वारीबाटै विद्यालय हेरेर फर्कन्छन् विद्यार्थी
दानाबारी, १२ असारः जिल्लाको दक्षिणी गाविस दानाबारी गाविसका स्थानीयलाई वर्षा लागेसँगै गरुवा खोलाले सताउन सम्म सताउने गरेको छ । उक्त गाविसको वडा न.१ शितलीमा कन्काई उच्च मावि रहेको छ । त्यस विद्यालयमा पठन पाठन गर्नको लागि गरुवा खोला पारीपटी रहेको शुक्रबारे, डाडाँगाउँ, दानाबारी एक, दुई, तीन र चार नम्बर वडा लगायतका विद्यार्थीहरु पढ्नको लागि करिब चार सय भन्दा बढी विद्यार्थीहरु दुई घण्टा लामो बाटो पैदल हिडेर आउने गर्छन् तर विद्यालय नजिकै रहेको गरुवा खोलामा पुगे पछि वर्खा याममा कसरी खोला तर्ने भनेर अलमलमा पर्दछन् ।
उनीहरुले यसपटक मात्र होइन धेरै पहिले देखि नै यस्तो सास्ती भोग्नु परेको शिक्षक एवम विद्यार्थीहरु बताउछन् । वर्खा यामको समयमा खोला तर्न नसकेर खोला पारीपट्टीका विद्यार्थी–शिक्षकहरु खोला वारी पट्टिको विद्यालय हेरेर फर्किने गरेको शिक्षक हरि पौडे्ल बताउछन् । यसरी वर्षात लगे सँगै विद्यालयमा विद्यार्थीहरुको उपस्थिति न्युन हुने गरेको छ । खोलाले विद्यार्थीहरु मात्र होइन अन्य सर्वसाधारणहरुलाई पनि उत्तिकै सास्ती दिदै आएको छ । खोलाको कारण स्थानीय स्तरमा उत्पादन हुने उत्पादनहरु बजार सम्म पु¥याउन नसक्दा त्यतिकै फाल्नु पर्ने स्थानीयहरुको गुनासो रहेको छ । जसले गर्दा उनीहरुको आम्दानीमा पनि असर परेको गुनासो रहेको छ । यस प्रकारको समस्यामा अहिले सम्म कुनै पनि निकायले ध्यान नदिएको भन्दै गुनासो गर्ने गरेका छन् ।
पुल निर्माण शुरु भएको पनि चार वर्ष बितिसक्दा पनि हाल सम्म पनि निर्माणकै चरणमा मात्र रहिरहेको छ । पुल निर्माण पनि आर्थिक वर्ष समाप्त हुने बेलामा गर्छन् त्यही बेला बर्खा मौसम शुरु भएर खोलामा बाढी आउन थाले पछि काम रोक्न बाध्य हुनु पर्दछ, जसले गर्दा पुल निर्माणको कामले गति लिन नसकेको स्थानीय बताउछन् । स्थानीय समाजसेवीका अनुसार पुल निमार्ण व्यवसायी र स्थानीयबासीको विवादका कारण पुल निमार्ण कार्यमा ढिलाई भएको हो । सम्बन्धित निकायले चासो नदिदा र निमार्ण कम्पनीले समयमा काम नसकिदिंदा दानाबारीबासी समस्यामा परेका हुन् । स्थानीय कृष्ण खाकीका अनुसार गरुवा पुल बनाउने ठेक्केदार डम्वर गदालले स्थानीयको चाहना अनुरुप काम नगरे पछि स्थानीयसँग विवाद भएको थियो त्यही विवादलाई कारण देखाउँदै गदालले काम नगरेको र सम्बन्धित निकायलाई बारम्बार पुल छिटो निर्माण गरिदिन पहल गर्न अनुरोध गर्दा पनि अहिले सम्म पुल निर्माण सम्पन्न हुन नसकेको बताए ।
गरुवा खोलाको पुल निर्माणको ठेक्का पाएको वाई पी देव एण्ड सागर कम्पनीले २०६८ साल असारमा २ करोड १० लाख ८९ हजार ६ सय असी रुपैंयाँमा ठेक्का पारेको हो । जस मध्ये ५३ लाख ९८ हजार रुपैंयाँ भुक्तानी डिभिजन सडक विभागले गरिकेको ई. ध्रुव नारायण पण्डेले जानकारी दिए । निमार्ण कम्पनीले दुई वर्ष भित्र सो काम सडक डिभिजनलाई बुझाई सक्नु पर्ने सम्झौता रहेको छ तर अहिले सम्म पनि पुलको पिलर सम्मको निमार्ण कार्य सम्पन्न भएको छैन् । डिभिजन सडक कार्यालयका अनुसार पटक–पटक पत्र काटेर काम निमार्ण सम्पन्न गरेर बुझाउन भन्दा पनि कम्पनीले बाराम्बार विभिन्न बाहना वनाएर काममा ढिला गर्ने गरेको छ । उक्त खोलामा पुल नभएर कतिपय शिक्षक विद्यार्थीहरु कष्टपूर्ण यात्रा गर्दा किताब, कापी, छाता र छात्राहरुको सल समेत बगाएर लाने गरेको छ । त्यस्तै उक्त खोलाले शुक्रबारे लगायतका बजारको फोहोर बगाउने हुँदा फोहोर पानीले विभिन्न किसिमको रोगहरु लाग्ने गरेको विद्यार्थीहरु बताउछन् । खोला माथिबाट उर्लेर आउदा केहिदिन अगाडि एउटा ट्याक्टर समेत बगायो भने अन्य यातायातका साधनहरु त चल्न सक्ने अवस्था नै रहेको छैन् । दानाबारीलाई नगरपालिका घोषणा गर्ने हल्ला चले पनि सम्बन्धित निकायले विकास निर्माणको कामलाई चासो नदिँदा सानातिना अधुरो कामले सर्वसाधारणलाई ठुलो सास्ती पुग्ने गरेको प्रत्यक्ष प्रमाण बनेको छ गरुवा खोलाको पुल ।
0 comments:
Post a Comment