विदेशी चिया बायरहरु इलाम आउने क्रम बढ्दै, इलामको चिया जापानमा बेच्दै ताचुया


इलाम, १७ असारः तीन लाख जनसंख्या भएको जापानको एक शहर तोकुसिमाबाट नियमति रुपमा मायेखावा इलाम आउन थालेको चार बर्ष भयो । मुना तारा इण्टरनेशनल प्रालिले सञ्चालन गरेको इलाम टी हाउसबाट जापानी नागरिक मायेखावा ताचुया इलाम आई बर्षको दुई पटकसम्म चिया किनेर जापान लैजान्छन् । एक पटक इलाम आउदा उनी ५ सय किलो ब्लाक टी किनेर लाने गरेका छन् । चियाबारी दैनिकसँग को भेटमा ताचुयाले यसपटकको भ्रमणमा ७ सय किलो चिया किनेर लैजान लागेको उनले बताए । जापानका प्रशिद्ध सहरहरु टोकियो, ओसाका, हिरोसिमा, कोवे र तोकुसिमामा उनको चियाको व्यापार छ । पचास ग्रामको प्याक देखि आधा किलोको ब्लाक टीको प्याक बनाएर उनी चिया बेच्छन् ।  ३९ बर्षका ताचुयाको हाल जापानमा चियाको मात्र व्यापार छ । इलाम आएर चिया खरिद गरि जापान लगेर बेच्न अघि अन्य पेशामा नै आवद्ध उनी हाल चिया व्यापार मात्र गरेर बसेको बताउँछन् । ताचुयाको इलामसँगको सम्बन्ध कसरी गासियो त, हामीले सोध्यौ । 
जापानमा दार्जिलिङ चिया मात्र पिएका ताचुयाले दार्जिलिङ चियाको मात्र नाम सुनेका थिए । उनी पहिलोपटक चियाको व्यापार गर्ने सोच लिएर नेपाल आउदा दार्जिलिङकै चिया खरिद गर्ने सोचेर आएका थिए । ‘तर इलामको चिया नै दार्जिलिङमा पुगेर दार्जिलिङ टी को नाममा विश्व बजारमा विक्री हुन्छ भन्ने थाहा पाएँ, अनि इलामबाट नै चिया जाजान लगेर बेच्ने निधो गरेँ ।’ अल नेपाल एडभेण्चर टुर्स एण्ड ट्रेक प्रालिका म्यानेजिङ डाइरेक्टर पिताम्बर गुरुङले हाल इलामबाट जापान चिया एक्सपोर्ट गर्न ताचुयालाई सघाउँछन् । ताचुया पिताम्बर गुरुङसँग नियमित इलाम आउन थालेको २ बर्ष भयो । जापानिज भाषामा दख्खल राख्ने पिताम्बरले हामीलाई थिन्ले शेर्पाको बारेमा बताए । शेर्पा ताचुयालाई पहिलोपटक इलाम लिएर आउने गाईड थिए । उनैले मुना तारा इण्टरनेशनल प्रालिका म्यानेजिङ डाइरेक्टर हरि गुरुङसँग भेट गराए । त्यसैबेला देखि हरिले जापान चिया एक्सपोर्ट गर्न थाले । हरिले भने, ‘जापानमा ग्रीन टी जादैन, ब्लाक मात्र । अमेरिका, अष्ट्रेलिया र युरोप जस्तो राष्ट्रमा मात्र हामी ग्रीन टी, सिल्भर टिप्स, सिल्भर निडल टी लगायत अरु क्वालिटीका चियाहरु पठाइरहेका छौ ।’ उनले थपे, ‘गर्व र गौरवको विषय त के छ भने, हामीले एक्सपोर्ट गरेको चियामा नेपालको नाम हुन्छ ।’ ताचुयाले जापानमा बेच्ने चियाको प्याकेटको तस्विर देखाउदै भने, ‘हामी इलामबाट लगेको चियालाई नेपालको चिया नाम दिएर मात्र बेच्छौं ।’ उनले थपे, ‘नेपालको चियाको जापानमा बर्षेनी माग बढ्दो छ । मलै प्याकेजिङ गरेर बेच्ने चिया मेरो व्यापार क्षेत्रमा एक नम्बरमा पर्छ ।’ गत बर्ष ताचुयाले बर्षमा तीन पटक इलामबाट चिया जापान लगेका थिए । प्रति किलो हजार बाह्रसय रुपैयाँ तिरेर ताचुयाले इलामबाट लगेको कालो चिया जापानमा तीस हजार रुपैयाँ प्रतिकिलो बेच्छन् । मायेकावा टात्सुया टी पार्टी प्रालिको नाममा ताचुयाले जापानमा चिया बेच्दै आएका छन् । उनी आफै पनि चियाका पारखी हुन् । 
प्रत्येक बर्ष इलाममै आएर चिया टेष्ट गरि चिया खरिद गर्न आउने विदेशी व्यापारीको सँख्यामा उल्लेख्य बृद्धि हुँदै गएको इलाम टी हाउसका प्रोपोराईटर हरि गुरुङ बताउँछन् । सानो परिमाणमा चिया किन्न आउने व्यापारीहरु इलामका साना चिया कारखाना र इलामका चिया डिलरसँगै चिया खरिद गर्ने गरेको उनको अनुभव छ । केन्द्रिय चिया सहकारी संघका महासचिव रविन राई गुरुङको कुरासँग सहमत राख्छन् । 
उनी भन्छन्, इलाममा रहेको चियाका घरेलु उद्योग, साना चिया फ्याक्ट्री र चिया डिलरहरुसँग चिया किन्न आउने विदेशी व्यापारीहरुको सँख्या बढेको छ । भर्खरै पनि फ्रान्सबाट चिया खरिद गर्न आउने व्यापारीको विषयमा बताउदै उनले भने, ‘सञ्चारको प्रभावकारी माध्यम इण्टरनेट फेसबुकका कारण दार्जिलिङकै चिया खरिद गरिरहेका व्यापारीहरु युरोपेली राष्ट्रहरुबाट नेपाल आउन थालेका हुन् । नेपालको चिया दार्जिलिङको भन्दा नयाँ छ भन्ने बुझ्नेहरु इलाम अनि नेपालकै चिया खरिद गर्न बढि इच्छुक हुन्छन् ।’ 

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment