ऋण तिर्न नसक्दा थलिदैछन् इलामका गाई फार्महरु


इलाम, १३ असारः इलाम सूर्योदय नगरपालिका–३ सुन्तलेका नवराज अधिकारीले सदरमुकामस्थित एक बैंकबाट लिएको ऋण तिर्न नसकेको तीन वर्ष भइसक्यो । तीस लाख रुपैंयाँ बैंकको ऋण लगानी गरेर गाई फार्म चलाएका अधिकारीको फार्मले फाइदा नदिएपछि उनलाई सदरमुकामस्थित एक्सल बैंकबाट लिएको ऋण तिर्न महाभारत बनेको छ । फार्ममा उत्पादित दुधको बजार राम्रो नहुँदा तीन वर्षदेखि बैंकको ब्याज मात्र तिर्न सकेको अधिकारी बताउँछन् । ‘विदेश जानुभन्दा गाउँमै केहि गरौं भनेर गाई फार्ममा तीस लाख रुपैंयाँ लगाइयो, अहिले फार्मले ऋणमा डुबायो । अब कसरी बैंकको ऋण तिर्ने सोच्नै सकिरहेको छैन’ –अधिकारीले भने ।
गएको बैसाख १२ गतेको भूकम्प र मधेस आन्दोलनसँग ओरालो लागेको फार्मको व्यवसाय अहिले थाम्नै मुस्किल बनेको उनी बताउँछन् । अधिकारीसहित रविन तिम्सिना, सुनिल अधिकारी र उद्धव अधिकारी चार जना मिलेर खोलेको गाईफार्ममा शुरुमा सत्ताईस वटा गाई थिए । आर्थिक संकट भएपछि अहिले आठ माऊ मात्र गाई पाल्दै गरेको अर्का लगानीकर्ता रविन तिम्सिना बताउँछन्  । ‘घाँस–पराल, दाना, औषधी–उपचार सबैथोक जोड्दा कामदारको श्रमको मूल्य समेत नउठ्ने अवस्था छ’ तिम्सिनाले भने– ‘बैंकबाट १४ प्रतिशतमा काडेको ऋणको किस्ता बुझाउन महिनैभर तनाव खेप्नु परिरहेको छ ।’ इलामका अन्य स्थानमा पनि व्यावसायिक गाईपालन भइरहेको छ । इलाम सूर्योदय नगरपालिका–१ का किसान अमिर तामाङलाई पनि गएको वर्ष गाईपालन व्यवसायलाई थेग्न झण्डै मुस्किल परेको थियो । जसोतसो व्यवसाय धानेको सुनाउँदै उनले भने– ‘अहिले चाँहि अथवा सामान्य भएकाले गाईलाई दाना खुवाउन चाँहि पु¥याउँदै छु, सरकारबाट केही सहयोग नहुँदा व्यवसायिक गाईपालनले फाइदा नहुँदो रहेछ ।’ सूर्योदय नगरपालिका–१ का तीन दाजुभाई गाउँमै गाई फार्म सञ्चालन गरेर स्वरोजगार त बन्नु भयो तर, फार्मको खर्च धान्न भने धौंधौ भइरहेको बताउँछन् । करीब एघार लाख रुपैयाँ संकलन गरी सञ्चालन गरिएको फार्मबाट दैनिक साठ्ठी लिटर दूध उत्पादन हुन्छ । लगानीकर्ता मध्येका खडानन्द अधिकारी भारतको रोजगारीबाट फर्केर फार्ममा लगानी गरेका हुन् । खडानन्द भन्छन्– ‘अरुका देशमा गएर जोखिमपूर्ण काम गर्नुभन्दा यहीं केही गरौं भनेर फार्म शुरु गरेका थियौं । तर सरकारको नीति किसानमैत्री नहुँदा अहिले फार्म चलाउनु न बन्द गर्नु जस्तो भइरहेको छ ।’
सरकारले दूध उत्पादनको पकेट क्षेत्र घोषणा गरेको भए पनि यहाँका किसानलाई गाईपालनका लागि आवश्यक कुनै पनि कुरामा सहयोग नभएको उनी बताउँछन् । इलाममा व्यवसायिक दूध उत्पादनमा पढे लेखेका युवाहरु जोशिएर लागेको भए पनि अहिले फार्मले फाइदा दिनुको सट्टा ऋणमा डुबाउन थालेपछि हच्किएका छन् । जिल्ला पशु सेवा कार्यालय इलामले जिल्लाका आइतबारे, फिक्कल, इलाम, नेपालटार, आमचोक, देउराली, सुलुबुङ्ग, पञ्चकन्या, श्रीअन्तु, समाल्बुङ्ग र गोर्खे गरी एघार वटा क्षेत्रलाई उन्नत जातका गाईको पकेट क्षेत्र घोषणा गरेको छ । यी क्षेत्रमा एक्त्तीस वटा गाई फार्म रहेको जिल्ला पशु सेवा कार्यालयको तथ्याङ्कमा उल्लेख छ । चालु आर्थिक वर्षमा बाह् वटा गाई फार्म थप हुने प्रक्रियामा रहेको पशु विकास अधिकृत ध्रुव यादवले जानकारी दिए । यादवका अनुसार जिल्लामा एक सय छपन्न वटा पशुपालक समूह रहेका छन् । पकेट क्षेत्र घोषणा गरिएका र समूह रहेका स्थानमा पशु आहारा, घाँस, औषधी तथा गोठ सुधार कार्यक्रम सञ्चालन भइरहेको यादवले जानकारी दिए । कार्यालयका अनुसार जिल्लामा एक लाख नौ हजार दुई सय एकानब्बे वटा उन्नत जातका गाई रहेका छन् । तर, कृत्रिम गर्भाधान, नश्लसुधार, उपचार आदिका लागि पशु सेवाबाट सहयोग भए पनि गाई फार्म सञ्चालनमा भने ठोस कार्यक्रम नहुँदा फार्म नै बन्द हुने अवस्था रहेको किसान बताउँछन् ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment