रोङ (इलाम), असार १३ । इलामको रोङ गाउँपालिकाले श्रम, समर्पण र निःस्वार्थ सेवाको सम्मानस्वरूप प्रेरणादायी निर्णय गरेको छ। गाउँपालिकाले सडक जोगाउने क्रममा ज्यान गुमाएका स्थानीय वीरबहादुर राईको सम्झनामा एउटा सडकको नाम ‘वीरबहादुर राई मार्ग’ राख्ने तथा सडकको उपयुक्त स्थानमा उनको शालिक निर्माण गर्ने निर्णय गरेको हो।
स्थानीय सरकारको दोस्रो कार्यकालको अन्तिम नीति, कार्यक्रम तथा बजेट सार्वजनिक भइरहेका बेला अधिकांश स्थानीय तह विकासका योजना र बजेट वितरणमा केन्द्रित भइरहेका छन्। तर रोङ गाउँपालिकाले भने श्रमको सम्मान गर्दै समाजका एक साधारण तर असाधारण नागरिकको योगदानलाई इतिहासमा अमर बनाउने निर्णय गरेको हो।
रोङ गाउँपालिका–४ निवासी करिब ६० वर्षीय वीरबहादुर राई एकल जीवन बिताइरहेका थिए। उनी सुन्न र बोल्नसमेत कठिनाइ भएका व्यक्ति थिए। तर गाउँको सार्वजनिक सम्पत्तिप्रति उनको जिम्मेवारी र माया असाधारण थियो।
२०८२ साल साउन २८ गते अविरल वर्षाका कारण रोङ–४ को बागखोर–पहरीगाउँ–ओझेली–मानाबुङ–सन्सरीडाँडा–कालीडाँडा–कउसेटार हुँदै भोटेटार जाने सडकमा ठूलो बाढी पस्यो। नाली थुनिँदा सडक बग्ने जोखिम बढेको थियो। अधिकांश मानिस घरभित्रै सुरक्षित बसिरहेका बेला वीरबहादुर भने सडक बचाउन एक्लै नाली खुलाउने काममा जुटेका थिए। सोही क्रममा माथिबाट आएको पहिरोले पुरिँदा उनको घटनास्थलमै मृत्यु भएको थियो।
उनको त्याग र समर्पणको उच्च मूल्यांकन गर्दै रोङ गाउँपालिकाको २०औँ गाउँसभाले उक्त सडकलाई ‘वीरबहादुर राई मार्ग’ नामकरण गर्ने निर्णय गरेको छ। साथै संघीय सरकारको समपूरक अनुदानअन्तर्गत विनियोजित दुई करोड रुपैयाँबाट सडक स्तरोन्नतिसँगै उपयुक्त स्थानमा वीरबहादुरको शालिक निर्माण गरिने गाउँपालिकाले जनाएको छ।
गाउँपालिका अध्यक्ष मनिकुमार स्याङ्वोका अनुसार समाजमा शिक्षित र सक्षम व्यक्तिहरू धेरै भए पनि संकटको समयमा निःस्वार्थ रूपमा सार्वजनिक सम्पत्ति जोगाउन आफ्नो जीवन बलिदान गर्ने वीरबहादुरजस्ता नागरिक दुर्लभ हुन्छन्।
“श्रमको सम्मान गर्ने, समाजका लागि आफ्नो जीवन अर्पण गर्ने यस्ता महान् नागरिकलाई स्थानीय सरकारले सम्मान गर्नुपर्छ भन्ने विश्वासका साथ यो निर्णय गरिएको हो,” अध्यक्ष स्याङ्वोले बताए।
रोङ गाउँपालिकाको यो निर्णयले श्रम, जिम्मेवारी र सार्वजनिक हितका लागि समर्पित नागरिकप्रतिको सम्मानलाई नयाँ उचाइ दिएको छ। स्थानीयवासीले पनि वीरबहादुर राईको योगदानलाई पुस्तौँसम्म सम्झिरहने गरी गरिएको यस निर्णयको स्वागत गरेका छन्।


0 comments:
Post a Comment