएता पनि लुटेराहरुको कारण एकदमै असुरक्षित स्थान महसुस गरेको छु । मलेसिया हामी आप्रावासीहरुको निम्ति असुरक्षित स्थान बन्दै गएकोछ । यस देशमा विभिन्न समुदायको बसाई भएता पनि तामिल जात (जसलाई आप्रावासीहरुले काले भनेर चिन्ने जात) एकदमै फटाहा हुँदो रहेछन् । यिनीहरुले मोबाईल र पैसाको निम्ति ज्यानै समेत लिनु पछि नपर्दो रहेछन् । होस्टल भन्दा बाहिर फेरो एक्लो,दोकलो हिड्नुलाई ज्यादै कठिन हुँदो रहेछ । कतिखेर लुटिन्छौ, कतिखेर कुटाई खाईन्छ पत्तो नहुने । कतै हिड्नुपर्दा पनि ट्याक्सीवालबाट लुटिने डरत्रास लिनुपर्ने हुन्छ । यहाँका पुलिसहरु पनि आप्रावासीहरुको पैसा र मोबाईल अनेकौ बहानाबाजी गरेर लुट्ने गर्दछन् । भाषा नजान्नेहरुको त काल नै ठहरिन्छ मलेसियन पुलिस । तिनीहरुले भाषा जानेकाहरुसँग पनि दलाली गरेर पाँच दश रिंगेट पनि लिएर मात्रै छाड्छन् । भाषा नजान्नेहरुको त पैसा, मोबाईल, औठी, सिक्री जे छ त्यही थुतेर नाङ्गो पारेर नै छाड्छन् । मलेसिया पैसामा बिकेको ठाउँ हो भन्दा फरक पर्दैन् । 
तसर्थ यस देशमा सकभर नेपाली दाजुभाई, दिदीबहिनीहरु जो कोही पनि नआउनुहोस् । बरु नेपालमा ढिडो रोटी खाएर बसौ । यदि वैदेशिक रोजगारमा जानै पर्ने बाध्यता छ भने अन्य देशलाई गन्तव्य क्षेत्र बनाउनुहोस् म दुईहात जोडेर विन्ती गर्दछु । 
विदेश जानु चाहानु हुनेहरुलाई मेरो सन्देशः– 
परदेशमा मैले भोगेको र देखे अनुसार कोही विदेश जाने सोचमा हुनुहुन्छ भने मेरो यो सन्देश छ ।
हामीले सोचे जस्तो र ऐजेन्टले दिएको आश्वासन जस्तै हुदैन रहेछ । पहिलो कुरा भाषाले नै समस्या बनाउदो रहेछ, दोस्रो कुरा हाम्रो सीपभन्दा बाहिरका काम गर्नुपर्ने हुँदा कठिनाई हुने । कतिपय कामहरु हाम्रो शारीरिक बलले पनि गर्नु नसकिने कामहरु गर्नुपर्ने रहेछ । 
कतिपय कम्पनीमा स्वास्थ्य नै बिग्रिने हानिकारक केमिकलसँग काम गर्नुपर्दो रहेछ । यस्ता कठिन कामहरुको कारण कतिपय साथीहरु अवैधानिक बन्दो रहेछन् । तसर्थ विदेश जानेहरुले आफ्नो दक्षतानुसारको काममा मात्रै जानुहुन अनुरोध गर्दछु । म यस मलेसियामा प्रवासी ईलामेली जनसम्पर्क मञ्चसँग सम्बद्ध भएको कारण यस मञ्चले धेरै नै पिडीत ईलामेलीहरुलाई सहयोग गरेको देखेको छु ।
ति पिडीतहरुको पीडालाई नजिकबाट न्याल्ने अवसर पाएको छु । तसर्थ जो कोही आफ्नो सीप अनुसार मात्रै परदेश लाग्नुहोस् । परदेश लागेपछि जिल्लावासी सामाजिक संघ संस्थामा आवद्ध बनौ भन्ने आग्रह गर्दछु । 
जय श्रमिक, जय ईलामेली ।
यस प्रवासका अनुभूति स्तम्भका सम्पादकः बुद्धीमान राई ‘मुर्ख’

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment