अखिल इलाम अध्यक्षमा तीन खेमाबाट उम्मेद्वारीको तयारी

इलाम, ३२ जेठ ः नेकपा एमाले निकट अनेरास्ववियू इलामको अधिवेशन नजिकिएसँगै विभिन्न पदमा उम्मेद्धवारी दिनेको होडबाजी समेत चलेको छ । अध्यक्ष पदमा तीन जना उम्मेद्धार रहेको समाचार श्रोतको दाबी छ । २२ औँ जिल्ला अधिवेशन असार २ र ३ गते इलाम सदरमुकाममा हुने निश्चित भएको छ । जसका लागि जिल्ला अध्यक्ष पदमा तीन जना विद्यार्थी नेता आ–आफ्नो पक्षमा नतीजा निकाल्न व्यस्त समेत बनेका छन् । उनीहरुले आफु बलियो देखाउन र आफ्नो पकड जमाउन समेत विभिन्न उपाय अपनाउन थालेका छन् । जिल्लामा रहेका विद्यार्थी कार्यकर्ता र केन्द्रमा रहेका दरिला नेताहरुसँग फोन सम्पर्क र जीतको रणनीति अपनाउन लागि परेका छन् ।

अध्यक्ष पदमा आयोजक समिति संयोजक इश्वरी तामाङ, प्रचार प्रसार विभाग प्रमुख धनबहादुर सुवेदी र सचिवालय सदस्य प्रवेश पराजुलीले उम्मेद्धारी दिने प्रायः निश्चित भइसकेको छ । तामाङ पुर्व उपाध्यक्ष, सुवेदी पुर्व सचिव र पराजुली पुर्व सह–सचिव पदमा रहेर एकै समय एक–एक कार्यकाल बिताइसकेका छन् । उनीहरुले जिल्ला स्तरिय नेताहरु समाएर केन्द्रका पकडवाला नेताहरु समेतको साथ पाएका छन् । अध्यक्ष पदमा उठ्न लागेका तामाङ जिल्ला सचिव महेश बस्नेत हुँदै पुर्व सभामुख तथा इलाम क्षेत्र नम्बर दुईका सांसद सुवासचन्द्र नेम्वाङ निकटका मानिन्छन् । त्यस्तै सुवेदी संस्थापन पक्ष अर्थात जिल्ला अध्यक्ष राम राना हुँदै पुर्व प्रधानमन्त्री तथा इलाम क्षेत्र नम्बर एकका सांसद झलनाथ खनाल पक्षधर मानिन्छन् भने पराजुली जिल्ला सचिवालय सदस्य गणेश बराल हुँदै पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली निकटका रहेको श्रोत बताउँछ । उनीहरुलाई जिताउन केन्द्र स्तरका अखिलका नेता समेत जिल्ला आउने भएका छन् । केहि नेता काठमाडौंबाट हिँडी सकेको त केहि झापाबाट इलामतर्फ लागिसकेको समेत बुझिएको छ । सहमति जुटाउन मंगलबार अबेर सम्म पार्टी कार्यालयमा अखिलको बैठक बसे पनि सहमती जुट्न नसकेको जनाएको छ । विद्यार्थी संगठनको पार्टीमा प्रभाव जमाउन राम्रै हात हुने भएकाले पनि आफ्नो पक्षमा नतीजा पार्नै पर्ने उनीहरुको दाबी छ । त्यस्तै सचिव पदमा सचिवालय सदस्य दिनेश ढकाल र शुसिला रिसालले उम्मेद्धारी दिने भएका छन् । कोषाध्यक्ष पदमा प्रकाश घिमिरे र बिमल घिमिरे उठ्ने भएका छन् । उनीहरु समेत हाल सचिवालय सदस्य हुन् ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment