इलाम, २२ फागुनः चिया खेतीले लोकप्रिय इलामको परिचय विस्तारै बदलिँदै गएको छ । इलामका किसान चियामा मात्र हैन, अम्रिसो, अकबरे खुसार्नी, अलैंची, अदुवा र दुग्यजन्य पदार्थ उत्पादनका हिसाबले पूर्वमै अब्बल मानिन्छ । तर, अब यतिले मात्र इलामका किसानको परिचय पूर्ण हुँदैन । इलाममा बहुउपयोगी कृषि पेशा अपनाउने किसान पनि दिनदिनै बढिरहेका छन् । इलाममा उत्पादन भएको किबी फल दुबई निर्यात हुन थालेको छ । यसले नेपालमै कृषिमा लगानी गरे समृद्धि हासिल गर्न सकिन्छ भन्ने उदाहरण प्रस्तुत पनि गरेको छ ।
इलाममा किबी फल उत्पादन गरेर सफल बनेका व्यवसायी छन् । उनीहरूले उत्पादन गरेको सामग्रीले अन्तराष्ट्रिय बजारमा उत्साहजनक प्रतिस्पर्धा गरिरहेको छ । सुलुबुङका तारामणि खतिवडा र पार्वती खतिवडाले यसै वर्षदेखि दुबईका बजारमा किबी फल पठाउन थालेका छन् । यससँगै इलाम जिल्लाको परिचय दुबईसँग जोडिन पुगेको छ । दस वर्षअघि इलाममा पहिलोपटक किबी खेती भित्राएका खतिवडा दम्पतीले यसको व्यापार दुबईसम्म विस्तार गरेका हुन् । ‘हाम्रो वार्षिक उत्पादन क्षमता १० टन हो,’ वातावरण संरक्षण तथा वैकल्पिक ऊर्जा विकास प्रालिकी अध्यक्षसमेत रहेकी पार्वती खतिवडाले भनिन्, ‘त्यसमध्ये १० प्रतिशत दुबई पठाइएको हो।’
दुबईबाट नेपाली उत्पादन राम्रो भएको प्रतिक्रिया आएको खतिवडाले बताएकी छिन् । उनले भनिन्, ‘प्याकेजिङ गरेर पठाएपछि एक महिनासम्म राम्रो रहन्छ, बहुउपयोगी भएकाले विदेशी बजारमा किबीको माग उच्च छ ।’ अर्गानिक तथा गुणस्तरीय किबी जिल्ला बाहिरका उपभोक्तामाझ पुर्याउनका लागि बिर्तामोडस्थित कृषिथोक बजारबाट खतिवडा दम्पतीले बिक्री समेत सुरू गरेका छन् । सुलुबुङमा चालीस रोपनीभन्दा धेरै जग्गा लिएर किबीका बिरुवा लगाइएको पार्वती खतिवडाले बताइन् । ‘एक रोपनीमा १५ वटा किबीका बिरुवा रोपेका छौं,’ उनले भनिन्, ‘पाँच सय वटाभन्दा धेरै बिरुवा फल्ने अवस्थामा छन् ।’
उनका अनुसार तीन सय बिरुवाबाट किबी उत्पादन हुन थालेको छ । एउटै बोटबाट सरदर एक सय किलोग्रामसम्म किबी उत्पादन हुन्छ । प्रतिकेजी दुईदेखि चार सयदेखि छ सय रुपैयाँमा बिक्री गर्दै आएको उनले बताइन् । सुलुबुङस्थित वातावरण संरक्षण तथा वैकल्पिक ऊर्जा विकास प्रालिले २४ लाख ७५ हजार रुपैयाँको लगानीमा ८० हजार किबीका बिरुवा उत्पादन थालेको थियो । ‘यो कार्य अहिले पनि जारी छ,’ उनले भनिन् । ऊर्जा विकास प्रालिका म्यानेजर तारामणि खतिवडाका अनुसार किबी रोप्न इच्छुक किसानलाई ३ सय र ५ सयका दरले बिरुवा उपलब्ध गराइन्छ । कृषि विकास कार्यालय इलामका अनुसार इलामका तीन नगरपालिका र ४३ गाविसका ५ हजारभन्दा धेरै कृषकले झन्डै ५० हजार किबीका बिरुवा लगाएका छन् । कार्यालयका अनुसार साढे ४ देखि साढे ६ सम्म अम्लियपन भएको माटोमा खेती गर्न सकिने किबीको उत्कृष्ट फल प्रतिकिलोग्राम ६ सय रुपैयाँसम्ममा बिक्री हुन्छ ।
किबीको आधा दाना बराबर ४ दाना कागती, १७ दाना स्याउ, २ दाना सुन्तला र ८ कोसा केराको पौष्टिक तत्व मिल्ने विश्व खाद्य संगठनले पुष्टि गरेको छ । पूर्वी पहाडका अन्य जिल्लामा पनि किबीको व्यवसायिक खेती विस्तार भइरहेको छ । ताप्लेजुङ, पाँचथर, धनकुटा, भोजपुर र तेह्रथुममा किबी खेती सुरू भएको छ । कार्यालयका अनुसार चार वर्षअघिसम्म धान नफलेर हैरानी व्यहोर्दै आएका किसान किबीबाट प्रशस्तै आम्दानी हुन थालेपछि हौसिएका छन् । चैत–वैशाखमा चिचिला लागेर कात्तिकमा पाक्ने किबीको एउटा बोटबाट वार्षिक पचासदेखि साठी हजार रुपैयाँसम्म आम्दानी हुने म्यानेजर खतिवडा बताउँछन् । ‘किबीबाट चिया र अलैंचीभन्दा १० गुणा बढी आम्दानी हुन्छ,’ खतिवडा भन्छन्, ‘रोग र किराले त्यति असर नगर्ने भएकोले किबीबाट छोटो समयमै धेरै आम्दानी लिन सकिन्छ ।’ नेपालका साथै भारतको सिक्किम, दार्जिलिङ, कालिङ्पोङ लगायतका ठाउँबाट किबीका विरुवा लिन किसानहरू आउने गरेको खतिवडा बताउँछन् । किबीमा भिटामिन ‘सी’ लगायतका पोषकतत्वहरू धेरै मात्रामा पाइन्छ । खान स्वादिष्ट र खेती गर्न सजिलो किबी फलबाट जुस, जाम, जेली, वाइन, केक, बिस्कुट, चकलेटलगायत कस्मेटिक सामान, भिटामिनसहित २ सय ४८ वटा वस्तु निर्माण भइसकेको खतिवडा बताउँछन् । काठमाडौं, दोलखा, गुल्मी, कास्की, काभ्रे, धादिङ लगायतका जिल्लामा व्यवसायिक रुपमा किबी खेती लगाइएको छ । समुद्री सतहबाट ८ सय मिटरदेखि ३ हजार मिटरसम्मको उचाइमा किबी खेती हुने खतिवडा बताउँछन्। पहाडी हावापानीमा किबी राम्ररी सप्रिन्छ । रोपेको तीन वर्षदेखि १२ वर्षसम्म किबीले लगातार फल दिने खतिवडा बताउँछन् । संयुक्त राष्ट्रसंघ विश्व खाद्य संगठनको एक तथ्याङ्क अनुसार विश्वका सात मुलुकमा किबीको व्यावसायिक खेती गरिएको छ । इटाली, न्यूजील्याण्ड, फ्रान्स, ग्रीक, इरान, युनाइटेड स्टेट र क्यानडामा किबी खेती गरिएको संगठनले जनाएको छ । शुभदिनबाट

0 comments:
Post a Comment