जोखिममा मोलेर बस्न बाध्य छन् जिर्मलेका प्रहरीहरु

गोविन्द पौडेल

जिर्मले, २३ फागुन ः प्रहरीहरुले नागरिकको जीउधनको सुरक्षार्थ अहोरात्र खटिरहनु पर्ने भएता पनि आफु कार्यरत जिर्ण भवनमा बसेर काम गरिहनु परेका कारण प्रहरी चौकी जिर्मलेमा कार्यरत सुरक्षकर्मीहरु भने सधै जोखिममा रहेको महसुस गर्ने गरेका छन् । हालसम्म प्रहरी चौकी जिर्मलेको आफ्नो भवन नभएको भएपनि झण्डै तीन दशक अगाडि बनेको गाउँ विकास समितिको पुरानो कार्यालयमा चौकी पुनःस्थापित रहेकोमा उक्त भवन पुरानो र जिर्ण अवस्थामा भएको कारणपनि प्रहरीहरुले जोखिम महसुस गरेका हुन् । 
हुन त जिर्मलेमा प्रहरीको आप्mनो भवन नबनेको भने होइन । वि.सं.२०४८ सालतिर एक समाजसेवीले जिर्मलेको मोतीराम माध्यामिक विद्यालयको नजिकै जग्गा दिएपछि समुदायको सहयोगमा प्रहरी चौकीको भवन बनेको थियो तर शसस्त्र दन्द्धको समयमा राज्यको सबै प्रहरी चौकीहरु केन्द्रिकृत भएजस्तै जिर्मलेमा रहेका प्रहरीहरु पनि सदरमुकाममा नै सारिएपछि स्थानियबासीहरुले बनाएको उक्त भवनमा विद्यालय संचालन गरिएको थियो । हाल पनि उक्त भवनमा एक विद्यालयनै संचालित रहेको छ । विस्तृत शान्ति सम्झौतापछि सरकारले विस्तापित भएको प्रहरी चौकीहरु पुनःस्थापना गर्न थालेपछि गाउँ विकास समितिको सलकपूरमा खाली रहेको पुरानो भवनमा प्रहरी चौकी स्थापना गरेर हाल कार्यरत रहेको छ । उक्त भवन पहिला गाउँ विकास समिति जिर्मलेको कार्यालय संचालन रहेको जिर्मले १ सलकपूरमा रहेको थियो तर गाउँ विकास समितिको कार्यालय जिर्मलेमानै रहनुपर्ने विवाद पछि नयाँ कार्यालय हाल जिर्मले ७ जिर्मलेमा सरेको कारण उक्त भवन खाली रहेको थियो । वि.सं.२०३० सालतिर बनेको भवनको जग्गा गाउँ विकास समिति जिर्मलेकै नाममा रहेको छ । प्रहरी चौकीको आप्mनो नाममा जग्गा नरहेको र कसैले चौकीलाई जग्गा दिन नचाहेको कारण प्रहरी चौकी जिर्मलेले आफ्नो भवन बनाउन नसकेको र सोहि जिर्ण भवनमा बसेर नियमित कार्य संचालन गर्नुपनि जोखिमपूर्ण अवस्थानै रहेको प्रहरी चौकी जिर्मलेका प्रमुख तथा प्रहरी सहायक निरिक्षक शशिकान्त झाले चियाबारी दैनिकलाई बताए । उनका अनुसार भवन अतिनै जिर्ण भएको र धमिराले सबै काठपात खाएको र छाना पनि चुहिने भएकोले अहिलेको मौसममा हावाहुरीबाट जोगाउन मुस्किल रहेको छ भने वर्षादको समयमा भने भवनभित्र छाता ओढेर बस्नुपर्ने बाध्यता रहेको छ ।
सातजना प्रहरीहरु रहने र भारतको सिमावर्ती क्षेत्रसमेत पर्ने यो प्रहरी चौकीको भान्छा घर पनि अति जिर्ण अवस्थामा रहेको छ । सामान्य मौसम रहे खाना पकाएर खान सकिने तर हावाहुरी र वर्षादको समयमा भने भान्छा घरको विकल्प खोज्न अनिवार्य रहेको छ । भान्छा घर मर्मतको लागि जिल्ला विकास समिति इलामबाट साढे चार बण्डल कर्कटपाता प्राप्त भएको भएपनि निमार्ण खर्चको अभावमा मर्मत गर्न नसकिएको प्रहरी सहायक निरिक्षक झाले बताए । यस बारेमा गाउँ विकास समितिमा अनुरोध गरिएका भएपनि हालसम्म कुनै सहयोग नभएको र स्थानियबासीहरुलाई बेलाबेलामा प्रहरी चौकीको वर्तमान अवस्था र समसायिक विषयमा अन्र्तक्रियाको लागि सर्बपक्षिय बैठक बोलाउने गरेको भएपनि सरोकारवालाहरुको कम उपस्थिति रहने गरेको प्रहरीहरुको भनाई रहेको छ । 
यता गाउँ विकास समितिले प्रहरी चौकीको लागि आफ्नो स्वामित्वमा रहेको जग्गा नामसारी गरिदिने गाउँ परिषदले निर्णय गरेको भएपनि एउटा मन्त्रालयले अर्को मन्त्रालयलाइ जग्गा दिन मन्त्री परिषदको निणर्य चाहिने भएकोले यो समस्याको बारेमा आफूहरुले जिल्ला विकास समिति इलाम, जिल्ला प्रहरी कार्यालय इलाम र जिल्ला प्रशासन कार्यालय इलामसम्म समस्या अवगत गराए तापनि हालसम्म केही समाधान नभएको नेपाली कांग्रेस इलामका जिल्ला सदस्य समेत रहेका शमसेर राईले बताए ।
भारतको सिमासँग जोडिएर रहेको जिर्मले भौगोलिक बनावटको हिसाबले पनि निक्कै विकट रहेको छ । नागरिकलाई सुरक्षाको प्रत्याभूति दिन बसेका प्रहरीहरुलाई सिमा सुरक्षाको दायित्व समेत रहेकोमा आफ्नो बासस्थानको असुरक्षाको मनोवैज्ञानिक असर हुँदा नागरिकले सुरक्षित हुन्छन् कि हुदैनन् सोचनिय विषय रहेको छ ।  सरकाले वर्षेनी अरबौ रुपैयाँ विकास खर्च गर्न नसकेको विवरण आइरहदा प्रहरी चौकी जिर्मलेको एउटा पक्की भवन बन्दा राम्रो हुने स्थानीयबासीहरुको आग्रह रहेको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment